
लन्डनमा चरम दक्षिणपन्थी कार्यकर्ता टोमी रोबिन्सनले आयोजना गरेको आप्रवासनविरोधी प्रदर्शनमा झडप हुँदा २६ जना प्रहरी घाइते भएका छन् ।
शनिबार आयोजित ‘युनाइट द किङ्गडम’ नामक मार्चमा १ लाख १० हजारदेखि १ लाख ५० हजारसम्म मानिस सहभागी भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आयोजकहरूले प्रदर्शन शान्तिपूर्ण दाबी गरे पनि केही प्रदर्शनकारी आक्रामक बनेपछि सेन्ट्रल लन्डनको ह्वाइट हल क्षेत्रमा उनीहरूलाई नियन्त्रणमा लिन खोज्ने क्रममा प्रहरीसँग भिडन्त भएको हो । करिब ५ हजार प्रदर्शनकारीलाई छुट्याउने क्रममा झडप शुरू भएको प्रहरीले जनाएको छ।
घटनामा चार प्रहरी गम्भीर घाइते भएका छन् । उनीहरूको दाँत भाँचिएको छ भने टाउको र नाकमा चोट लागेको छ ।
झडपमा संलग्न भएको आरोपमा कम्तीमा २५ जना पक्राउ परेका छन् । ‘यो मात्र शुरूआत मात्र हो, हिंसामा संलग्नलाई चाँडै कडा कारबाही गर्नेछौं’, सहायक आयुक्त म्याट ट्विस्टले चेतावनी दिएका छन् ।
गृहसचिव शबाना महमुदले पनि प्रहरीमाथि आक्रमण गर्नेहरूको निन्दा गर्दै आपराधिक गतिविधिमा संलग्न जो–कोही कानूनको सजायबाट नबच्ने चेतावनी दिएकी छन् ।