०९ साउन २०८३, शनिबार

बुकिङ रद्ध गर्न थाले पर्यटक, माहोल सुरक्षित रहेको सन्देश दिन खोज्दै व्यवसायी

असोज २, २०८२
पाेखरा
बुकिङ रद्ध गर्न थाले पर्यटक, माहोल सुरक्षित रहेको सन्देश दिन खोज्दै व्यवसायी

सामाजिक सञ्जालभर छरपस्ट छन् भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको विध्वंसका भिडियो । देशको प्रमुख तीन अंग दनदनी आगोमा जलेको त्यो भिडियो अत्यासलाग्दो छ, सबैका लागि । 

सरकारी कार्यालयदेखि व्यक्तिको व्यवसायमा तोडफोड गरेर लुटपाट मच्चाएको भिडियो पनि उस्तै छताछुल्ला छ । सुरक्षाका लागि सडकमा सेना उत्रिन परेपछि पक्कै पनि शान्त मानिएको नेपालको छवि राम्रो गएको छैन अन्तराष्ट्रिय स्तरमा ।

पर्यटक भित्रिने समयमा भएको यस किसिमको घटनाले पर्यटन क्षेत्रमा प्रभाव पार्ने देखिन्छ । होटलमा आगो लागेपछि उद्धार गर्न आफ्नो सरकारलाई अपिल गरिरहेको भारतीय नागरिकको भिडियोले राम्रो सन्देश नदिएको पर्यटन व्यवसायीहरू बताउँछन् । 

नेपालमा आउने बढी पर्यटक भारतीय छन् । नेपालस्थित भारतीय दूतावासले अहिलेको माहोलमा केही समयका लागि भ्रमण स्थगित वा सार्न आफ्ना नागरिकलाई एड्भाइजरी जारी गरिसकेको छ । केही अन्तर्राष्ट्रिय मिडियाले तत्कालका लागि नेपाल भ्रमण गर्न असुरक्षित रहेको समाचार प्रकाशन गरिरहेका छन् ।

सेप्टेम्बरदेखि नेपालमा पर्यटकीय सिजन शुरू हुन्छ । विशेषगरी अक्टोबरको समयमा पदयात्रा गर्न आउने पर्यटकले प्रि–बुकिङ गरिसकेका हुन्छन् । त्यसबीच केही यस्ता भिडियो छन् जसले थोरै आशा थामेको छ ।

आन्दोलनका क्रममा सडकको बीचैबीच हिँडेको पर्यटक बसलाई प्रदर्शनकारीले सुरक्षित बाटो देखाएको भिडियो सामाजिक सञ्जालमा छाइरहेको छ । भर्खरसम्म नाराबाजी गरिरहेका युवाले हात हल्लाउँदै पर्यटकलाई स्वागत गरेका देखिन्छ । सायद, यसैले होला सामाजिक सञ्जालमा ह्युमरयुक्त ‘मिम’ देखिन्छ विदेशीको । यो भिडियो अहिले सामाजिक सञ्जालमा चर्चित छ । जसमा थुप्रै विदेशी नागरिकले हाँस्दै भिडियो बनाएका छन् ।

जहाँ विदेशी नागरिकले भनिरहेका छन् ‘नेपाल यस्तो देश हो जहाँ आन्दोलनको बीचमा शान्त बनेर प्रदर्शनकारीले पर्यटक गाडीलाई सुरक्षित जान दिएका छन् ।’

अर्को दृश्य हो ‘वी हेट द कोल्ड’को । दिनभर सिहंदरबार र संसद् भवन जलेको देखेका ‘वी हेट द कोल्ड’ नामक युट्युब च्यानलका भ्लगर अचम्ममा थिए, सडकमा रहेको आफ्नो बाइक सुरक्षित रहेकोमा । उनलाई प्रदर्शनकारीले पानी दिएर बिदा गरे प्रदर्शनस्थलबाट । मिलियन भ्युज गएको उनको भिडियोले पर्यटकका लागि नेपाल सुरक्षित रहेको सन्देश भने दिएको छ । यी स-साना कुरा केही सकारात्मक प्रभाव पारेको ट्रेकिङ एसोसिएसन अफ (टान)का गण्डकी अध्यक्ष कृष्ण आचार्य बताउँछन् ।

‘घुम्न आएको मान्छेलाई हाम्रो कारणले अप्ठ्यारो नपरोस् भन्ने कुरा जेनजी साथीहरूले गर्नुभयो । उहाँहरूले पर्यटकलाई अप्ठ्यारो पार्नुभएन, त्यो राम्रो म्यासेज हो । तर, हुलदंगामा हामी पनि परिन्छ कि भन्ने हिसाबले चिन्तित हुनु स्वाभाविक पनि हो,’ आचार्यले भने ।

आचार्यले भनेजस्तै असुरक्षित महसुस गर्नु स्वाभाविक हो । त्यसैले पनि होला नेपाल घुम्न पर्यटकले बुकिङ रद्ध गरिरहेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी पछिल्लो आन्दोलनले पर्यटनमा नकारात्मक असर परेको सुनाउँछन् । दुई दिनको आन्दोलनले लामो समयका लागि आएका पर्यटक पनि फर्किएको अध्यक्ष पहारीले बताए ।

‘कतिपय लामो समयका लागि आउनुभएको पनि फर्केर जानुभयो । अक्टोबरको बुकिङ धेरै क्यान्सिल गर्नुभयो’, पहारीले भने ।

भूकम्प, नाकाबन्दी हुँदै कोभिडपछि उठ्न खोजेको पर्यटन क्षेत्रमा पछिल्लो आन्दोलनले केही असर पक्कै गर्नेछ । पछिल्लो वर्षको तुलनामा अहिले पर्यटकको चहलपहल बढ्न थालेको थियो । पर्यटकीय सिजनका लागि पोखरा भरिभराउ हुन लाथेको थियो । लेकसाइडमा भारतीय र चिनियाँ बाहेक अन्य देशका पर्यटक पनि देखिन थालेका थिए । 

तर,जबजब पर्यटन क्षेत्र उठ्न थाल्छ राजनीतिक अस्थिरता वा अन्य विषयले गाँजिहाल्छ । लेकसाइडमा मात्र होटल र रिसोर्ट गरी पाँच वटामा आगजनी भयो । प्रदर्शनकारीले एमालेको लगानी र विन्दु कुमार थापाको होटल रहेको भन्दै आगजनी गरे । पर्यटक बसिरहेको होटलमा आगजनी भयो । यसले केही त्रास सिर्जना गरेपनि पर्यटन व्यवसायले हौसला त्यागेको छैन । यो परिस्थितिमा कसरी अगाडि बढ्न सकिन्छ भनेर व्यवसायीले छलफल गरिरहेका छन् ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)की अध्यक्ष ममता न्यौपाने पनि पर्यटन क्षेत्रमा असर परेको बताउँछिन् । ‘३० प्रतिशत जति क्यान्सिल हुन थालेको छ । हामीलाई अब लगभग अस्तिको अवस्थामा अहिले सामान्य लागेको छ । तर, बाहिरबाट हेर्दा र न्यूजहरू हेर्दा असर भएको छ’, उनले भनिन् ।

उनका अनुसार सहज हुनका लागि केही समय लाग्ने छ । तरपनि सुरक्षाका हिसाबले स्थिति सामान्य रूपमा फर्किएकोबारे सन्देश दिन सके पर्यटनमा राम्रो प्रभाव हुने उनको भनाइ छ ।

यसबीच यस्ता पर्यटक पनि छन् जसले आन्दोलनपछि समेत आफूलाई सुरक्षित महसुस गरेका छन् । एक/दुई व्यक्तिगत स्थान बाहेक प्रदर्शनकारीले लेकसाइडको पाँच वटा होटलमा निशाना बनाए । यी देखेर पनि बस्ने पर्यटक न्यून रहेको पहारीको भनाइ छ । पदयात्रामा जानेहरू भने बस्न रुचाएको उनको भनाइ छ । 

टानका अध्यक्ष कृष्णा आचार्यले बुकिङ गरेका पर्यटकलाई आफूहरूले नेपाल सुरक्षित रहेको सन्देश दिइरहेको सुनाए । ‘हामीले नेपाल सुरक्षित छ, तपाईंहरू भ्रमण गर्न सक्नुहुन्छ, दुई दिनको घटनाले नयाँ ट्रयाक लिएको छ भनेर म्यासेज दिएका छौं । सबैले त्यो म्यासेज दियो भने सहज होला । बुकिङ भएको मान्छेलाई सकारात्मक सन्देश दिन खोजिरहेका छौं,’ आचार्यले भने ।

salt training

कमेन्ट गर्नुहोस्