![बेमौसममा महँगो सब्जीको विकल्प– सुकाएर सुरक्षित राखिएको तरकारी [बनाउने विधिसहित]](https://lktcdn2.prixacdn.net/media/tarkari_706skJKCsv.jpg)
मौसममा प्रशस्त पाइने साग सब्जीलाई बेमौसममा खान सुकाएर राख्ने प्रचलन पुरानै हो । तर, यो परम्परा विस्तारै हराउँदै गएको छ । मौसममा तरकारी फालाफाल हुने र बेमौसममा खोज्दै हिँड्नुपर्ने अर्थात् अत्यधिक महँगो मूल्य चुकाएर किन्नु पर्ने सर्वसाधारणलाई व्यवहार चलाउने निकै कठिन हुने गर्छ ।
मौसममा सुकाएर पछि बेमौसममा खाने तरकारी तथा फलफूलहरू परम्परागत रूपमा घरेलु प्रयोजनका लागि मात्र हुन्थ्यो। तर, अब यसले व्यवसायीक रूप लिन थालिएको छ । मौसममा पाइने ताजा तरकारी तथा फलफूललाई सुकाएर सुरक्षित राख्न सकिने र पोषण तत्वमा पनि असर नपर्ने हुँदा धेरै युवाहरूमा यो पेशा आकर्षणको केन्द्रविन्दु बन्न थालेको छ ।
विदेशी मुलुकमा हरेक तरकारी र फलफूल सुकाएर सुरक्षित तबरमा बिक्री वितरण गर्नु सामान्य मानिने भएता पनि नेपालमा भने केही नौलो लाग्न सक्छ । यो नौलो कार्यको थालनी कृषि अनुसन्धान र व्यवसायमा लामो अनुभव बटुलेका चन्द्रानिगाहपुर -५ रौटहटका युवा भुपेन्द्र खड्का र उनको समूहका युवाहरूले गरेका छन् ।
विदेशमा तालिम र मेसिन झिकाएर व्यवस्थित र सुरक्षित तवरमा मापदण्ड पुर्याएर शुरू गरिएको यो फर्मले शुरूआतीमा स्थानीय स्तरमा बजार विस्तारपश्चात ग्राहकहरूको प्रतिक्रिया लिएर अन्य स्थानमा विस्तार गरिने योजना बनाएका छन्।
यो थालनीले मौसममा आवश्यकताभन्दा बढी उपलब्ध हुने र बेमौसममा पाइँदै नपाइने र पाइए पनि किन्नै नसकिने समस्या समाधान हुने छ । बेमौसममा तरकारी तथा फलफूल जबर्जस्ती उत्पादन गर्दा किटनाषक औषधिको पनि प्रयोग धेरै हुने हुँदा दोहोरो बेफाइदा भोग्नु पर्ने हुन्छ । यसरी सुकाएर तयार गरिएको सब्जी या फलफूललाई बजारमा लानुभन्दा पहिला पर्याप्त प्रशोधन र भन्डारण गरेर मापदण्ड अनुसार प्याकेजिङ्ग र म्याद सकिने मितिसहित जाने हुँदा स्वास्थ्यका हिसाबले पनि सुरक्षित हुन्छ ।
के-के तरकारी र फलफूल सुकाउन मिल्छ त ?
सिजन फलेका प्राय: अधिकांश तरकारी तथा फलफूल सुकाएर प्याकिङ्ग गरी बेच्न सकिन्छ। सामान्यतया गोल्भेडा, तिते करेला, स्कुस, भिन्डी, बरेला, मुला, प्याज, लसुन, अदुवा, बेसार, भ्यान्टा, फर्सी, लौका, कर्कलो, कोइरालो मकै, आलु, भेडेखुर्सानी, गाजर, चुकुन्दर, च्याउ, सख्खरखन्ड, सिमी, काउली, रायोसाग, बन्दा, पालकलगायत सब्जी मौसममा सुकाएर बेमौसमा प्रयोग गर्न सकिन्छ ।
फलफूलमा स्याउ, आरु, अङ्गुर, आप, नासपाती, खजुर, केरा, लप्सी, आरुबखडालगायायत कयौँ फलफूल सुकाएर बेसिजनमा प्रयोग गर्न सकिन्छ । सामान्यतया यसरी प्रयोग गर्नु अन्य देशमा धेरै पहिलादेखि शुरूआत भएको हो । नेपालमा भने घरायसी रूपमा प्रयोग गरिएता पनि व्यवसायीक रूपमा भने अब विस्तारै शुरू हुन थालेको छ ।
यी सब्जी तथा फलफूलका पाउडर फर्ममा पनि पाइन्छ र कतिपय देशमा त किम्बित गरेर क्यानमा प्याक गरिएको पनि उपलब्ध रहन्छ । किम्बित गरिएका समान सड्न/गल्न नदिन विभिन्न प्रोसेस गरिने हुँदा यसरी प्राकृतिक रूपमा सुकाएका सब्जी तथा फलफूल निकै स्वास्थ्यवर्द्धक हुने विज्ञहरूको भनाइ छ ।
कसरी खाने ? के-के परिकार बन्छ ?
