
७४ जनाको ज्यान जाने गरी भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बाछिटा अझै बाँकी छन् । त्यो दिन कसरी आन्दोलन भड्कियो र विध्वशं मच्चियो भन्नेबारे अहिले पनि खोज–अनुसन्धान भइरहेका छन् ।
प्रदर्शनकारीको तारोमा रहेका सरकारका मन्त्री र नेताहरूलाई जोगाउन सुरक्षाकर्मीलाई हम्मे–हम्मे परेको थियो । प्रदर्शनकारीभित्र प्रवेश गर्न थालेपछि छोटो सूचना दिएर सेनाले मन्त्रीहरूको उद्धार गरेको थियो ।
चारैतिरबाट आन्दोलन शुरू भएपछि मन्त्री क्वार्टरमा एक प्रकारको अत्यास र सन्नाटा छाएको भुक्तभोगीहरूले जनाएका छन् । प्रदर्शनकारीले घेरेपछि मन्त्री क्वार्टरभित्र कोलाहल मच्चिएको त्यस दिनको घटना देखेका प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
सेनाले उद्धार गर्नुअघि मन्त्री क्वार्टरमा जे भयो...
भदौ २३ गते संसद् भवन नयाँ बानेश्वरअगाडि १९ जनाको मृत्यु हुने गरी भएको घटनापछि भदौ २४ गते बिहानैदेखि राजधानी काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन शुरू हुन थालेको थियो ।
जेनजीको प्रदर्शनमा १९ जनाको मृत्युपछि भोलिपल्ट आन्दोलन चर्किन सक्ने अनुमान सुरक्षा निकायले गरेका थिए । गृहमन्त्री रमेश लेखकको राजीनामापछि आन्दोलन मत्थर हुने राजनीतिक नेतृत्वको बुझाइ थियो । तर, परिस्थिति उल्टो बन्यो ।
बिहान साढे ९ बजेको समयमा ललितपुरको भैँसेपाटीस्थित मन्त्री निवासबाहिर पनि प्रदर्शन शुरू हुन थाल्यो । चक्रपथस्थित एकान्तकुनाबाट झण्डै ३ किलोमिटरको दूरीमा रहेको मन्त्री क्वार्टर जलाउनुअघि भैँसेपाटीमा रहेको प्रहरी बिटमा पनि आक्रमण भएको थियो ।
झण्डै साढे ३ सयदेखि ४ सयको संख्यामा प्रदर्शनकारी भेला भएर मन्त्री क्वार्टर बाहिर नाराबाजी गर्न थाले । मन्त्री क्वार्टरको दक्षिणपट्टि रहेको चोकमा टायर बालेर प्रदर्शनकारीले उत्तेजक नारा लगाइरहेका थिए ।
जेनजी आन्दोलनमा गोली चलेर १९ जनाको मृत्यु भएपछि गृहमन्त्रीबाट राजीनामा गरेका रमेश लेखक क्वार्टर छाडेर काठमाडौंको नैकापमा रहेको निजी निवासमा सर्ने तरखरमा थिए । गृहमन्त्रीको क्वार्टरमा सामान प्याक गर्ने काम चलिरहेको थियो ।
राजीनामा स्वीकृत भइनसकेका लेखक सुरक्षा प्रमुखहरूसँग छलफल र सम्पर्कमा थिए । प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति अशोक सिग्देलसँग छलफलपछि मन्त्रीहरूले क्वार्टर छाड्दा आगजनी हुँदैन भन्ने निष्कर्ष निकालियो ।
सेनाले मन्त्रीहरूलाई सामूहिक रूपमा उद्धार गर्ने भनेपछि...
