
संघीयता कार्यान्वयनसँगै स्थानीय तहमा विकास र सुशासनको आशा पलाएका बेला सुनसरीको देवानगञ्ज गाउँपालिका भने प्रशासकीय विवादमा फसेको छ ।
प्रमुख प्रशासकीय अधिकृत सुधीर साफीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवालाई पटक–पटक अटेर गरेको भन्दै प्रश्न उठेको हो ।
गाउँपालिका अध्यक्ष बेचनप्रसाद झाले अधिकृत साफीमाथि भ्रष्टाचार गरेको र प्रतिपक्षी दलले उनलाई संरक्षण दिएर आफूलाई असफल देखाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।
मन्त्रालयको अभिलेखअनुसार, साफीलाई पछिल्लो डेढ वर्षमा पटक-पटक सरुवा गरिएको छ । उनी २०८१ जेठ ९ गते देवानगञ्जमा सरुवा भएका थिए ।
त्यसको तीन महिनामै सुनसरीकै गढी गाउँपालिकामा सरुवा भए पनि उनी त्यहाँ कहिल्यै हाजिर भएनन् । उल्टै २०८१ असोज १६ गते जारी भएको अर्को पत्रमा उनलाई फेरि देवानगञ्जमै सरुवा गरिएको देखियो ।
यसरी उनी कार्यरत रहेको कार्यालयमै पुनः सरुवाको निर्णय आउनुले मन्त्रालयमाथि पनि प्रश्न उठेको छ ।
साफी भने आफूले मन्त्रालयको निर्णयबारे जानकारी नै नपाएको दाबी गर्छन् ।
'सरुवाको बारेमा मलाई जानकारी नै छैन । यो मन्त्रालयको लापरबाही हो, मैले केही रोक्न सक्दिनँ,' साफीले लोकान्तरसँग भने ।
तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव भीमकान्त पौडेल भने उनी सरुवा भएको ठाउँमा जान नमानेको जिकिर गर्छन् ।
'उहाँ पहिले सरुवा भएको ठाउँमा जान नमानेपछि त्यहीँ पोस्टिङ गरिएको हो । कागजी रूपमा मात्रै सरुवा भएको हो,' उनले लोकान्तरसँग भने ।
यता गाउँपालिकाका जनप्रतिनिधिहरूले भने साफीलाई आर्थिक अनियमितताको आरोप समेत लगाएका छन् । हरेक काममा कमिसन लिने र राजनीतिक संरक्षणमा उम्किने गरेको उनीहरूको आरोप छ ।
साफीले गाउँपालिकामा भइरहेको विकास निर्माणमा नियोजित अवरोध गरेको आरोप समेत कर्मचारीहरूले लगाएका छन् । 'विद्युतीकरणजस्ता काममा समेत बाधा पुर्याइरहनुभएको छ ।
यसरी पालिकालाई असफल देखाउने षड्यन्त्र भइरहेको छ,' एक जनप्रतिनिधिले लोकान्तरसँग भने ।
देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद झाले जसपाबाट चुनाव जितेका हुन् । प्रतिपक्षी दलहरूले साफीलाई टिकाइराखेर अध्यक्षलाई असफल देखाउने रणनीति अपनाएको आरोप जसपाका स्थानीय नेताहरूको छ ।
यस विवादको मार भने देवानगञ्जका सर्वसाधारणले बेहोर्नुपरेको छ । एक कर्मचारीको स्वार्थ र राजनीतिक दाउपेचका कारण विकास र सुशासन प्रभावित भएको गुनासो सर्वसाधारणको छ ।