सामान्यतया ड्राएर या वार्मरको तापक्रमलाई मिलाएर मौसमी सब्जी, फलफूल या माछामासु व्यवसायिकरूपमा सुकाएर तयार गरिन्छ । सब्जी फलफूल या माछा मासुलाई फरक-फरक तापक्रम जरुरी हुने हुँदा फरक-फरक तापक्रम सेट गरिन्छ र प्राकृतिक घाम या सोलारको प्रयोग गरेर पनि सुकाउने अभ्यास छ ।
जसरी ताजा सब्जी फलफूल या माछा मासुका परिकार बन्छन्, सुकाएर तयार गरिएकोबाट पनि सामान्यतया सबै परिकार बन्छ । तर पनि सुकाएर तयार गरिएको सब्जी, फलफूल या माछा मासुको छुट्टै महत्व हुन्छ । यसको बनावट, रङ्ग, स्वाद र सुगन्धमा नै केही फरक हुन्छ। परिकारहरूमा पनि गजबको छुट्टै मिठास हुने हुँदा यसका पारखी धेरै हुन्छन् ।
भारतको राजस्थानी पकवान शैलीमा पनि सुकाएका सब्जी तथा फलफूलका कयौँ परिकार लोकप्रिय छन् । सुकाएको गोल्भेडाको पाउडर होस् या केर साग्री, मङ्गोडी होस् याआ गट्टेसब्जी सबैको रोजाइमा पर्छ। नेपालमा परापूर्वक कालदेखि नै चलेको गुन्द्रुक होस् या मस्यौरा, सिन्की होस् या किनिमा, याङ्गबिन सबैको जिब्रोमा झुन्डिने परिकार हुन् ।
मुस्ताङको स्याको चिप्स होस् या चौरीको सुकुटी, छुर्पी होस् या ड्राई फिस र ड्राई मिट सबैको रोजाइमा पर्छन्। सामान्य रूपमा सुकाएको तरकारीलाई बेमौसमा प्रयोग गर्दा मन तातो पानीमा केही समय फिजाएर विविध परिकारका ढाल्न सकिन्छ। झोल तरकारी र साँधेर खाने मात्र होइन अचार बनाएर झानेर पस्कन सकिन्छ।
तिउन तरकारीको समस्या हुने समयमा यस्ता सुकाएका सब्जी धेरैका लागि विकल्प हुन्छ। सुकाएको कर्कलो, कोइरालो, तिते करेला अचारमा स्वादिष्ठ हुन्छ भने पिडालु, काउली, मुला, बरेलालगायत सब्जी तरकारीमा ढाल्न उत्तम हुन्छ। सुकाएका फलफूल भने काँचै खाँदा नै पोषिलो र स्वादिष्ठ मानिन्छ ।
सुकाएको माछाको झोल तरकारी होस् या निउरो मिसाएर होस् जसरी खाँदा पनि राम्रो परिकार तयार हुन्छ। सुकाएको सुकुटी त झन् साँधेर खाँदा नि भयो । झोल हालेर खाँदा पनि उत्तम परिकार विकल्प बन्छ।
सुकाएर तयार गरिएको शाकाहारी या मांसाहारी सबै सामग्रीहरू छिटो झटपट हुने हुँदा हतार हुने र व्यस्त व्यक्ति विशेषलाई उत्तम विकल्प हुन्छ । यस्ता सामाग्री तथ परिकारहरू घुमफिरमा हिँडिरहने र ट्रेकिङ्गमा जानेहरूका लगि पनि राम्रो विकल्प सावित छ।
रेसिपी
सुकाएको करेला साँधेको
सामग्रीः
सुकाएको करेला- ११० घाम
नुन - स्वाद अनुसार
बेसार- आधा चम्चा
सुकाएको गोल्भेडा या गोल्भेडाको पाउडर- २५ घाम
सुकाएको प्याज या प्याजको पाउडर- १० घाम
सुकाएको लसुन या लसुनको पाउडर- ३ घाम
सुकाएको अदुवा या अदुवाको पाउडर- २ ग्राम
चुक अमिलो या कगतीको रस- २ चम्चा
तोरीको तेल- ३ चम्चा
भुटेर पिसेको आलस- ३ चम्चा
सुकाएर पिसेको डल्ले खुर्सानी- तीन या चार पिस
विधि
सुकेको करेलालाई थोरै नुन हालेर तातो पानीमा एकछिन भिजाउनुस् या करैमा तेल र नुन हालेर एकछिन डामेर भुट्नुस् । पानीमा हालेको हो भने निचार्नुस् र सम्पूर्ण सामग्री हालेर मोल्नुस् । अब तेल तताएर बेसार हालि झान्नुस् र चिउरा, भुजा या खानाको छेउमा पस्कनुस्।
सुकाएको माछा र निउरोको तरकारी
सामग्री
सुकाएको सिद्रा माछा, भुरा माछा या काटेको छोइला माछा- १५० ग्राम
सुकाएको निउरो याआ ताजा- २०० ग्राम
तोरीको तेल- ५ चम्चा
सुकेको गेडा जीर- आधा चम्चा
सुकेको प्याज याआ धुलो- २० ग्राम
सुकेको अदुवा लसुन या धुलो- ८ ग्राम
सुकाएको गोल्भेडा याआ धुलो- २० ग्राम
नुन- स्वाद अनुसार
सुकाएर पिसेको जीरा धनिया- दुई सानो चम्चा
सुकाएर पिसेको डल्ले खुर्सानी- ४ या ५ पिस
पानी- आवश्यकता अनुसार
सुकाएको बेसार या धुलो- आधा चम्चा
विधि
कतै तताएर थोरै तेल हालेर माछालाई सेकिने गरी हल्का नुन हालेर भुट्ने या तातो पानीमा भिजाएर डाम्ने।
अब तेल तताएर जीरा फुराई निउरो र अन्य मसला हालि एकछिन पकाउने र माछा हालि हल्का चलाएर भुजा, रोटी या अन्य खानासँग पस्कन सकिन्छ । यी परिकारहरू स्वादिष्ठ मात्र होइन पोषिलो पनि हुन्छ ।