
विश्व फूटबलको चर्चित अवार्ड हो, बालोन डी’ओर । वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने विश्वकै सर्वोत्कृष्ट फूटबल खेलाडीलाई यो अवार्ड प्रदान गरिन्छ । यो वर्षको बालोन डी’ओर अवार्ड सोमबार राति प्रदान गरिँदैछ ।
बालोन डी’ओर अवार्डको यो ६९औँ संस्करण हो । अवार्ड कार्यक्रम फ्रान्सको राजधानी शहर पेरिसस्थित च्याटलेट थिएटरमा आयोजना हुनेछ । सन् २०२४–२५ सिजनमा विभिन्न प्रतियोगितामा गरेको प्रदर्शनलाई आधार बनाएर अवार्ड प्रदान गरिनेछ ।
यसपटक पुरुषतर्फ अवार्ड पाउने खेलाडीको सम्भावित सूचीमा पेरिस सेन्ट जर्मन (पीएसजी) का ओस्मान डेम्बेले, बायर्न म्युनिखका ह्यारी केन, रियल म्याड्रिडका केलियन एमबाप्पे, बार्सिलोनाका लामिन यमल, बार्सिलोनाकै राफिन्हा, लिभरपुलका मोहमद सलाहलगायत छन् ।
शुरूआती समयमा यो अवार्ड युरोपका खेलाडीलाई मात्र प्रदान गरिन्थ्यो । तर, सन् १९९५ देखि बालोन डी’ओर अवार्ड युरोप बाहिरका खेलाडीहरूको लागि पनि खुला गरिएको थियो । त्यसपछि यो अवार्डको महत्त्व झनै चुलिएको थियो ।
त्यसयता युरोप बाहिरका एक दर्जनभन्दा बढी खेलाडीले यो अवार्डमाथि कब्जा जमाइसकेका छन् । यो सूचीमा अफ्रिकी लिजेन्ड जर्ज वेह, अर्जेन्टिनी आइकन लियोनल मेस्सी तथा ब्राजिलियन स्टार रोनाल्डो, रिभाल्डो, रोनान्डिन्हो र काका पनि पर्छन् ।
समकालीन विश्व फूटबलका महान खेलाडी मेस्सीले त कीर्तिमानी रूपमा आठपटक यो अवार्ड चुमिसकेका छन् । प्रभावशाली पोर्चुगिज स्टार क्रिस्टियोना रोनाल्डोले पनि पाँचपटक यो अवार्ड जितिसकेका छन् ।
यसका अतिरिक्त, कुनै समय विश्व फूटबलमा तहल्का मच्चाउने म्याथियस सामर, जिनेदिन जिदान, लुइस फिगो, माइकल ओवेन, पावेल नेदभेद, आन्द्रे शेभचेन्को, फाबियो कानाभारो, लुका मोड्रिच, करिम बेन्जेमा, रोड्रीलगायतका खेलाडीले पनि बोलोन डी’ओर अवार्डको स्वाद चाखिसकेका छन् ।
तर, विश्व फूटबलमा केही यस्ता महान खेलाडी पनि छन्, जसले आफ्नो सक्रिय खेलजीवनमा कहिल्यै यो अवार्ड हात पार्न सकेनन् । अर्थात्, आफ्नो उत्कृष्ट खेल कलाले विश्वभरका करोडौं समर्थकको मन–मस्तिष्कमा गहिरो प्रभाव छाड्ने केही खेलाडीको पहुँचबाट यो प्रतिष्ठित अवार्ड सधैं टाढा रह्यो ।
यो सूचीमा रहेका केही खेलाडीको नामले त धेरैलाई आश्चर्यमा पनि पार्न सक्छ । यसै सन्दर्भमा, आफ्नो सक्रिय खेलजीवनमा उत्कृष्ट प्रदर्शन गरे पनि यो अवार्ड जित्न नसक्ने १० महान खेलाडीको बारेमा यहाँ चर्चा गरिएको छ ।
००
१०. ज्लाटन इब्राहिमोविच

