
कार वासिङ सेन्टरको पार्किङबाट ७ थान पेस्तोल र ३३ राउण्ड गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका– ५ लोलाङ बस्ने हीराबहादुर मगर छन् ।
काठमाडौं महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट ७ थान पेस्तोल, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड र ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका सामान बरामद भएको हो ।
हीराबहादुरले पार्किङ गरी राखेको बागमती प्रदेश ०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहतियार रहेको भन्ने सूचनाका आधारमा प्रहरी पुगेर खानतलासी गर्दा हतियार फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले बताए ।
उनका अनुसार ट्याक्सी तलासी गर्दा हतियार र गोली भेटिएको हो ।