
दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत लेखा अधिकृत (सातौं तह) टंकबहादुर कार्की एक लाख घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल र आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई एक लाख घुससहित पक्राउ गरेको हो ।
सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा बिहीबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगढी चोकबाट सोमबार उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा कारबाही गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।