प्रभावशाली स्विडिस फूटबलर ज्लाटन इब्राहिमोविचले आफ्नो सक्रिय खेलजीवनमा पाँच सय ७३ गोल गरेका छन् । उत्कृष्ट खेलसँगै आफ्नो विभिन्नखाले गतिविधिका कारण सधैं चर्चामा रहने यी महान खेलाडीले आफ्नो खेलजीवनमा ३४ वटा ट्रफी पनि जितेका छन् ।
इतिहासमा ६ जना खेलाडीले मात्र उनीभन्दा बढी ट्रफी जितेका छन् । अझ रमाइलो पक्ष, उनले चार फरक देशमा ११ वटा लिग उपाधि जित्न सफल भएका छन् । ६२ अन्तर्राष्ट्रिय गोलसहित उनी मेस्सी र रोनाल्डोपछि यो शताब्दीमा तेस्रो सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।
तर, उनले कहिल्यै बालोन डी’अवार्ड जित्न सकेनन् । सन् २०१४ मा पीएसजीमा हुँदा उनी यो अवार्डको भोटिङमा चौथो भएका थिए । त्यो वर्ष च्याम्पियन्स लिग जित्न नसक्नु नै उनको सबैभन्दा कमजोर पक्ष बन्न पुगेको थियो ।
इब्राहिमोविच च्याम्पियन्स लिगको इतिहासमा ६ वटा फरक क्लबका लागि गोल गर्ने एकमात्र खेलाडी हुन् । विश्व फूटबलमा उनलाई अद्वितीय प्रतिभा भएको खेलाडी मानिन्छ ।
००
९. राउल गोन्जालेज

चर्चित स्पेनिस खेलाडी राउल गोन्जालेजलाई स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडको प्रतिष्ठित जर्सी लगाउने महान् खेलाडीमध्ये एक मानिन्छ । उनले १९९४ देखि २०१० को बीचमा क्लबका लागि पाँच सय ५० खेल खेल्दै दुई सय २८ गोल गरेका थिए ।
उनी दुवै खुट्टाले उत्तिकै शक्तिशाली प्रहार गर्न माहिर थिए । रियल म्याड्रिडलाई सन् १९९७–९८, सन् १९९९–२०, र सन् २००१–०२ सिनमा च्याम्पियन्स लिगको उपाधि चुमाउन उनको योगदान अनुतलनीय रहेको थियो ।
सन् २००१ मा उनले ला लिगा गोल्डेन बुट जितेका थिए । सोही वर्ष उनी च्याम्पियन्स लिगमा पनि शीर्ष गोलकर्ता बनेका थिए । तर, त्यो वर्ष पनि बालोन डी’ओर अवार्ड उनको भाग्यमा थिएन । त्यसैले उनी लिभरपुलका माइकल ओवेनसँग पछि परे र दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भए । जबकि त्यो वर्ष राउलले ३२ गोल गर्दा ओवेनले २४ गोलमात्र गरेका थिए ।
००
८. पाओलो माल्दिनी

इटालीका महान फूटबलर पाओलो माल्दिनीले जीवनभर इटालियन क्लब एसी मिलानबाट व्यवसायिक फूटबल खेलेका थिए । उनी इटालीको राष्ट्रिय टोलीका पनि महान खेलाडी थिए । तर, आफ्नो समयका यी प्रभावशाली खेलाडीले पनि कहिल्यै बालोन डी’ओर अवार्ड चुम्न सकेनन् ।
उत्कृष्ट प्रदर्शन गरेर पनि यो अवार्ड नपाउने महान खेलाडीको सूचीमा पर्ने उनी एकमात्र डिफेन्डर हुन् । यी लिजेन्ड खेलाडी सेन्टर–ब्याक र लेफ्ट–ब्याक दुवै भूमिकामा खेल्न पोख्त थिए । माल्दिनीले मिलानमा २५ वर्ष रहँदा पाँचवटा च्याम्पियन्स लिग उपाधि चुमेका थिए ।
यो अवधिमा उनले आफ्नो क्लबलाई सातवटा सिरीए उपाधि पनि जिताएका थिए । उनले इटालीको राष्ट्रिय टोलीलाई विश्वकप र युरोपेली च्याम्पियनसिपमा उप–विजेता बनाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उनलाई पटक–पटक बालोन डी’ओर अवार्डको हकदार मानिन्थ्यो । तर, यो अवार्ड कहिल्यै उनको पोल्टामा परेन । उनी सन् २००३ मा यो अवार्डको नजिक पुगेका थिए । तर, त्यो वर्ष पावेल नेदभेद पहिलो, थिएरी हेनरी दोस्रो र उनी तेस्रो भएका थिए ।
००
७. जाभी

