२१ असार २०८३, आइतबार
जेनजी आन्दोलनपछिको राजनीति

रवि जेलबाट भाग्दाको परिणाम: कांग्रेस–एमालेसँगै रक्षात्मक बन्यो रास्वपा

असोज २, २०८२
काठमाडौं
रवि जेलबाट भाग्दाको परिणाम: कांग्रेस–एमालेसँगै रक्षात्मक बन्यो रास्वपा

जेनजीको दुई दिने आन्दोलनपछि परम्परागत दलमाथि गम्भीर प्रश्न उठेका बेला गत निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि रक्षात्मक बनेको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)माथि चौतर्फी दबाब बढिरहेका बेला सहकारी ठगीको मुद्दामा जेलमा रहेका सभापति रवि लामिछानेको अस्वाभाविक ‘हर्कत’ले रास्वपालाई पनि रक्षात्मक बनाइदिएको हो ।

भ्रष्टाचारको अन्त्य र सुशासनको मुख्य माग राखेर जेनजीले भदौ २३ गते आन्दोलन गरेका थिए । पहिलो दिनको आन्दोलनमा बानेश्वरमा १९ युवाको ज्यान गयो ।

त्यसको भोलिपल्ट तोडफोड र आगजनीमा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतसहितका सरकारी संरचनालाई आन्दोलनकारीले ध्वस्त बनाए ।

जेनजीको माग एकातिर थियो, तर दोस्रो दिनको आन्दोलनलाई रास्वपाले सहकारी ठगीमा जेल परेका लामिछानेलाई बाहिर निकाल्ने मौकाका रूपमा लियो । जबकि रविमाथि पाँचवटा जिल्ला अदालतमा सहकारी ठगी मुद्दाको अन्तिम किनारा लागेको थिएन ।

जेनजी आन्दोलनको हुलमुलमा रविलाई छुटाउन पार्टीकै नेताहरूले २४ गते अभियान नै चलाए । नख्खु पुग्न सामाजिक सञ्जालमा उर्दी जारी गरे । त्यसैका लागि कार्यवाहक सभापति डोलप्रसाद अर्याल, हरि ढकालसहितका नेता रविलाई छुटाउन नख्खु कारागार पुगे । उनीहरूको समेत मिलेमतोमा रविलाई छुटाउन कारागार प्रशासनको तर्फबाट नक्कली पत्र नै बनाइयो ।

फाइल तस्वीर

रवि छुटेलगत्तै जेनजीहरूले उनलाई छुटाउने माग आफूहरूको नभएको भन्दै ‘ब्याक टु जेल’ ट्रेन्ड चलाए । यतिसम्म कि अघिल्लो दिनसम्म लामिछानेको पक्षमा खुलेर लाग्नेहरू ‘ब्याक टु जेल’को ह्यास्ट्याग लेख्न थाले । सुरक्षा दिन नसकिएको भन्दै रविलाई छुटाउन नख्खु कारागार प्रमुख सत्यराज जोशीले पत्र दिएको दाबी गरियो ।

चौतर्फी दबाब बढेपछि रविले भिडियो सन्देश जारी गर्दै जोशीको पत्रपछि आफू सुरक्षाका लागि छुटेको जिकिर गरे । तर, कुनै अंश नै नमिलेको पत्र आफ्नो नाममा जारी गरिएकोप्रति जोशीले अनभिज्ञता देखाउँदा रवि र रास्वपा रक्षात्मक बन्न पुगे ।

रविलाई छुटाउन गरिएको हतकण्डा र नक्कली पत्रको असर देशभरका कारागारमा पर्‍यो । लामिछाने छुटे भनेपछि देशभरका कारागारका बन्दीले पनि छुट्न पाउनुपर्ने माग गरे । जेलभित्रै आगो लगाउने, प्रहरीमाथि जाइलाग्ने जस्ता विध्वंश मच्चाउन शुरू गरे । यस क्रममा देशभरबाट हजारौं कैदी भागे । भाग्ने क्रममा प्रहरीले चलाएको गोलीले ११ कैदीको ज्यान गयो । अझै पनि गम्भीर प्रकृतिका मुद्दा लागेका हजारौं कैदीबन्दी जेलबाहिर छन् ।

