०२ साउन २०८३, शनिबार
भवन निर्माणमा झेल

नास्टको प्रविधि भवन निर्माणमा अनियमितता: सतर्कताको छानबिनपछि फाइल अख्तियारमा

उद्घाटनलगत्तै छतबाट चुहिएको थियो पानी, लिफ्ट पनि चलेन, ठाउँ-ठाउँमा 'क्र्याक' !
भदौ १८, २०८२
काठमाडौं
नास्टको प्रविधि भवन निर्माणमा अनियमितता: सतर्कताको छानबिनपछि फाइल अख्तियारमा

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का लागि प्रविधि संकायको भवन निर्माण गर्ने क्रममा अनियमितता भएको पाइएको छ ।

भवन निर्माण भई नास्टलाई  हस्तान्तरण गरेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेको केही दिनमै छानाबाट पानी चुहिएको थियो ।

साथै, भवनको सिमेन्ट पार्टेसन ज्वाइन्ट चर्किएको र जडान गरिएको दुईवटा लिफ्टमध्ये एउटा लिफ्ट बिग्रिएको थियो ।

भवन निर्माणको गुणस्तरदेखि अन्य विभिन्न विषयमा अनियमितता भएको भन्ने उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनबाट समेत गुणस्तरहीन काम भएको पाइएको हो ।

गुणस्तरदेखि विभिन्न विषयमा कैफियत देखेपछि सतर्कताले थप छानबिन गरी आवश्यक कारबाहीका लागि प्रतिवेदनसहित सक्कल फाइल नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।  

नवनिर्मित प्रविधि संकाय भवन निर्माण कम्पनी तुलसीभक्त कन्स्ट्रक्सन प्रालिले २०७८ साउन १८ गते आधिकारिक रूपमा नास्टमा हस्तान्तरण गरेको थियो ।

त्यसको २ वर्षपछि २०८० मंसिर २० गते तत्कालीन प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए ।

null

तर, उद्घाटन गरेको केही दिनमै भवनको छानाबाट पानी चुहिएको थियो ।

सतर्कता केन्द्रबाट खटिएको छानबिन टोलीले स्थलगत निरीक्षण गर्दा नवनिर्मित भवनको छानाबाट पानी चुहिएको तथा पार्टेसन ज्वाइन्ट चर्किएको पाइएको थियो ।

प्रविधि संकायको भवनमा दुईवटा एलिभेटर (लिफ्ट) भएपनि एक मात्र चालु अवस्थामा रहेको र अर्को चालु नरहेको पाइएको थियो । एयर कन्डिसनको वारेन्टी २०७८ वैशाख ६ गतेदेखि २०८० वैशाख ६ गतेसम्म अर्थात् २४ महिनासम्मका लागि मात्र रहेको पाइएको थियो ।

बेसमेन्टमा पानी रसाएको, फ्लोर कोटिङमा फोका देखिनुका साथै सिमेन्टबोर्ड पार्टेसन वालको जोइन्टमा क्र्याक देखिएको थियो ।

‘नवनिर्मित प्रविधि भवनको छत र बेसमेन्टबाट पानी रसाएको, सिमेन्टबोर्ड पार्टेसन वालको जोइन्टमा क्र्याक देखिएको र लिफ्ट बिग्रिएर नचल्ने अवस्था भई मर्मत कार्य समेत भएको पाइएन । तसर्थ, हस्तान्तरण र समुद्घाटन भएको छोटो समयमा नै गुणस्तरमा समस्या देखिएकाले टोलीले संकलन गरेको सम्पूर्ण कागजातसहित थप छानबिन एवं अनुसन्धान गर्न सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने,’ सतर्कताको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

उक्त भवन निर्माणका लागि भ्याटसहित कुल ४१ करोड २ लाख २४ हजार ९२९ रूपैयाँको लागत अनुमान स्वीकृत भए‌कोमा बोलपत्र आह्वान गर्दा तुलसीभक्त कन्स्ट्रक्सन प्रालिसँग भ्याटसहित २६ करोड ६३ लाख ३७ हजार ४१२ रूपैयाँमा सम्झौता भएको थियो ।

२०७८ जेठ २४ गते बसेको नास्टको व्यवस्थापन परिषद बैठकले सम्झौता गर्ने निर्णय गरेको थियो । भवनको कार्यसम्पादन प्रतिवेदनबाट ३ पटक भेरिएसन जारी भई शुरूको सम्झौता रकमभन्दा १.६२ प्रतिशतले कम हुने गरी २६ करोड २० लाख ३२ हजार ९५७ रूपैयाँ कायम गरिएको थियो ।

विज्ञहरूद्वारा मूल्यांकनसहित परीक्षण गरेर मात्र प्रोजेक्ट गर्नुपर्ने भएकाले सम्पूर्ण विधाहरू समेट्ने गरी २०७८ वैशाख ६ गतेको निर्णयानुसार प्रतिष्ठानका प्राविधिकहरू र नास्ट बाहिरबाट सम्बन्धित विषय विज्ञहरू समेत रहने गरी ७ (सात) सदस्यीय समिति गठन गरिएको थियो ।

सोही समितिको प्रतिवेदन एवं भवन निर्माण सुपरीवेक्षण समितिको सिफारिसबमोजिम व्यवस्थापन परिषद्को २०७८ असार २४ गतेको बैठकले अन्तिम बिल भुक्तानी गर्ने निर्णय गरेको थियो ।

null

जग खन्दा निस्केको माटो व्यवस्थापनमा पनि अनियमितता

उक्त भवन निर्माण गर्ने क्रममा जग खन्दा निस्केको माटो व्यवस्थापन गर्न ठेकेदारसँग भएको सम्झौताविपरीत भुक्तानी गरिएको पाइएको छ । नजिकै राख्न मिल्ने माटोलाई टाढा पुर्‍याएर त्यसबापत २० लाख भुक्तानी दिएको पाइएको हो ।