सेनाले उद्धार गर्ने भनिएपछि मन्त्रीहरू गृहमन्त्रीको क्वार्टरमा जम्मा हुन थाले । केही मन्त्री ट्र्याकसुट र केही चप्पलमै आएका थिए । त्यसअघि नै कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी गृहमन्त्रीको निवासमा आएर बसेका थिए ।
प्रदर्शनकारीहरू पहिला प्रदेश प्रमुखहरूको कार्यालय रहेको ब्लकमा छिरेर तोडफोड र आगजनीमा उत्रेका थिए । मन्त्री क्वार्टरसँगै ७ प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखका लागि पनि भैँसेपाटीमा आवास बनाइएको छ ।
प्रदेश प्रमुखको आवासमा आक्रमणपछि प्रदर्शनकारीहरू पश्चिमतर्फबाट मन्त्री क्वार्टरमा छिरेका थिए । शुरूमा उनीहरूले वन तथा वातावरण राज्यमन्त्री रूपा विकको निवासमा तोडफोड शुरू गरेका थिए ।
‘बाहिरबाट क्वार्टरमा ढुंगा हान्न थालिएपछि सेनाले सुरक्षाका कारण अब तपाईंहरूलाई बाहिर लैजान्छौं भन्यो । त्यसपछि हामी तल ओर्लिएर एक ठाउँमा बस्यौं,’ तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले लोकान्तरसँग भनिन्, ‘दिउँसो साढे १२ बजेपछि सेनाको हेलिकप्टरले हामीलाई उद्धार गरेर भैरवनाथ गण पुर्यायो ।’
क्यार्टरमा ढुंगा हान्न थालेपछि परिवारका सदस्यहरू आत्तिएको र अन्य मन्त्रालयमा बालबच्चा तर्सिएको उनले बताइन् ।
शुरूमा ८० देखि १०० जना प्रदर्शनकारी मन्त्री क्वार्टरभित्र छिरेर तोडफोड शुरू गरेका थिए ।
‘हामीले क्वार्टर छाड्यौँ भने यी संरचना तोडफोड हुनबाट जोगिन्छन् भन्ने हाम्रो विश्वास थियो, संरचना सुरक्षित रहन्छन् भन्ने विश्वासमा महत्त्वपूर्ण सामानहरू पनि त्यहीँ छाड्यौं’ एकजना निवर्तमान मन्त्रीले लोकान्तरसँग भने ।
सेनाले उद्धार गर्ने भनिए पनि केही समय ढिला भयो । उद्धारको पर्खाइमा तत्कालीन मन्त्रीहरू पृथ्वीसुब्बा गुरुङ, शरतसिंह भण्डारी, बद्री पाण्डे, रामनाथ अधिकारी, ऐनबहादुर शाही, मानवीर राई, प्रदीप यादव, दामोदर भण्डारी, भगवती न्यौपाने तथा राज्यमन्त्रीद्वय रूपा बिक र खमबहादुर गर्वुजा थिए ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल बालुवाटार, प्रकाशमान सिंह आफ्नै निवास र आरजू देउवा बूढानीलकण्ठस्थित निवासमा थिए । स्वास्थ्य मन्त्री प्रदीप पौडेल भने बाहिर निस्किएका थिए ।
झण्डै साढे १२ बजेको समयमा सेनाको हेलिकप्टर आयो, तर मन्त्री क्वार्टरभित्रको सडकमा रहेका बत्तीका पोलका कारण बस्न सकेन । त्यसपछि सेनाले सडक बत्ती राखिएका पोल भाँचेर हेलिकप्टर बस्न मिल्ने ठाउँ बनायो ।
