चिनियाँ राष्ट्रपति सी जिनपिङले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई 'पुरानो साथी' भन्दै स्वागत गरेका छन् ।
संयुक्त राज्य अमेरिकाका तर्फबाट आउने समान र केही भिन्न चुनौतीहरूको सामना गरिरहेका बेला यी दुई नेताबीच बेइजिङमा श्रृंखलाबद्ध भेटवार्ता शुरू भएको हो ।
गत केही वर्षयता चीन र रुसबीचको सम्बन्ध तीव्र गतिमा गहिरिएको छ । विशेषगरी, २०२२ को शुरूआतमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि दुवै मुलुकबीचको राजनीतिक र कूटनीतिक निकटता झनै बढेको हो ।
पुटिनले सीलाई 'प्रिय साथी' भनेर सम्बोधन गरे र मस्को-बेइजिङ सम्बन्ध 'अभूतपूर्व उचाइमा पुगेको' बताए । औपचारिक वार्तापछि शीर्ष सहयोगीहरू समेत सहभागी हुने गरी उनीहरूले चियापानमा अर्को बैठक गर्ने तय भएको छ ।
यो वार्ता, दुवै नेताले नजिकैको चिनियाँ शहर तिआनजिनमा सम्पन्न शाङ्घाई सहकार्य संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी भएको भोलिपल्ट र बेइजिङमा दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवका अवसरमा आयोजना हुन लागेको भव्य सैन्य परेडको अघिल्लो दिन परेको छ ।
इतिहासका पृष्ठमा हेर्दा, एसियामा युद्ध चलिरहेका बेला सोभियत संघ लामो समयसम्म तटस्थ रह्यो । तर, १९३० को दशकमा जापानी आक्रमणकारीविरुद्ध चीनलाई सहयोग गरेको थियो ।
दोस्रो विश्वयुद्धको अन्तिमतिर सोभियत संघले जापानमाथि युद्ध घोषणा गर्दै जापानी कब्जामा रहेको चीनको उत्तर–पूर्वी क्षेत्रमा सेना पठाएको थियो ।
युक्रेन युद्धबारे चीनले आफू तटस्थ रहेको बताउँदै आएको छ । तर, पश्चिमी प्रतिबन्धका बावजुद रुससँग व्यापार जारी राखेर आर्थिक जीवनरेखा दिएको आरोप पनि उसमाथि छ ।
त्यसमध्ये केही चिनियाँ कम्पनीहरूलाई रुसको सैन्य उद्योगलाई अप्रत्यक्ष रूपमा सहयोग गरेको आरोप समेत लाग्ने गरेको छ ।
शाङ्घाई को–अपरेसनको १० सदस्यीय शिखर सम्मेलनले सी र पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि एउटै मञ्चमा ल्याएको छ । मोदीले दुवै नेतासँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि लगाएको उच्च आयात कर र वाशिङ्टनको कठोर नीतिले नयाँदिल्ली चीन र रुसतर्फ नजिकिएको देखिएको छ ।
तर, प्रधानमन्त्री मोदीले चीनको सैन्य परेडमा भने सहभागी नहुने घोषणा गरेका छन् ।
पुटिन र सीले आफ्नो द्विपक्षीय वार्तापूर्व मंगोलियाका राष्ट्रपति खुरेल्सुख उख्नासँग त्रिपक्षीय बैठक गरेका थिए । घाँसेमैदान र खानीस्रोतले भरिपूर्ण तर भूपरिवेष्ठित मंगोलिया दुई ठूला छिमेकी राष्ट्रबीच च्यापिएको छ ।
वार्ताको शुरूआतमै पुटिनले यी तीन मुलुकलाई 'राम्रो छिमेकी' भन्दै सम्बन्ध विस्तारमा साझा चासो रहेको उल्लेख गरे । उनले भने, 'हाम्रा तीन देशबीच धेरै समानता छन् ।'
सन् २०२४ मा पुटिनले मंगोलियाको औपचारिक भ्रमण गरेका थिए ।
सो अवसरमा मंगोलिया सरकारले युक्रेन आक्रमणसँग सम्बन्धित युद्ध अपराधका लागि अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) ले जारी गरेको गिरफ्तारी वारेन्टलाई बेवास्ता गर्दै पुटिनलाई स्वागत गरेको थियो ।
– एपीको सहयोगमा