साइट तयारी गर्दा सफाइबाट निस्किएको सबै सामान नास्टको सम्पत्ति हुने निर्माण कम्पनीसँग गरिएको सम्झौताको बुँदा नम्बर ११ (१) मा उल्लेख छ । ती सामानलाई इन्जिनियरले दिएको निर्देशनअनुसार आवश्यक भए भविष्यमा प्रयोग गर्न राख्ने (स्टोर गर्ने), सुरक्षित तरिकाले आगोमा जलाएर नष्ट गर्ने वा ३० मिटरभित्रै सीमित गरी फाल्न सकिने सम्झौतामा उल्लेख छ ।

२०७४ भदौ १२ गते सुपरीवेक्षण समितिको बैठकमा बेसमेन्टबाट खनिएको माटोलाई टेन्डर डकुमेन्टमा उल्लेख भएबमोजिम ३० मिटरभित्र डिस्पोजलको ठाउँ नभएकाले साइटबाट करिब ५०० मिटर टाढा फाल्ने निर्णय गरिएको थियो । फालिए‌को माटोलाई डोजर लगाई सम्याउन ठेकेदारलाई आग्रह गर्ने र उक्त कामका लागि ठेकेदारसँग दररेट मागी काम अगाडि बढाउने निर्णय भएको थियो ।

त्यस्तै, २०७५ वैशाख ४ गते  सुपरीवेक्षण समितिको बैठकमा जग खन्ने काममा निस्किएको माटो निर्माण स्थलबाट करिब ४ सय मिटर पर रहेको नास्टको खाली जग्गामा डिस्पोज गर्ने ठाउँ उपलब्ध गराउने र ठेकेदारलाई प्रतिघनमिटर ३३८ रूपैयाँका दरले भुक्तानी गर्ने निर्णय भएको थियो ।     

‘त्यसरी, माटोको परिमाण ५ हजार ३२४.१२ घनमिटर रहेकाले जम्मा रकम भ्याटबाहेक १७ लाख ९९ हजार ५५३ रूपैयाँ रनिङ बिलमा समावेश गराई भुक्तानी सिफारिस गर्ने निर्णय भएको देखिन्छ,’ सतर्कताको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

उक्त विषयमा महालेखा परीक्षकको कार्यालयले पनि प्रश्न उठाएको थियो । ढुवानी नलाग्ने स्थानमा ठेकेदारको निर्माण सामाग्री थुपारी उक्त स्थानदेखि करिब ४ सय मिटर टाढा माटो ढुवानी गर्नु र त्यसबापत २० लाख ३३ हजार ४९२ रूपैयाँ भुक्तानी दिनुलाई अनियमित भनी महालेखाले बेरुजु कायम गरेको थियो ।

आर्थिक वर्ष २०४/०७५ को महालेखाको प्रतिवेदनमा भेरिएसन आदेश जारी गर्न निर्माणजन्य प्राविधिक पुष्ट्याइँ, आधार र प्रमाण समेत पेश नभएको उल्लेख छ ।

व्यवस्थापन परिषदको २०७९ असार २७ गते बसेको बैठकबाट निर्माण कम्पनी तुलसीभक्त कन्स्ट्रक्सन प्रालिलाई भुक्तानी बाँकी रहेको रकमबाट बेरुजु रकम २० लाख ३३ हजार ४९२ रूपैयाँ  कट्टा गरी प्रतिष्ठानको केन्द्रीय खातामा जम्मा गर्ने र समपरीक्षण बेरुजु फर्छ्यौट भई आएपछि निर्माण कम्पनीलाई उक्त रकम भुक्तानी गर्ने निर्णय भएको थियो ।

‘भवन निर्माण स्थलको जग खन्दा निस्किएको माटो ३० मिटरमा व्यवस्थापन गर्ने उल्लेख भएको तर ठाउँ अभाव देखाई ४०० मिटर पर व्यवस्थापन गर्ने निर्णय गरी भुक्तानी गरेकोमा महालेखाले प्राविधिक पुस्ट्याइँ, आधार र प्रमाण पेश नभएको भनी बेरुजु समेत निकालेको पाइयो । यस विषयमा स्पेसिफिकेसन तयार गर्दा राम्रोसँग अध्ययन गरेर गर्नुपर्नेमा सो गरेको पाइएन,’ सतर्कताको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिस्पर्धाबेगर इन्जिनीयर नियुक्ति गरी ६ वर्षको पारिश्रमिक भुक्तानी

त्यसैगरी, भवन निर्माण गर्ने क्रममा नास्टले गैरकानूनी रूपमा इन्जिनियर नियुक्त गरी भुक्तानी गरेको पाइएको छ ।

प्रतिष्ठानमा स्थायी सिभिल इन्जिनियर कार्यरत नभएको कारण देखाएर २०७२ वैशाख २ देखि २०७८ असार मसान्तसम्म गरी ६ वर्षसम्म प्रक्रिया पूरा नगरी प्रतिस्पर्धाबेगर सुवास पौडेललाई प्राविधिक अधिकृत पदमा करार नियुक्ति गरेर पारिश्रमिक भुक्तानी गरिएको थियो । उक्त कार्य पनि गैरकानूनी भएको सतर्कताको प्रतिवेदनमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्