सत्तारूढ दल नेकपा एमालेले यही शुक्रबारदेखि आइतबारसम्म हुने दोस्रो विधान महाधिवेशनको तयारी तीव्र पारेको छ ।
गोदावरीस्थित सनराइज हलमा आयोजना गरिने उक्त विधान महाधिवेशनको भौतिक तयारी ७५ प्रतिशत सम्पन्न भइसकेको छ ।
मंगलबार लोकान्तरकर्मी गोदावरीस्थित सम्मेलन हलमा पुग्दा कम्युनिस्ट नेताहरूको ‘कटआउट’ बनाउनेदेखि अन्य प्राविधिक काम धमाधम भइरहेको थियो ।

त्यस्तै, सम्मेलनस्थलमा सरसफाइको काम तीव्र चलिरहेको छ ।
कामको सुपरभाइज गरिरहेका रामाकान्त राय यादवले लोकान्तरसँग भने, ‘यहाँको ७५ प्रतिशत भौतिक र प्राविधिक काम सम्पन्न भइसकेको छ । बाँकी काम बिहीबार साँझसम्म सम्पन्न हुन्छ ।’
उनले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलगायत र अन्य स्वदेशी तथा विदेशी कम्युनिस्ट नेताहरूको कटआउट बनाउने काम पनि भइरहेको बताए । सम्मेलनस्थलमा अध्यक्ष ओली, जबजका प्रणेता मदन भण्डारीदेखि कार्ल मार्क्स, लेनिनलगायतको कटआउट राखिनेछ ।

एमालेले महाधिवेशनलाई भव्य बनाउन औपचारिक रूपमै सातदोबाटोदेखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने निर्णय गरेको छ ।
बागमती प्रदेश, ललितपुर जिल्ला, स्थानीय कमिटी र जनसंगठनका तर्फबाट स्वागतद्वार राखिने भएको हो । तर, मंगलबारसम्म सम्मेलनस्थल छिर्ने ठाउँमा २ वटा मात्र स्वागतद्वार राखिएको छ ।
मंगलबार सम्मेलनस्थलमा एमालेका प्रतिनिधिहरू भने भेटिएनन् । बरु, नेताहरू पार्टी कार्यालय च्यासलमा आउने र महाधिवेशनबारे चर्चा गर्ने गरेका छन् ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशन स्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने तयारी रहेको बताए । युवा संघ, खेलकुद महासंघ लगायत एमालेका जनसंगठनले स्वयंसेवक परिचालन गर्नेछन् ।

त्यस्तै, सम्मेलनस्थलमा सञ्चार माध्यमका प्रतिनिधिहरूका लागि पनि व्यवस्थित न्यूज डेस्क स्थापना गरिने भएको छ । उक्त डेस्क, बिहीबारसम्म तयार हुनेछ ।
महाधिवेशनको खर्चबारे सोधिएको प्रश्नमा गौतमले भने, ‘महाधिवेशनमा सहभागी हुने प्रतिनिधिसँग हामीले कुनै शुल्क लिन्नौं । त्यस्तै, सहभागीले खाना र आवासको प्रबन्ध आफैंले गर्नुपर्नेछ । त्यसैले महाधिवेशन निकै कम खर्चमा सम्पन्न हुनेछ ।’
महाधिवेशनमा राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, विधान संशोधनसम्बन्धी प्रस्ताव उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल र सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेले पेश गर्नेछन् ।
एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारीले विधान महाधिवेशनलाई लिएर आफू उत्साहित भएको बताए ।
उनले लोकान्तरसँग भने, ‘हामी उत्साहित छौं । कोशी प्रदेशमा एक नम्बर पार्टी बनाउने संकल्पका साथ हामी काठमाडौं आएका छौं । विधान महाधिवेशनपछि देशैभर एमालेको लहर आउनेमा म ढुक्क छु ।’

त्यस्तै, एमाले पार्टी कार्यालयमा छलफलमा व्यस्त रहेका संगठन विभाग प्रमुख काशिनाथ अधिकारी पार्टीभित्र कुनै अन्तरविरोध नभएकाले विधान महाधिवेशन भव्यताका साथ सम्पन्न हुने बताउँछन् ।
उनले लोकान्तरसँग भने, ‘पूर्व राष्ट्रपतिको विषय यसअघि बसेको केन्द्रीय कमिटी बैठकले टुंगो लगाइसकेको हो । उहाँको सदस्यताबारे अनौपचारिक कुराकानी हुन सक्ला तर, महाधिवेशनमा औपचारिक रूपमा त्यसको चर्चा हुँदैन । पार्टीभित्र अन्य अन्तरविरोध छैनन्, त्यसैले विधान महाधिवेशन भव्यताका साथ सफल हुनेछ ।’
विधान महाधिवेशनमा दुई हजार ३३ प्रतिनिधिसहित दुई हजार ३४९ जना सहभागी हुने प्रचार विभाग प्रमुख गौतमले बताए । १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै आगामी विधान महाधिवेशनका प्रतिनिधि हुनेछन् ।
१० औँ महाधिवेशनपछि मनोनीत भएका वा अन्य पार्टीबाट समायोजन भएर केन्द्रीय सदस्यहरू भने आयोजकका हैसियतले महाधिवेशनमा सहभागी हुनेछन् ।
हेर्नुहोस् भिडियो रिपोर्टिङ: