
प्रहरीले आफ्ना भवन जलाउने र हतियार लुट्नेलाई खोजीखोजी कारबाहीको दायरामा ल्याउने रणनीति तय गरेको छ ।
जेनजीको आन्दोलनमा प्रहरीका दर्जनौं भवनमा आगजनी र ११ सय थानभन्दा बढी हातहतियार तथा गोलीगठ्ठा लुटपाट भएका थिए ।
महाराजगञ्ज वृत्तका थुनुवाले नै प्रहरीको हत्या गरेको देखिएपछि अहिले प्रहरीले ती थुनुवाहरूको व्यापक खोजी कार्य शुरू गरेको छ ।
प्रहरीमाथि जाइलाग्नेहरू जेनजी नभएर थुनुवा, लागूऔषध सेवनकर्ता, चुल्ठेमुन्द्रे र गुण्डागर्दीमा संलग्न व्यक्ति रहेको निष्कर्ष प्रहरी मुख्यालयको छ ।
प्रहरी मुख्यालयमा आइतबार प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की र अन्य विभागीय प्रमुखहरूको बैठक बसेको थियो ।
सो बैठकले प्रहरीको मनोबल उकास्न पनि प्रहरीमाथि गरिएको आक्रमणको अनुसन्धान हुनुपर्ने र दोषीलाई कठघरामा उभ्याउनुपर्ने निष्कर्ष निकालेको हो ।
केही प्रहरी युनिटले तोडफोड, आगजनी र लुटपाट मच्चाउनेलाई पक्राउ गर्न थालिसकेको रिपोर्टिङ एआईजी कार्कीले गरेका थिए ।
बैठकमा आईजीपी खापुङले प्रहरीका हतियार बाहिर रहँदा त्यसले निम्त्याउने खतराका विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको भन्दै सूचना संकलन गर्दै त्यस्ता लुटेरालाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
एआईजी कार्कीले कालीमाटी वृत्तको हतियार खोसेर खुकुरी नचाउने एक जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको जानकारी बैठकमा गराएका थिए ।
सीसीटीभी र प्रदर्शनको दिन सामाजिक सञ्जालमा आएका भिडियो तथा फोटोलाई आधार बनाएर प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ८ जनालाई नियन्त्रणमा लिइसकेको छ ।
बैठकमा प्रहरीका राइफलसहित १२ सय थानभन्दा बढी हतियार र ९८ हजार थानभन्दा बढी गोली लुटिएको निष्कर्ष पेश गरिएको थियो ।
त्यस्तै, प्रदर्शनकारीले प्रहरीका चार सय ४५ वटा भवन जलाएको तथ्यांक बैठकमा पेश भएको थियो ।
प्रहरी हेडक्वार्टरको मिटिङ सकिएपछि एआईजी कार्कीले उपत्यकाका तीनवटै जिल्लाका प्रहरी प्रमुख, गणपति, गुल्मपति, वृत्त र प्रभागका इन्चार्जलाई डाकेर मिटिङ राखेका छन् ।
मिटिङमा कार्कीले आईजीपीको निर्देशनलाई अक्षरस: पालना गर्दै सार्वजनिक संरचना ध्वस्त पार्नेलाई पक्राउ गर्न तदारुकताका साथ लाग्न निर्देशन दिएका छन् ।
भवन जले पनि सफा गर्ने, रंगरोगन गर्ने र सडकमा प्रहरीको उपस्थिति बढाउनुपर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।