नेताका घरमा छानीछानी आगो लगाउने, रविमाथि मुद्दा परेका अदालतलाई खरानी बनाउने, महत्त्वपूर्ण कागजात रहेका शाखा ध्वस्त पार्ने जस्ता हर्कत भएका थिए । देशभरका कारागारमा भएका यस्ता गतिविधि लामिछानेकै कारण सिर्जित भएको भाष्य बनिरहेको छ । यसलाई रास्वपाले प्रतिवाद गर्न सक्ने स्थिति बनेको छैन ।  

देशभरका कारागारमा यस्तो अवस्था आएपछि रास्वपाभित्र खैलाबैला मच्चियो । मुद्दामा ‘क्लिनचिट’ पाएको शैलीमा नख्खुबाट हात हल्लाउँदै रविलाई निकालियो । ‘टाइगर इज ब्याक’ भन्दै जुलुससहित कारागारबाट खुशीयाली मनाएर निवासमा पुर्‍याइयो, जसले रास्वपामा रविको नाममा पहिलोपटक भाँडभैलोको स्थिति आयो ।

एकातिर नक्कली पत्र बनाएर आफैं निस्किएको, अर्कोतिर ‘सन रुफ’ भएको गाडी चढेर हात हल्लाएको भनेर आलोचना हुन थाल्यो । रवि विवादमा परेपछि रास्वपाको भर्चुअल बैठकमा विवादले उग्र रूप लियो । सुमना श्रेष्ठ, मनिष झा, तोसिमा कार्की, गणेश कार्की, निशा डाँगीसहितका नेताले आपत्ति जनाए । रविले सक्कली भनेर दाबी गरेको पत्रको बेहोरा नै नक्कली रहेको भन्दै कार्कीसहितका नेताले आपत्ति जनाए ।

लामिछानैकै विश्वापात्र नेता मनिष झाले समेत लामिछानेको हर्कतप्रति आपत्ति जनाएको बताइन्छ । पार्टीकै ह्वाट्सएप ग्रुपमा झाले ‘लामिछानेलाई छुटाउन भीड जम्मा गरेको, सन रुफ भएको गाडी पर्खिएको र अनावश्यक स्टन्ट देखाउँदा रक्षात्मक बन्नुपरेको’ भनेर लेखेको स्रोतको दाबी छ ।

सुमनाले पनि उत्तिकै प्रतिवाद गरिन् । गम्भीर ठगीमा परेको नेताले छुट्न आन्दोलनको मौका हेरेको र छुटाउन लाग्नेले पनि पार्टीमा माफी माग्नुपर्ने अडान राखिन् । तर, रविलाई छुटाउन गएका हरि ढकालले ‘लामिछानेकै कारण सांसद पद पाएकाले हैसियतमा बस’ भनेर चेतावनी दिए । रविकै कारण अवसर पाएको भन्दै सुमनामाथि ढकाल जाइलागेका थिए । त्यसलगत्तै सुमनाले रास्वपा परित्याग गरिन् ।

अन्तत: जन्मदिनमा एक भिडियो सार्वजनिक गर्दै लामिछाने चार दिनपछि भदौ २८ गते रवि नख्खु कारागार फर्किए ।

‘न्यायकी प्रतिमूर्ति प्रधानमन्त्री बन्नुभएको छ । अब ममाथि अन्याय हुँदैन भन्ने आशा लिएर म कारागार जाँदैछु,’ नख्खु कारागार फर्किँदै लामिछानेले भनेका थिए ।

जेनजीको आन्दोलनपछि कारागारबाट भागेका रविले प्रधानमन्त्री बन्नेसम्मको आकांक्षा पालेका थिए । उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग समेत वार्ता प्रयास गरेको स्रोत बताउँछ ।

‘एउटा गम्भीर मुद्दा लागेका रवि दलबलसहित कारागारबाट निस्किए । नागरिक तहको सरकार बन्ने स्थितिमा प्रधानमन्त्रीको बनिन्छ कि भनेर प्रधान सेनापतिसँग समेत संवाद गरेको सुनिएको छ,’ सेनासँग निकट स्रोतले भन्यो, ‘दुर्गा प्रसाईंले समेत सेनापति भेटेपछि म पनि के कम भनेर रविले पनि संवाद गरेको हुन सक्छन् । तर, बालेनको तजबिजमा सुशीला कार्की प्रधानमन्त्री हुँदा रविको केही लागेन ।’

रास्वपा

कतिपयले सेनाले हिंसात्मक आन्दोलनको ‘स्टेकहोल्डर’ को–को रहेछन् भनेर ‘स्क्रिनिङ’का क्रममा लामिछाने र प्रसाईंलाई भेटेको पनि बताउने गरेका छन् ।