जाभी हर्नान्डेज सधैँ मैदानमा अरू सबैभन्दा एक कदम अगाडि रहने कुशल ‘प्लेमेकर’ थिए । उनले आफ्नो व्यावसायिक खेलजीवनबाट निकै लामो समय बार्सिलोनामा बिताए । बार्सिलोनाको थुप्रै सफलतामा उनको योगदान अविस्मरणीय छ ।
बार्सिलोनामा १७ वर्ष बिताउँदा उनले चारपटक च्याम्पियन्स लिग र आठपटक स्पेनिस ला लिगाको उपाधि जितेका थिए । उनले स्पेनको राष्ट्रिय टोलीलाई लगातार युरोपेली च्याम्पियनसिप र फिफा विश्वकपमा पनि नेतृत्व गरे ।
उनी तीनपटक बालोन डी’ओर अवार्डको नजिक पनि पुगेका थिए । सन् २००९ मा उनी मेस्सी र रोनाल्डोसँग पछि पर्दै तेस्रो भए । सन् २०१० मा पनि उनी मेस्सी र आन्द्रे इनिएस्टासँग पछि पर्दै तेस्रो नै भएका थिए ।
यसैगरी, सन २०११ पनि उनी मेस्सी र रोनाल्डोसँग पछि पर्दै तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएका थिए । यसरी विश्व फूटबलका यी महान खेलाडीले कहिल्यै यो अवार्ड जित्ने अवसर पाएनन् ।
००
६. लुइस स्वारेज

उत्कृष्ट प्रदर्शन गरेर पनि बालोन डी’ओर अवार्ड जित्न नसक्ने महान खेलाडीको सूचीमा लुइस स्वारेजको नाम पनि आउँछ । उरुग्वेका यी प्रभावशाली स्ट्राइकर त कहिल्यै यो प्रतिष्ठित अवार्डको माथिल्लो तीन स्थानमा पनि पर्न सकेनन् ।
त्यसैले उनलाई बालोन डी’ओर अवार्डको इतिहासमा ठूलो अन्याय भएको खेलाडी पनि मानिन्छ । उनले सन् २०११ देखि सन् २०१४ सम्म इङ्लिस क्लब लिभरपुलबाट खेलेका थिए । त्यतिबेला उनलाई लिभरपुलको नायकसम्म भनिन्थ्यो ।
त्यसपछि सन् २०१५ देखि सन् २०२० सम्म उनले बार्सिलोनाबाट खेले । बार्सिलोनामा रहँदा ‘एमएसएन’ निकै चर्चित थियो । मेस्सी, स्वारेज र नेयमारको उत्कृष्ट तालमेलमा बार्सिलोनाले थुप्रै महत्त्वपूर्ण उपलब्धि पनि हासिल गरेको थियो ।
उनी सन् २०१३–१४ सिजनमा लिभरपुलका लागि कीर्तिमानी ३१ गोल गर्दा पनि बलोन डी’ओरको ३० सदस्यीय अन्तिम सूचीमा समेत पर्न सकेनन् । सन् २०१४ को विश्वकपमा इटालीका जर्जियो चिलिनीलाई टोकेको आरोपमा लागेको चार महिनाको प्रतिबन्धले गर्दा उनी मनोनयमा नपरेका हुन् ।
बार्सिलोना गएको अर्को वर्ष उनले ५९ गोल गर्दै आफूलाई विश्वकै सबैभन्दा खतरनाक सेन्टर–फरवार्डको सूचीमा उभ्याएका थिए । तर, उनले आफूलाई कहिल्यै यो अवार्डको हकदार भने बनाउन सकेनन् ।
००
५. रोबर्ट लेवान्डोवस्की

पोल्यान्डका प्रभावशाली स्ट्राइकर हुन्, रोबर्ट लेवान्डोस्की । उनी अहिले पनि खेलजीवनमा सक्रिय छन् । उनी हाल स्पेनिस ‘पावर हाउस’ बार्सिलोनाबाट व्यावसायिक फूटबल खेल्छन् । त्यसअघि उनले जर्मन क्लब बायर्न म्युनिखमा लामो समय बिताएका थिए ।
खासमा उनको नामसँग हालसम्म दुईवटा बालोन डी’ओर अवार्ड जोडिनु पर्ने थियो । तर, उनले हालसम्म यो सौभाग्य पाउन सकेका छैनन् । उनी सन् २०२० मा अवार्डको प्रमुख दाबेदार थिए । त्यो सिजन उनले बायर्न म्युनिखका लागि ५५ गोल गरेका थिए ।
उनले क्लबलाई च्याम्पियन्स लिग, बुन्डेस लिगा, डीएफबी–पोकललगायतका महत्वपूर्ण उपाधि पनि चुमाएका थिए । तर, उनको दूर्भाग्य । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण त्यो वर्ष अवार्ड नै रद्द गरियो ।
त्यसलगत्तै, सन् २०२१ मा पनि उनी अवार्डका प्रमुख दाबेदार थिए । त्यो सिजन उनले मेस्सीभन्दा २४ गोल बढी गरेका थिए । त्यो सिजन मेस्सीले ३८ र लेवान्डोवस्कीले ६२ गोल गरेका थिए । यति हुँदा पनि अवार्डको भोटिङमा उनी मेस्सीभन्दा पछि परे ।
त्यसैले उनी बालोन डी’ओर अवार्डमा अभागी खेलाडी पनि हुन् । उनी पोल्यान्डका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । लेवान्डोवस्कीले पोल्यान्डका लागि एक सय ५८ खेल खेल्दै ८५ गोल गरेका छन् ।
००
४. नेमार जुनियर

