
इजरायली सेनाले गाजा सिटीमा रहेको अर्को अग्लो आवासीय भवन ध्वस्त पारेको छ । दुई दिनमै दोस्रो उच्च–तला भवनलाई लक्ष्य बनाइएको हो ।
रक्षामन्त्री इजरायल कात्जले शनिबार भएको आक्रमणपछि भवन ढलेको भिडियो सामाजिक सञ्जाल एक्समा सार्वजनिक गर्दै ‘हामी अगाडि बढिरहेका छौं’ भनेर लेखेका छन् ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ)का अनुसार ध्वस्त पारिएको सुसी टावर हमासले प्रयोग गरेको भवन थियो । तर, हमासले यो आरोप अस्वीकार गरेको छ । हताहती भएको वा नभएको स्पष्ट भइसकेको छैन ।
आक्रमण अघि इजरायलले पर्चा वितरण गरी स्थानीयलाई दक्षिणमा रहेको ‘मानवीय क्षेत्र’मा जान आग्रह गरेको थियो । आईडीएफका अरबी भाषाका प्रवक्ता अवीचाय अद्राईले सामाजिक सञ्जालमार्फत् खान युनिस र समुद्रकिनाराबीच पर्ने अल–मावासी क्षेत्रमा पुगेका हजारौं मानिसमा सामेल हुन आग्रह गरेका थिए । सेनाले त्यहाँ पानी, खाना र स्वास्थ्य सेवा उपलब्ध गराइने दाबी गरेको छ ।
तर, संयुक्त राष्ट्रसंघले अल–मावासीका टेन्ट शिविरहरू अत्यधिक भीडभाडयुक्त र असुरक्षित रहेको जनाएको छ । त्यहाँका अस्पताल समेत चाप सहन नसक्ने अवस्थामा पुगेका छन् । मंगलबार अल–मावासीमा पानी लिन पालामा उभिएका पाँच बालबालिकाको मृत्यु भएको थियो । प्रत्यक्षदर्शीका अनुसार उनीहरूलाई इजरायली ड्रोनले आक्रमण गरेको थियो । आईडीएफले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
यसअघि शुक्रबार गाजा सिटीको अल–रिमाल क्षेत्रमा रहेको मुश्ताहा टावर ठूलो विस्फोटपछि भत्किएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
आईडीएफले नागरिकलाई हानि नपुग्ने उपाय अपनाइएको दाबी गर्दै अग्रिम चेतावनी दिने र ‘सटिक बम प्रयोग’ गर्ने गरेको बताएको छ । तर, गाजा नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बास्सालले विस्थापित परिवार बसिरहेका भवनहरूलाई लक्षित गर्दै इजरायलले ‘बलपूर्वक विस्थापन गर्ने नीति’ चलाएको आरोप लगाएका छन् ।
गत एक महिनामा इजरायली आक्रमण र भवन भत्काइएका कारण गाजा सिटीका धेरै बस्तीहरू ध्वस्त भएको उपग्रह चित्रमा देखिएको छ ।
गाजा सिटीका आवासीय तथा व्यावसायिक टावर भवनहरू शहरको ऐतिहासिक अध्याय मानिन्छन् । सन् १९९३ मा भएको ओस्लो सम्झौतापछि निर्वासित फिलिस्तिनीहरू गाजा र वेस्ट बैंक फर्किन पाउँदा बहु–तले भवन निर्माण सुरु भएको थियो ।
सन् १९९४ मा गाजाबाट इजरायल फिर्ता गएपछि फर्किएका जनसंख्या सम्हाल्न ठाडो विस्तार अपरिहार्य भएको थियो । फिलिस्तिनी प्राधिकरणले ठूलो लगानीसहित आवासीय टावर निर्माणलाई प्रोत्साहन गरेको थियो ।
तर, हालै असफल भएको अप्रत्यक्ष वार्तापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा पट्टीलाई पूरै नियन्त्रणमा लिने घोषणा गरेका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार हाल पनि करिब १० लाख मानिस गाजा सिटीमै रहेका छन् । गत महिनामै त्यहाँ भोकमरी घोषणा गरिएको थियो र आक्रमण जारी रहेमा थप ठूलो विपत्ति आउन सक्ने चेतावनी दिएको छ ।
गत वर्ष अक्टोबर ७ मा हमास नेतृत्वको आक्रमणमा दक्षिणी इजरायलमा करिब १,२०० जनाको मृत्यु र २५१ जनाको अपहरण भएपछि इजरायलले गाजामाथि आक्रमण शुरू गरेको हो । गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार त्यसयता कम्तीमा ६३ हजार ७४६ जनाको मृत्यु भइसकेको छ ।
युद्ध शुरू भएयता कुपोषण र भोकमरीका कारण मात्रै ३६७ जनाले ज्यान गुमाइसकेको मन्त्रालयले जनाएको छ ।