
मिथ्या र भ्रामक सूचना रोक्न व्यक्ति स्वयं र सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने सरोकारवाला निकायले जोड दिएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले संयुक्त राष्ट्र संघसँगको सहकार्यमा बिहीबार ललितपुरमा गरेको ‘मिथ्या तथा भ्रामक सूचना/खबर नियन्त्रणमा सरोकारवालाको दायित्व’ विषयक संवाद कार्यक्रममा सही सूचना समयमा दिइएमा भ्रामक सूचना कम हुनेमा जोड दिइएको हो ।
कार्यक्रममा गएको भदौ २३ गतेपछिको घटनाक्रम र त्यसपछि फैलाइएका भ्रामक सूचनाबारे प्रस्तुति गर्दै सीएमआर नेपालका निर्देशक उज्वल आचार्यले जेनजी आन्दोलनका क्रममा प्रतिष्ठित सञ्चारमाध्यमबाट नै भ्रामक र मिथ्या सूचना प्रवाह गरिएको पाइएको बताए ।
उनले मिथ्या खबर बढेको बारेमा उदाहरण दिँदै ‘पशुपति मन्दिर जलाउन खोजिएको, जेनजीको आन्दोलन राजतन्त्र पुनःस्थापनाका लागि तथा हिन्दू राज्य घोषणाका लागि भएको’लगायतका भ्रामक र मिथ्या सूचना यसबीचमा फैलाइएको उल्लेख गरे । ।
मिथ्या र भ्रामक सूचनाको प्रतिकार्यका लागि सही सूचना समयमै प्रवाह हुनुपर्ने र यसविरुद्धको भ्रम चिर्न राज्य, सञ्चारमाध्यम र नागरिक समाजको सामूहिक प्रयासको खाँचो रहेको उनले बताए ।
राष्ट्रियसभाका सांसद पदम परियारले विभिन्नखाले सञ्चारमाध्यम र सामाजिक सञ्जाल चलाउनेहरूले भ्रामक सूचना फैलाउने गरेको बताए ।
सबैभन्दा माथि देश छ भन्ने कुरा याद राख्ने हो भने गलत सूचना फैलिन नपाउने उनको धारणा छ । जेनजी आन्दोलनका क्रममा नै फैलिएको भ्रामक सूचना गम्भीर रहेकाले यसलाई नियमन गर्नुपर्ने सांसद परियारको भनाइ छ ।
नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नितु पण्डितले मिथ्या सूचना फैलाउने काम सञ्चारमाध्यमबाट पनि भएको उल्लेख गरिन् । मिथ्या र भ्रामक सूचनाको परिणाम भयावह हुने भएकाले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता पूर्ण पालना गर्न उनको आग्रह छ ।
उपाध्यक्ष पण्डितले सूचना ग्रहणकर्ता पनि उत्तिकै सजग हुनुपर्ने र गलत सूचना फैलाइएको पाए महासंघमा उजुरी गर्न अनुरोध गरिन् ।
प्रेस काउन्सिलकी सदस्य निमा काफ्लेले वास्तविक समाचारभन्दा भ्रामक समाचार कयौं गुणा छिटो फैलिने भएकाले पनि सचेत हुनुपर्ने बताइन् । उनले यसबीचमा प्रेस काउन्सिलको आचारसंहिता विपरीतका शीर्षक र समाचार आएको बताउँदै यसको समाधान खोजिने र यसबारेमा अनुगमन तथा मूल्यांकनका लागि भरेभोलिमा नै निर्णय गर्ने प्रतिबद्धता जनाइन् ।
९० प्रतिशतभन्दा बढी व्यक्तिले सामाजिक सञ्जालबाट सूचना लिने गरेको बताउँदै उनले यस्ता सूचना लिँदा व्यक्ति आफैंले सावधानी अपनाउनुपर्ने बताइन् ।
प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले सञ्चारमाध्यमले प्रकाशन गर्ने सामग्रीमाथि नियमित अनुगमन गरिरहेको भन्दै तथ्य जाँचलाई अगाडि बढाउने बताए ।
उनले फागुन २१ मा घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचनमा भ्रामक सूचना थप फैलिन सक्ने भएकाले यसलाई रोक्नका लागि काउन्सिलले छलफल अघि बढाएकोसमेत जानकारी दिए ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रवक्ता सिर्जना पोखरेलले भ्रामक सूचनाबाट जोगिन स्वयं व्यक्ति आफैं सचेत हुनुपर्नेमा जोड दिँदै व्यक्ति सचेत नहुँदा एकले अर्कोलाई भ्रामक सूचना फैलाउने जोखिम हुने बताइन् ।
संघीय संसद् सचिवालयका उपसचिव दशरथ धमलाले सचेत व्यक्तिको परिचय आफैंले दिनुपर्ने बताए । सञ्चारमाध्यमहरूले उक्साउने, आक्रामक बनाउने जस्ता समाचारलाई प्राथमिकता दिन नहुने उनको भनाइ छ ।
कार्यक्रममा फ्रिडम फोरमका संस्थापक तारानाथ दाहालले कानून नबनेकाले नै मिथ्या र भ्रामक सूचनालाई फैलिनबाट रोक्न समस्या भएको बताए । कतिपय अवस्थामा सरकारले नै मिथ्या र भ्रामक सूचना फैलाइरहेको उनको भनाइ थियो ।