चर्चित ब्राजिलियन खेलाडी नेमार जुनियर पनि बालोन डी’ओर अवार्ड नजित्ने उत्कृष्ट फूटबलरको सूचीमा पर्छन् । नेमारमा गजबको खेल क्षमता थियो । सक्रिय खेलजीवनको उत्कर्षमा रहँदा उनी सहजै विपक्षीहरूलाई छक्क्यार बल अगाडि बढाउन खप्पिस थिए ।
उनले स्पेनिस क्लब बार्सिलोना र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनबाट लामो समय व्यावसायिक फूटबल खेले । उनले बार्सिलोनाका लागि एक सय ८६ खेल खेल्दै एक सय ८१ गोल गरे ।
बार्सिलोनालाई आठवटा महत्त्वपूर्ण ट्रफी चुमाउन पनि उनको भूमिका महत्वपूर्ण रह्यो । यसका अतिरिक्त पीएसजीमा पनि उनले अब्बल प्रदर्शन गरेका थिए । तर, नेमारले बालोन डी’ओर अवार्ड भने आफ्नो पोल्टामा पार्न सकेनन् ।
उनी सन् २०१५ र सन् २०१७ मा बलोन डी’ओर अवार्डमा तेस्रो तेस्रो स्थानमा रहेका थिए । सन् २०१५ मा मेस्सी र सन् २०१७ मा रोनाल्डोले यो अवार्ड जितेका थिए । सन् २०१७ मा उनी विश्व कीर्तिमानी २२ करोड २० लाख युरोमा पीएसजीमा आबद्ध भएका थिए ।
पीएसजी पुगेपछि उनी यो अवार्डको हकदार बन्न सकेनन् । यसको प्रमुख कारण थियो, पटक–पटक चोटको समस्याबाट पीडित हुन् । घाइते समस्याले उनको खेलजीवनलाई निकै ठूलो प्रभाव पारेको थियो । उनी सर्वकालीन महान फूटबलर पेलेलाई पछि पार्दै ब्राजिलका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि बनेका छन् ।
००
३. वेन रुनी

इङ्ल्यान्डका चर्चित फूटबलर वेन रुनीले पनि आफ्नो सक्रिय खेलजीवनमा कहिल्यै बालोन डी’ओर अवार्ड जित्न सकेनन् । उनले आफ्नो व्यावसायिक खेलजीवनको निकै लामो समय म्यानचेस्टर युनाइटेडमा बिताएका थिए ।
सन् २०१७ को एक अध्ययनमा त रुनीलाई ‘सबैभन्दा कम मूल्याङ्कन गरिएका फूटबर’ भनेर उल्लेख गरिएको थियो । केवल १६ वर्षको उमेरमा एभर्टनबाट उदाएका रुनीले म्यानचेस्टर युनाइटेडका लागि दुई सय ५३ गोल गरेका थिए ।
उनी त्यतिबेला क्लबको कीर्तिमानी गोलकर्ता पनि बनेका थिए । उनले आफ्नो क्लबलाई पाँचपटक प्रिमियर लिगका अतिरिक्त च्याम्पियन्स लिग, एफए कप र युरोपा लिगको उपाधिसमेत जिताएका थिए ।
यति हुँदाहुँदै पनि सन् २०११ मा उनी बलोन डी’ओर अवार्डको भोटिङमा पाँचौं स्थानमा खुम्चिन पुगेका थिए । आफ्नो अद्वितीय खेल कला र सफलताप्रतिको भोकका कारण उनलाई अहिलेसम्म पनि इङ्ल्यान्डले उत्पादन गरेको सबैभन्दा उत्कृष्ट खेलाडी भनिन्छ ।
००
२. थियरी हेनरी

