
हिन्दूपुराणहरूमा मय नामका दानव प्राय: सुनिने पात्र हुन् । उनको नाम रामायण र महाभारतमा पनि उत्तिकै चर्चा भएको पाइन्छ । उनी त्यतिबेलाका त्यस्ता इञ्जिनियर तथा वास्तुवैज्ञानिक देखिएका छन् कि जसले ठूलाठूला चामत्कारिक भवन तथा नगर निर्माण गरेका थिए । महाभारतमा उल्लेख भएअनुसार अर्जुनले खाण्डवन दहन गर्दा उनलाई जीवनदान दिएका थिए । यसैको गुन तिर्न उनले इन्द्रप्रस्थमा युधिष्ठिरका निम्ति यस्तो मायासभा निर्माण गरिदिएका थिए कि जसलाई देख्नेवित्तिकै राजकुमार दुर्योधन चक्कर लागेर ढल्न पुगेका थिए ।
त्यस्तै, पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार उनले असुर, दानव, दैत्यहरूका लागि पनि यस्तै किसिमका जादूमयी नगर तथा भवन निर्माण गरिदिएका थिए । त्रिपुरासुरको लागि सुन, चाँदी तथा फलाको तीन पुर बनाउने पनि उनै हुन्, जसलाई त्रिपुरयुद्धमा महादेवले भष्म पारेका थिए । हाल मिश्र (इजिप्ट) को पश्चिमतिर पर्ने त्यस स्थानलाई त्रिपोली भन्ने गरिएको पाइन्छ । यस आलेखमा उनी को थिए ? जादूमयी मिथकीय पात्र मात्र हुन् कि यथार्थ पनि हुन् भन्नेबारे केलाउने प्रयास गरिएको छ ।
पश्चिमी पुरातत्वविद् तथा इतिहासकारहरूका अनुसार पछिल्लो उत्खनन तथा अनुसन्धानबाट हालको दक्षिणअमेरिकी मुलुकमा एउटा निकै रहस्यमय सभ्यताको अवशेष फेला परेको छ । मय नामक महाजातिद्वारा निर्मित सो सभ्यता हजारौँ वर्ष पुरानो रहेको मानिएको छ । अनुपम कला तथा सीप, अद्भूत शैली तथा आश्चर्यजनक भवन, नगरले सम्पन्न सभ्यताले युक्त यस महाजातिको प्राचीन राजधानी चिचेन आइजा रहेको अनुमान गरिएको छ । कतिपयले हालको ग्वाटेमालाको बेटेन नामक खाडीको समीप उनीहरूको उपनिवेश रहेको अनुमान गरेका छन् । यातायातको पहुँच नभएको त्यसबेलाको जमानामा यस किसिमको वैभवले सम्पन्न हुनु चानचुने शक्ति र क्षमताले भ्याउने कुरो होइन ।
शुरूका वर्षहरूमा मेक्सिको खाडीदेखि होण्डुरससम्मका विभिन्न स्थानमा उनीहरूको बसोबास रहेको पाइन्छ । उनीहरूले त्यहाँ यस्ता नगर, भवन, मन्दिर, मूर्ति, सडक बनाएका थिए कि, जसले मिश्री कला र शैलीले सामिप्यता राख्दछ । उनीहरू कलाविज्ञान तथा भूविज्ञानसित मात्र नभई ज्योतिष विज्ञानसित पनि परिचित देखिन्छन् । ज्योतिष पात्रो हेरेर ग्रहण तथा तिथिमिति आदिको हेक्का राख्ने गर्दथे । उनीहरूका ठूलठूला शिलालेख तथा केही हस्तलिखित ग्रन्थसमेत फेला परेका छन् । यसैको आधारमा पुरातत्वविद्हरूले यस सभ्यताको समय ईशाको प्रथम शताब्दीतिरको अनुमान गरेका छन् ।
जहाँसम्म त्यति ठूलो सभ्यताले सम्पन्न मयमहाजातिको इतिहास कसरी लुप्त हुन पुग्यो भन्ने प्रश्न छ, त्यसलाई भने पेनिसहरूको आक्रमणसित जोडेर हेर्ने गरिएको छ । जब पेनिसहरू त्यस क्षेत्रमा उपनिवेश कायम गर्न आइपुगे तब उनीहरूमध्ये कतिले सोही आक्रमणमा प्राणाहुती थिए, कतिले भागेर ज्यान बचाए, कति उनीहरूकै दासदाशी तथा कमराकमारी भएर रहन लागे । यसरी इतिहासमा महान पहिचान कायम गर्न सफल एक महान् जाति र तिनका सभ्यता सदाका लागि इतिहासको गर्तमा विलीन हुन पुगेको देखिन्छ ।
