
काठमाडौंको ताहचलस्थित वैदेशिक रोजगार विभाग पनि अरू सरकारी कार्यालयजस्तै हाल असाधारण अवस्थाबाट गुज्रिरहेको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा तोडफोड र आगजनीले विभागको तल्लो भवन पूर्ण रूपमा ध्वस्त बनायो । प्रशासन शाखा, मुद्दा शाखा, अनुगमन, लेखा, राहत–उद्धार, संस्थानदेखि लिएर महानिर्देशक कार्यकक्षसम्म सबै खरानीमा परिणत भए । फाइल, कम्प्युटर, दराजदेखि कर्मचारीका व्यक्तिगत सामानसम्म जलेर नष्ट भए । आगजनीमा करिब १५ सय पासपोर्ट जलेको र विभागलाई करिब ३ करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको अनुमान छ।
तर, यति ठूलो विनाशपछि पनि विभागको सेवा थामिएको छैन । आइतबारदेखि (भदौ २९) नै गेट नम्बर २ स्थित माथिल्लो भवनबाट आंशिक रूपमा काम थालिएको थियो । सोमबारदेखि पूर्ण रूपमा सेवा सञ्चालन भएको विभागका निर्देशक तथा सूचना अधिकारी टीकाराम ढकालले बताए । तल्लो कार्यालयमा रहेका करिब ५० जना कर्मचारी माथिल्लो भवनमा सरेका छन् । काम पनि एउटै भवनबाट शुरू गरिएको हो ।
सुरक्षाकर्मी बस्ने कोठासमेत कार्यकक्षमा बदलिएको छ । उनका अनुसार कार्यालय ध्वस्त हुँदासमेत सेवामा अवरोध नआओस् भन्ने ध्येयका साथ कर्मचारीहरूले किचेन र सुरक्षाकर्मी बस्ने कोठासमेत कार्यालयको रूपमा प्रयोग गरेका छन् ।
एउटै कोठामा १२ जनासम्म कर्मचारीहरू बसाएर सेवा थालिएको उनले बताए । ‘तल्लो कार्यालय ध्वस्त भइसकेपछि माथिल्लो कार्यालयमा काम सारेका छौं । एउटै कोठामा १२ जनासम्म कर्मचारीहरू राखेर भए पनि सेवा शुरू गरिरहेका छौं,’ लोकान्तरसँग उनले भने, ‘कार्यालयको किचेन र सुरक्षाकर्मी बस्ने कोठासमेत प्रयोग गरिरहेका छौं ।’

श्रम स्वीकृतिको सेवा निरन्तर नै चलिरहेको छ। कारण, श्रम स्वीकृतिको काम पहिले नै माथिल्लो कार्यालयबाट हुँदै आएको थियो । त्यसैले आगजनीले अन्य शाखालाई ध्वस्त तुल्याए पनि श्रम स्वीकृति प्रभावित भएन । तर प्रशासन, मुद्दा र अन्य महत्त्वपूर्ण काम भने केही दिन अवरुद्ध रह्यो ।


कसरी जोगियो माथिल्लो कार्यालय ?
नेपाल ट्रस्टको भाडाको जग्गामा बनेको विभाग दुई भागमा विभाजित थियो । सोल्टी मोडबाट प्रवेश गर्दा गेट नम्बर १ मा तल्लो कार्यालय पर्थ्यो, जहाँ प्रशासनिक र मुद्दा सम्बन्धी काम हुन्थे । अलिक भित्रै छिरेपछि गेट नम्बर २ को माथिल्लो कार्यालय आउँथ्यो, जहाँ श्रम स्वीकृति लगायतका काम सञ्चालन हुँदै आएका थिए।

भदौ २४ गते आन्दोलनकारीहरूले गेट नम्बर १ स्थित तल्लो कार्यालयमा तोडफोड र आगजनी गरे। त्यतिबेला कार्यालयभित्र कर्मचारी थिएनन्, सुरक्षाकर्मी मात्र थिए। आगो दन्कँदै गर्दा क्यान्टिनमा ग्यास सिलिन्डर भएको कारण विस्फोट हुनसक्छ भन्ने चेतावनीसहित सुरक्षाकर्मीले आन्दोलनकारीलाई भगाए ।
यही कारण आन्दोलनकारी माथिल्लो कार्यालयसम्म प्रवेश गर्न सकेनन् । कर्मचारीहरूका अनुसार यही सुझबुझका कारणले गेट नम्बर २ को कार्यालय सुरक्षित रह्यो ।

भोलिपल्टसम्म आगोले तल्लो भवनलाई पूर्ण रूपमा ध्वस्त पारिसकेको थियो । आगो आफैं निभेपछि बाँकी रहेका थोरै सामग्री माथिल्लो कार्यालयमा सारिएको हो ।
विभागका महानिर्देशक कमल भट्टराईका अनुसार, दैनिक कार्यलाई सहज बनाउन र दीर्घकालीन समाधानका लागि नयाँ कार्यालय निर्माणको तयारी भइरहेको छ । पुरानो जलेको स्थानमा कार्यालय नबनाउने उनले बताए ।

दातृ निकाय, व्यवसायी तथा वैदेशिक रोजगारका संस्थाहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विभिन्न संघ–संस्थाले पनि भवन निर्माणमा हातेमालो गर्ने वाचा गरेका छन् ।