चर्चित फ्रान्सेली खेलाडी थियरी हेनरीले विश्वका चर्चित क्लबहरूबाट व्यावसायिक फूटबल खेलेका थिए । उनले आफ्नो सक्रिय खेलजीवनमा फ्रान्सेली क्लब मोनाको, इटालियन क्लब युभेन्ट्स, इङ्लिस प्रिमियर लिग क्लब आर्सनल र स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका थिए ।
प्रभावशाली फरवार्ड हेनरी सन् १९९९ मा युभेन्ट्सबाट एक करोड १० लाख पाउन्डमा आर्सनलमा आबद्ध भएका थिए । प्रिमियर लिगको इतिहासमा महान खेलाडीहरूको सूचीमा एलन सियररदेखि एरिक कन्टोना, वेन रुनी, क्रिस्टियानो रोनाल्डो, केभिन डे ब्रुएना र मोहम्मद सलाहसम्मको नाम आउँछ ।
तर, यी महान खेलाडीभन्दा पनि माथि आउने नाम हो, थियरी हेनरी । उनले आर्सनलका लागि दुई सय २६ गोल गरेका थिए । आर्सनल बसाइका क्रममा उनले कीर्तिमानी रूपमा चारपटक प्रिमियर लिग गोल्डेन बुट अवार्ड पनि जिते ।
हेनरी लगातार चार सिजन यूईएफएको सर्वोत्कृष्ट टोलीभित्र पनि परे । सन् २००२–०३ सिजनमा उनले अर्को कीर्तिमान पनि बनाए । त्यो सिजन उनी आफैँले ३२ गोल गरेका थिए भने २० गोलका लागि पास पनि उपलब्ध गराएका थिए ।
तर, उनले आफ्नो सक्रिय खेलजीवनमा कहिल्यै बालोन डी’ओर अवार्ड जित्न सकेनन् । सन् २००३ को बालोन डी’ओर अवार्डमा उनी दोस्रो भएका थिए । त्यो सिजनको अवार्ड पावेल नेदभेदले जितेका थिए । उनले फ्रान्सेली राष्ट्रिय टोलीको तर्फबाट पनि विश्वकप र युरोपेली च्याम्पियनसिपको उपाधि जितेका थिए । उनले बार्सिलोनाबाट पनि च्याम्पियन्स लिगको उपाधि चुमेका थिए ।
००
१. आन्द्रेस इनिएस्टा

आफ्नो समयका चर्चित स्पेनिस खेलाडी हुन्, आन्द्रेस इनिएस्टा । स्पेनिस टोलीकै अर्का स्टार खेलाडी डेभिड सिल्भाले सन् २०१२ मा एक प्रसंगमा इनिएस्टाको बारेमा चर्चा गर्दै उनलाई लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोभन्दा पनि उत्कृष्ट खेलाडीको संज्ञा दिएका थिए ।
इनिएस्टा उत्कृष्ट मिडफिल्डर थिए । खेलका क्रममा उनको संयमता र बलमाथिको नियन्त्रण बेजोडको थियो । उनले आफ्नो व्यावसायिक खेलजीवनको अधिकांश समय स्पेनिस क्लब बार्सिलोनामा बिताएका थिए । बार्सिलोनाको थुप्रै सफलतामा उनको योगदान महत्वपूर्ण थियो ।
बार्सिलोनालाई सन् २००८–०९ सिजनको च्याम्पियन्स लिग जिताउन इनिएस्टाको भूमिका विशेष थियो । खासगरी चेल्सीविरुद्धको सेमिफाइनलमा उनले गजबको प्रदर्शन गरेका थिए ।
स्पेनलाई सन् २०१० को विश्वकप जिताउन पनि उनको भूमिका महत्त्वपूर्ण थियो । विश्वकपको नेदरल्यान्ड्सविरुद्धको फाइनलमा इनिएस्टाले नै निर्णायक गोल गरेका थिए । सन् २०१० मा उनलाई बालोन डी’ओर अवार्डको बलियो दाबेदारका रूपमा हेरिएको थियो । तर, उनी अन्तिम समयमा आएर मेस्सीसँग पछि परेका थिए ।
स्पेनले युरोकप जितेपछि पनि उनी बालोन डी’ओर अवार्डको बलियो हकदार बनेका थिए । तर, सन् २०१२ मा पनि उनलाई मेस्सीले नै पछि पारेका थिए । त्यो वर्ष मेस्सी पहिलो, रोनाल्डो दोस्रो र इनिएस्टा तेस्रो भएका थिए ।
महान खेलाडी भएर पनि इनिएस्टाले अवार्ड जित्न नसकेपछि अवार्डको आयोजकले त उनीसँग माफी नै मागेको थियो । सन् २०१८ मा फ्रान्स फूटबले एक प्रसंगमा भनेको थियो, ‘इनिएस्टाको नाम विजेताहरूको सूचीमा नहुनु प्रजातान्त्रिक विसङ्गति हो । यसका लागि हामी इनिएस्टासँग माफी माग्न चाहन्छौँ ।’