‘शुरूमा सेनाको हेलिकप्टर बस्न सकेन, त्यसपछि त्यहीँ रहेका सेनाका जवानले पोल उखेलेर हेलिकप्टर बस्ने ठाउँ बनाए,’ एक मन्त्रीले लोकान्तरसँग भने, ‘केहीबेर मात्र ढिलो हुँदा पनि उत्तेजित प्रदर्शनकारीले हेलिकप्टरमा ढुंगा हान्ने अवस्था आउन सक्थ्यो ।’
त्यसपछि मन्त्रीको उद्धारका लागि सेनाका ३ वटा हेलिकप्टर मन्त्री क्वार्टरमा बसे । गृहमन्त्रीको क्वार्टरमा रहेका मन्त्रीहरू हेलिकप्टर चढ्न गुरूरू एकसाथ अगाडि बढे । जो सक्यो त्यो पहिलो हेलिकप्टरमा बसे, बाँकी रहेका दोस्रो र तेस्रो हेलिकप्टरमा बसे ।
‘सबै मन्त्रीहरू हतास मानसिकतामा देखिन्थे, त्योभन्दा बढी मन्त्रीपत्नी र परिवारका सदस्यहरू भयभीत थिए,’ मन्त्री क्वार्टर जलेको दिन भैँसेपाटीमा रहेका एक कर्मचारीले लोकान्तरसँग भने, ‘बच्चाहरू रोएका थिए, क्षणभरमा स्थिति कोलाहलपूर्ण बन्यो ।’
पहिलो हेलिकप्टरमा रमेश लेखकसहित मन्त्रीहरू चढे । हेलिकप्टरमा मन्त्री, मन्त्रीपत्नी र छोराछोरीलाई मात्र चढ्ने अनुमति थियो ।
‘बिहानसम्म हाम्रो सुरक्षामा रहेका सेना–प्रहरीले यहीँ सुरक्षित हुन्छ भनेकाले क्वार्टरमै थियौं’, तत्कालीन खेलकुद मन्त्री तेजुलाल चौधरीले लोकान्तरसँग भने, ‘तर, एकाएक परिस्थिति असामान्य बनेपछि क्वार्टर छाड्नुपर्ने स्थिति सिर्जना भयो । भर्खर १ वर्षको नातिनी साथमा रहेका कारण दौडेर हेलिकप्टर चढ्न पनि सकिएन, हामी अन्तिम हेलिकप्टरमा चढ्यौं ।’
निवर्तमान रक्षामन्त्री मानवीर राईले सुरक्षाकर्मीले मन्त्री क्वार्टरबाट बाहिरिनुपर्ने भयो भनेपछि आफूहरू हेलिकप्टरमा चढेर सुरक्षित स्थानमा गएको बताए ।
‘मन्त्री क्वार्टरमा आक्रमण गर्न थालेपछि सुरक्षा निकायले यहाँबाट बाहिरिनुपर्ने भयो भनेपछि क्वार्टर छाड्ने तयारी गर्यौं,’ राईले लोकान्तरसँग भने, ‘सेनाको गणमा म २ दिन मात्र बसें । मैले केही गल्ती गरेको छैन, कोही शत्रु छैन भनेर त्यसै दिन निस्कन खोजेको थिएँ, तर सुरक्षाले रोकेका कारण पाइनँ ।’
११ मिनेटको अवधिमा भैँसेपाटीबाट सबै मन्त्रीहरूलाई उद्धार गरेर महाराजगञ्जस्थित नेपाली सेनाको भैरवनाथ गणमा पुर्याइएको थियो । पहिलो हेलिकप्टर १२ बजेर ५० मिनेटमा उडेको थियो भने तेस्रो हेलिकप्टर १ बजेर २ मिनेटमा उडेको थियो ।
मन्त्रीहरू बाहिरिएपछि प्रदर्शनकारीले मन्त्री क्वार्टरभित्र पसेर तोडफोड र आगजनी शुरू गरेका थिए ।
किन भएन रमेश लेखककी आमाको उद्धार ?
