
शरद पौडेल
म हनुमान !
कत्ति उत्तेजित छैन कमरेड !
जे उचित लाग्छ कमरेडलाई
आजको उचित
र मेरो उचित पनि त्यहि नै हो ।
र लाग्छ जे खराब हजुरलाइ
सोच्न र सोध्नै पर्दैन मलाई
शतप्रतिशत खराव पनि त्यहि नै हो ।
म हनुमान !
मलाई
आँफैले सोच्ने बिचार्ने लेठो नदिईयोस ।
के बोक्ने हो ? कति बोक्ने हो ?
आज्ञा मात्र होस
भ्याए जति सामर्थ्यले
म बोक्नेछु र हिंड्नेछु कमरेड !
अहं
म माथि किमार्थ शंका नगरियोस
म हनुमान !
मलाई चाकरीमै रमाउन दिईयोस ।
रङको भेउ भएन कमरेड
हजुरको रातो
मेरो पनि रातो ।
हजुरको कालो
मेरो पनि त कालो ।
कसरी बन्छन
हजुरका रात
मेरा लागि दिनहरू ?
कसरी बन्छन र
हजुरका दिन
मेरा लागि रातहरू ?
म हनुमान हुँ कमरेड !
मलाई भजन गाऊन दिईयोस
मलाई त आरती गर्न दिईयोस ।
अहं बिचार्न नभनियोस केहि
तामेलिका लागि
केवल केवल आदेश दिईयोस ।
केवल केवल फर्मान दिईयोस ।।