गम्भीर मुद्दामा न्यायिक निरुपण टुंगिएको छैन । मुद्दा नटुंगिँदै लामिछानेले मौका छोपेपछि पार्टी रक्षात्मक बनेको छ । एउटा गम्भीर मुद्दाका प्रतिवादी भीड जम्मा गरेर निस्किने र आलोचनापछि फेरि जेलमा फर्किने स्थितिलाई नागरिक तहले समेत स्वभाविक मानेको छैन ।

२४ गतेको आगजनी र तोडफोडका घटनामा रास्वपाका नेता, कार्यकर्ताहरू कान्तिपुर पत्रिकाको कार्यालय जलाउन गएको, नेताहरूको घर, सवारीसाधन तोडफोडमा उत्रिएको, हिंसा भड्काउन सामाजिक सञ्जालमा लेखेको भन्दै आलोचित भइरहेका छन् ।

पार्टीका नेताको नाम लिएर सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म आलोचना भएपछि प्रवक्ता मनिष झाले बिहीबार विज्ञप्ति नै निकाले ।

‘जेनजी आन्दोलनबाट उत्पन्न परिस्थितिको फाइदा उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहले रास्वपा र रास्वपा सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय, उच्च पदस्थ कर्मचारीहरूलाई डर, त्रास, धम्की देखाई टेलिफोन मेसेज गरिरहेको जानकारी पार्टीमा आएकाले यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको सार्वजनिक जानकारी गराउँदै यस्ता गतिविधिमा लाग्ने जो कोही भए पनि आवश्यक छानबिन र कारबाहीका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौं ।’

झाले विज्ञप्ति मात्रै जारी गरेनन् । रवि छुटाउन अग्रपंक्तिमा खटिएका हरि ढकालले माफी नै मागेका छन् । पार्टी छाडिसकेकी सुमनामाथि गरिएको टिप्पणीप्रति उनले आत्मालोचना गरेका हुन् ।

सुमनाले काठमाडौंका मेयर बालेन शाहको पार्टीमा जाने तयारी गरेकी छिन् । रास्वापाका अरू नेताले समेत बालेनले खोल्ने पार्टीमा जाने मानसिकता बनाएको बताइन्छ ।

आफूमाथि लागेको मुद्दालाई रविले कांग्रेस र एमालेले लगाएको प्रतिशोध भन्दै आएका छन् । तर, यी दुई दलको सरकार आन्दोलनको बलमा ढल्दासमेत उनले उनी कारागार फर्किनुपरेको छ । मौकाको फाइदा उठाएको आरोप लागेको छ, जसले कान्छोमध्येको दल रास्वपा पनि परम्परागत दलभन्दा फरक नभएको भाष्य बनिरहेको छ ।

राजनीतिक विश्लेषक मुमाराम खनाल लामिछाने जेलबाट भागेको प्रकरणबारे रास्वपाले अराजनीतिक भाष्य बनाइरहेको बताउँछन् ।

‘रास्वपाका नेता मनिष झाको एउटा भिडियो ‘क्लिप’ देखेपछि उदेक लाग्यो । उनले रवि लामिछानेलाई जेलबाट ननिकालेको भए हामीले आज रिप लेख्नुपर्थ्यो भन्नेसम्मको भ्रम, निर्लज्जता र अरानीतिक कुरा गरे । जबकि कानूनबमोजिम जेलमा बस्नेहरू होइन, कानून तोडेर जेलबाट भाग्नेहरूमध्ये ११ जना मारिए । अनि कसरी भाग्ने रवि सुरक्षित भए ? अनि यस्ता नेताले नयाँको प्रतिनिधित्व गर्छन् ?’, खनालले भने, ‘सस्तो बयानबाजीबाट राजनीति गर्ने पुरानो दलभन्दा पनि बढी कुण्ठा बोकेका रास्वपाका साथीहरूले बुझ्नुपर्‍यो– ‘जेनजी’ पुस्ता आएपछि तपाईंहरूको औचित्य समाप्त भयो । अब तपाईंहरू पनि पुरानो हुनुभयो । नयाँ राजनीति गर्ने हो भने राजनीतिको नयाँ ध्रुवीकरणमा समावेश हुनुस् ।’

 

salt training

कमेन्ट गर्नुहोस्