आमालाई छाडेर भागेको भन्दै निवर्तमान गृहमन्त्री लेखकको आलोचना भयो । भैँसेपाटीस्थित मन्त्री क्वार्टरमा खटिएको सुरक्षा स्रोतका अनुसार अक्सिजन लिइराख्नुपर्ने भएका कारण उनलाई हेलिकप्टरबाट उद्धार गर्न नसकिएको हो ।
रमेश लेखकसहित मन्त्रीहरूलाई सेनाले उद्धार गरिरहेको बेला उनकी आमा माथिल्लो तलामा थिइन् । ८४ वर्ष कटिसकेकी उनलाई नातिनी र घरमा काम गर्न राखिएकी कामदारले तल झारेका थिए ।
घरमा आगो लगाउन थालेपछि गृहमन्त्रीको सुरक्षा टोलीका एक सदस्यले उनलाई बोकेर बाहिर ल्याएका थिए । प्रदर्शनकारीले 'कसकी आमा हो ? को हो ?' भनेर सोधखोज गरेका थिए ।
बोकेर ल्याउने सादा पोसाकमा रहेका पीएसओले प्रदर्शनकारीलाई जवाफ फर्काए, ‘कसको आमा भनेर मैले सोधिनँ, यस्तो अवस्थामा देखेपछि बोकेर तल झारेको हुँ ।’
त्यसपछि उनलाई एम्बुलेन्समा राखेर नजिकै रहेको मेडिसिटी अस्पताल पुर्याइएको थियो ।
सुरक्षा स्रोतका अनुसार लेखककी आमा अल्जाइमर रोगका कारण बोल्न सक्दिनन् । भदौ २५ गते अस्पतालबाट डिस्चार्ज भएर उनी आफ्नी छोरीकोमा बस्न गएको स्रोतले बतायो ।
मन्त्रीक्वार्टर जलाइएको दिन दुईजना प्रदेश प्रमुखहरू सरकारी निवासमा थिए । बागमती प्रदेशका प्रमुख दीपकप्रकाश देवकोटा र कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी क्वार्टरमा थिए ।
जोशी बिहानै गृहमन्त्रीको क्वार्टरमा पुगेर बसेका थिए । बागमती प्रदेश प्रमुखको कार्यालयमा आगजनी भएपछि देवकोटा मधेश प्रदेश प्रमुखको क्वार्टरमा पुगे । त्यहाँ पनि आगजनी भएपछि प्रमुखका पीएले बोकेर बाहिर ल्याएका थिए ।
प्रदर्शनकारीहरूले प्रदेश प्रमुखलाई नचिनेर मन्त्री भनिरहेका थिए । देवकोटालाई त्यहाँ पीएसओले बोकेर बाहिर ल्याएका थिए । ‘पीएसओले जलेको कपडाले शरीर ढाकेर बाहिर निकाल्न सफल भए । पीएसओको चत्युर्याइँले आक्रमण हुनबाट जोखियो,’ सुरक्षा स्रोतले भन्यो ।
भैँसेपाटीमा रक्षामन्त्री बसेको क्वार्टर र सेना/प्रहरी बस्दै आएको भवन भने प्रदर्शनकारीले आक्रमण गरेनन् । एकवर्ष अघि मात्र सञ्चालनमा आएका मन्त्री क्वार्टरका अधिकांश संरचना तोडफोड र आगजनी भएका छन् ।
क्वार्टरबाट मन्त्रीहरूलाई रेस्क्यु गर्दै नेपाली सेना:
तेस्रो दिन मोबाइल सेनाले लियो, ल्यान्डलाइनमा फोन गरेर समाचार थाहा पायौं– भगवती न्यौपाने (उनकै शब्दमा)
करिब ९ बजेतिर मन्त्री क्वार्टरबाहिर नारा लगाएको सुनियो । त्योभन्दा पहिला पनि हल्ला सुनिएको थियो– जुलुस लगाएर प्रदर्शनकारी आउँदैछन् भन्ने । तर, त्यस्तो हुन्छ भन्ने कल्पना गरिएको थिएन । हामीले खाना खाइसकेका थियौं । जब जुलुस आयो । बाहिरबाट तोडफोड शुरू भयो । क्वार्टरमा ढुंगा बर्सिन थाल्यो ।