यहाँनेर स्मरणीय के छ भने ती जातिका पूर्वज को थिए, कहाँ कसरी उत्पन्न भए, त्यतै तिरका हुन् कि कतैबाट त्यतातिर बसोबास गर्न आइपुगेका हुन् भन्नेजस्ता यावत प्रश्नको जवाफ पश्चिमी विद्वान्हरूबाट पाउन नसकिएको भए पनि हिन्दूपुराण भने बोलेको छ । यद्यपि हिन्दूपुराणहरूले त्यस जातिको चामत्कारिक विशेषतालाई कथानकरूप दिएका हुन् कि हिन्दूकथा पात्रका सन्तान नै ती जाति हुन् अनुसन्धानको विषय हुन सक्छ तर, अहिलेलाई यति भन्न सकिन्छ हिन्दूकथामा त्यसको उत्तर भेटिन्छ ।
पौराणिकग्रन्थहरूमा उल्लेख भएअनुसार छैटौँ चाक्षुषमन्वन्तरको अन्त्यमा पर्शियनक्षेत्रमा भयङ्कर जलप्रलय भएको थियो । त्यसपछि शुरू भएको सातौँ (हालको मनु) मन्वन्तरको शुरूमा ब्रह्मपुुत्र मरीचिबाट कश्यप नामका पुत्र भएका थिए, जसलाई कश्यपप्रजापति पनि भन्ने गरिएको पाइन्छ । उनले दक्षप्रजापतिकी १३ वटी छोरीलाई विवाह गरेका थिए । उनको तिनै १३ पत्नीमध्ये साइँली दनुबाट शम्बर, नमुचि, वृषपर्वा, मय आदि धेरै सन्तान भएका थिए । उनीहरूबाटै पछि गएर दानववंश चलेको देखिन्छ, जो कश्यपसागरको तटदेखि सिरिया, खुरासान, बुखारा आदि हालको मध्यपूर्व एशियाका विभिन्न स्थानमा फैलिएका थिए ।
यिनैमध्येका मय ज्योतिष तथा वास्तुशास्त्रका आचार्य थिए, जो काश्यपसागरनिकट हिरण्यकशिपुले निर्माण गरेका हिरपुरको आसपासतिर बस्दथे । उनका भाइ वृषपर्वाको भने हालको सिरियातिर उपनिवेश थियो । मत्स्यपुराणमा उल्लेख भएअनुसार १८ जना प्राचीन वास्तुवैज्ञानिकमा उनी पनि पर्दछन् । इन्द्रले दाजु नमुचिलाई झुक्याएर मारिदिएपछि रिसाएका मयले ब्रह्माजीको तपस्या गरी मायावी विद्या प्राप्त गरेका थिए । भनिन्छ उनले जति पनि मायावी भवन तथा नगर बनाउन सकेका थिए त्यसको कारण यही थियो ।
रामायणमा उल्लेख भएअनुसार मय दानवका हेमा र रम्भा नामका दुई रानी थिइन् । यी दुई रानीबाट पाँचपुत्र र तीनपुत्री भएकी थिइन् । यिनैमध्येकी जेठी मन्दोदरी तत्कालीन विश्वविजेता रावणले विवाह गरेका थिए भने अर्की छोरी मायावतीको विवाह शम्बरासुरसित भएको थियो । कागडासहित शतकिल्लाका अधिपति शम्बरलाई इन्द्रको आदेशमा पौरववंशी दिवोदासले ध्वस्त पारेका थिए ।
पौराणिकग्रन्थमा उल्लेख भएअनुसार महादेवले त्रिपुरदहन गर्दा उनलाई पातालतिर पठाइदिएका थिए । सम्भवत: पश्चिमी पुरातत्वविद्हरूले हालको दक्षिण अमेरिकी मुलुकको विभिन्न क्षेत्रमा उत्खनन गर्दा भेटिएको भनिएको उक्त मयजाति र मयसभ्यताको अवशेष उनै मयका वंशज र उनले स्थापना गरेको मयसभ्यताको रहेको बलियो अनुमान लगाउन सकिन्छ । किनभने पाताल भन्नाले अहिले पनि त्यतैतिरका क्षेत्रलाई बुझ्ने र बुझाउने गरिएको पाइन्छ ।