
सामान्यतया विवाहित महिलाले आफ्नो पतिको घरलाई आफ्नै घर ठान्छिन् । घरजम गरेर गएपछि उनले उक्त घरव्यवहार धान्छिन् । बेला बेला माइती जाने गरेपनि मूलत: उनले पतिको घर फर्केर आउनुपर्छ ।
तर, भारतको चम्पारण जिल्लाको हरसिद्धि थाना क्षेत्रअन्तर्गत शनिबार एक अनौठो घटना भएको छ। ‘म पतिको घरमा जाँदिनँ’ भन्ने अडानसहित एक महिला बजारको टेलिफोन टावरमा चढिन् । त्यसपछि उक्त क्षेत्रभर हंगामा मच्चियो । घटना थाहा पाएलगत्तै स्थानीयवासीहरू भेला भए र प्रहरी पनि तत्काल घटनास्थल पुगे ।
हरसिद्धि बजारकी ती महिला अचानक टेलिफोन टावरमा चढेर हंगामा गर्न थालिन् । स्थानीयले उनलाई तल झर्न आग्रह गरे पनि उनले मानिन् ।
उनले आफ्नो पतिको घरमा बस्न नचाहने बताइन् । केही व्यक्तिले टावर चढेर उनलाई तल झार्ने प्रयास गर्दा उनले आफैंलाई क्षति पुर्याउने धम्की दिइन् ।
घटनाको सूचना पाएलगत्तै हरसिद्धि प्रहरी टोली घटनास्थल पुगे र धेरै प्रयासपछि महिलालाई सुरक्षित तल झारेको थियो ।
प्राप्त जानकारीअनुसार, महिलाले करिब १० दिनअघि मात्र बच्चालाई जन्म दिएकी थिइन् । उनको गत वर्ष धूमधामका साथ विवाह भएको थियो । विवाहपछि बिदाई दिइए पनि माइती फर्केपछि उनी त्यहीँ बस्दै आएकी थिइन् ।
यस विवाद समाधानका लागि समाजको पञ्चायत पनि बसेको थियो, तर महिला आफ्नो अडानमै अडिएकी थिइन् ।