मन्त्री क्वार्टरको घरमा लाग्यो । प्रदर्शनकारीहरू भित्र पस्ने जमर्को गरिराखेका थिए । तपाईंहरूलाई लिन भनेर हेलिकप्टर आउँदैछ, निस्किनुपर्यो भनेर सुरक्षाकर्मीले भने ।
बाहिरको मास उत्तेजित थियो । त्यो बेला अरू कुरा सोच्न सक्ने अवस्था भएन । जे कपडा लगाइएको थियो, त्यसैमा निस्कियौं । केही सामान ल्याउने स्थिति थिएन, हेलिकप्टरमा लैजाने परिस्थिति थिएन, जे जति थिए, त्यहीँ छाड्यौं ।
केटाकेटी रुने/कराउने गरेपछि सानो बच्चा भएकालाई प्रायोरिटी दिएर हेलिकप्टरमा पठायौं । हामी अन्तिम हेलिकप्टरमा चढ्यौं । सेनाको हेलिकप्टरमा राखेर हामीलाई भैरवनाथ गणमा लगियो । ५ दिनको दिन हामी त्यहाँबाट फर्किएको हो ।
गएको दिन र दोस्रो दिनमा मोबाइल हाम्रो साथमा थियो । तेस्रो दिन स्वीच अफ गर्नुस् र मोबाइल हामीलाई दिनुस् भनेर भनियो । किन ? भनेर सोधेको, तपाईंहरूकै सुरक्षाका लागि हो भन्ने कुरा भयो । मोबाइल दियौं ।
मोबाइल नभएपछि बाहिरको समाचारबाट वञ्चित भयौं । बिहान र बेलुका परिवारका सदस्यलाई फोन गर्नका लागि ल्यान्डलाइन फोन उपलब्ध थियो । हामीले सम्पर्क गर्दा परिवारका सदस्यले यस्तो छ भनेर बताउनुहुन्थ्यो । उहाँहरूले न्युज हेरेर भनेका कुराबाट हामी अपडेट भयौं ।
शुरूमा संसद् विघटन नगरी संसद्ले नै सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने लगभग सहमति भएको छ भन्ने कुरा सुनेका थियौं । पछि संसद् विघटन नै सर्तको रूपमा राखियो भन्ने कुरा थाहा पायौं ।
हामीहरूलाई ब्यारेकभित्रको छुट्टा–छुट्टै भवनमा राखिएको थियो । पहिलो र दोस्रो दिन सामूहिक भेटको अवसर भएन । हामीलाई ढोका नखोल्नुस्, पर्दा पनि नखोल्नुस् भनिएको थियो ।
बाहिर जाने त होइन, तर ढोका नखोल्दा हावाको समस्या हुन्छ भन्दा उताबाट तपाईंहरूकै सुरक्षाका लागि भनेको हो भन्ने जवाफ आयो । ‘ड्रोनले खिच्न सक्ने हुन्छ पर्दा खोल्दा, त्यसैले नखोल्नू’ भन्नुभएको थियो ।
मोबाइल लिइसकेपछि हामीले भन्यौं– हामीसँग मोबाइल छैन, केही कुरा बाहिर कन्भे गर्न सक्ने स्थिति छैन । हामी एकआपसमा बसेर कुराकानी गर्न पाएनौं भने के गरेर बस्ने ? भनिसकेपछि सबैलाई एकै ठाउँमा बस्न दिइयो ।
म बसेको भवनमा वन राज्यमन्त्री रूपा बिक, पर्यटन मन्त्री बद्री पाण्डे, कृषि मन्त्री रामनाथ अधिकारी, उद्योग मन्त्री दामोदर भण्डारी थियौं । यो परिस्थिति कसरी आयो भनेर हामीले छलफल गर्यौं ।
आन्दोलनमा घुसपैठ हुन्छ भन्ने कुरा त आइरहेको थियो । राप्रपा र दुर्गा प्रसाईंले गरेको आन्दोलनमा पनि त्यो देखिएको थियो । तर, त्यही खालको घटना हुन्छ भन्ने कसैले थाहा नपाएको बुझिन्थ्यो ।
घुसपैठ हुन्छ भन्ने कुरा पूर्वानुमान गर्न सक्नुपर्थ्यो । सुरक्षा निकायबाट जे रिपोर्ट भयो, त्यही नै होला भन्ने विश्वास गर्नु सरकारको तर्फबाट कमजोरी भयो भन्ने हामीहरूको मूल्यांकन भयो ।
म मन्त्री बनेको २ महिना पनि भएको थिएन । ६ महिनामा प्रशासनिक क्षेत्रमा धेरै सुधारका काम भयो भनेर नेपाली जनताले देख्ने गरी काम गर्ने योजनामा थिएँ, त्यो अधुरै रह्यो ।
(निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री न्यौपानेसँगको कुराकानी)
‘१ वर्षको नातिनीसँग पहिलो हेलिकप्टर चढ्न सकिनँ, ब्यारेकमा सेनाको मेसमा खायौं’: तेजुलाल चौधरी (उनकै शब्दमा)
२४ गते बिहान प्रहरी प्रशासन र सेनासँग सम्पर्क गर्दा यहाँ केही हुँदैन, यत्रो आर्मी छ, तपाईंहरू सुरक्षित हुनुहुन्छ भन्ने कुरा भयो । यस्तो हुन्छ भन्ने थाहा पाएको भए हामी समयमै सुरक्षित स्थानमा गएका हुन्थ्यौं । हामीलाई विश्वास थियो– शान्ति सुरक्षा त्यहीँ राम्रो हुन्छ । सुरक्षाकर्मीले भरोसा नदिएको भए, बच्चाबच्ची र परिवार त्यहाँ बस्दैनथे होला ।
सानो नातिनी रहेका कारण म सबैभन्दा लास्टको हेलिकप्टरमा गएको हो । मेरो नातिनी भदौमा १ वर्ष पूरा भएकी हुन् । हामीसँगै बस्थिन् । उद्धार गरेर हामीसँगै सेनाको ब्यारेकमा लगियो । बच्चा र परिवारका सदस्य भोलिपल्ट बाहिरिनुभयो ।
हामी शनिबार (२८ गते) बाहिर निस्कियौं । शुरूको दिन मोबाइल बन्द भएन । तेस्रो दिन सुरक्षाका लागि भन्दै सेनाले मोबाइल लिइयो, एक दिनका लागि ।
सेनाको ब्यारेकमा सबै मन्त्रीलाई छुट्टा–छुट्टै कोठा थियो, एउटा भवनमा रहेकाले गफ गर्न पायौं । मोबाइल नभएपछि हामीहरू गफ गरेर बस्यौं ।
म बसेको बिल्डिङमा वनमन्त्री ऐनबहादुर शाही, उर्जा राज्यमन्त्री खमबहादुर गर्बुजा, खानेपानी मन्त्री प्रदीप यादव र श्रम मन्त्री शरतसिंह भण्डारी पनि हुनुहुन्थ्यो । हामीहरूले सेनाकै मेसमा खाना खायौं । खाना राम्रो थियो । सेनाबाट व्यवहार पनि राम्रो भयो ।
क्वार्टर छाड्ने बेला लगाएको पाइन्ट सर्टबाहेक अरू केही लिन पाइनँ । क्वार्टरमा भएका सामान सबै जले । १२/१४ महिनादेखि मन्त्री भएकाले भएका लुगाफाटा, गरगहना सबै क्वार्टरमा थिए, जलेर सकिए ।
मेरो मिसेस चढ्ने नयाँ गाडी र छोरी ज्वाइँको गाडी पनि जल्यो । ज्वाइँसाब सशस्त्र प्रहरीमा हुनुहुन्छ । सुरक्षाका कारण त्यो दिन उहाँ गाडी नलिई जानुभएको थियो । हाम्रा २ निजी गाडी र मन्त्री चढ्ने सरकारी गाडी जलेर नष्ट भए ।
ब्यारेकमा हामीलाई संविधान मासिन्छ कि भन्ने चिन्ता थियो । राष्ट्रपतिकी छोरी र सहयोगीहरूसँग कुरा भइरहेको थियो । २४ गते त संविधान नै जान्छ कि भन्ने लाग्यो । राष्ट्रपति रामचन्द्र पौडेलको अडानले संविधान बच्यो । (निवर्तमान खेलकुद मन्त्री तेजुलाल चौधरीसँगको कुराकानी)
सेनाको हेलिकप्टर बस्न नसकेपछि... (एक कर्मचारीको अनुभव)
साढे ९ देखि १० बजेको बीचमा प्रदर्शनकारी मन्त्री क्वार्टरको वरिपरि जम्मा भएर नाराजुलुस गर्न थालेका थिए । केही समयमा प्रदर्शनकारीको संख्या बढ्न थाल्यो । मेरो विचारमा त्यहाँ साढे ३ सयदेखि ४ सयको हाराहारीमा प्रदर्शनकारी थिए ।
त्यो भीडलाई नियन्त्रण गर्न सकिने अवस्था थियो, किनभने मन्त्री क्वार्टरभित्र लगभग १ सय जना सुरक्षाकर्मी थिए । सयभन्दा बढी नै होलान् । प्रत्येक निवासमा ५ जना सेना थिए, बाहिरबाट पनि आएका थिए ।
साढे ९ बजेपछि नारा जुलुस गर्न थाले । त्यसपछि स्थिति तनावग्रस्त नै हुन थाल्यो । नाराजुलुस बढ्दै गएपछि सेक्युरिटी (पुलिस)ले हामीलाई गोली नहान्नु भन्ने आदेश छ भन्यो ।
सशस्त्र र सेनाले पनि केही नगर्ने जस्तो देखियो । अन्तिममा प्रदर्शनकारी भित्र पस्न सक्छन्, पसिसकेपछि अप्रिय स्थिति आउनुभन्दा यहाँ रहेका मन्त्रीलाई बाहिर लगेपछि यो संरचना जोगिन्छ कि भन्ने सल्लाह भयो ।
हामीले बुझेसम्म मन्त्रीहरूको तर्फबाट सेनापतिसँग कुरा भयो । त्यसपछि राजीनामा गरेका गृहमन्त्री रमेश लेखकको क्वार्टरमा मन्त्रीहरू भेला भए । त्यति बेलासम्म प्रदेश प्रमुखहरूको कार्यालयमा तोडफोड शुरू भएको थियो ।
सेनाले त्यही सल्लाह दियो– त्यहाँ सुरक्षा दिन सक्दैनौं, बरु उद्धार गर्छौं । सेनापतिसँग कुरा भएको केहीबेरमा सेनाका ३ वटा हेलिकप्टर आए । मन्त्री क्वार्टरभित्र रहेका सडक लाइटका पोलले गर्दा हेलिकप्टर बस्न सकेन । त्यसपछि सेनाले केही पोल हटाएर बस्ने ठाउँ बनाएपछि हेलिकप्टर बसे । उद्धार गर्ने बेला पनि मन्त्रीहरूलाई प्रदर्शनकारीले ढुंगा हानिरहेका थिए ।
जस–जसले सीट पाए पहिलो हेलिकप्टर चढे । नअटेका दोस्रो र बाँकी मन्त्रीहरू तेस्रो हेलिकप्टरमा गए । मन्त्रीहरू हेलिकप्टर चढ्न लाग्दा बाहिरबाट ढुंगा हानिरहेको देखिन्थ्यो ।
प्रदर्शनकारी शुरूमा पश्चिमतिरबाट आएर वन राज्यमन्त्रीको निवासमा आक्रमण र आगजनी शुरू गरेका थिए ।
त्यसको केहीबेरमा झण्डै १ सयको संख्यामा प्रदर्शनकारी मुख्य गेटबाट प्रवेश गरे । शुरूमा परराष्ट्र मन्त्रीको क्वार्टरनजिकै बन्दै गरेको स्वीमिङ पुलनेर उभिएर नारा जुलुस गरे ।
पार्किङमा मन्त्रीका गाडी थिए । प्रदर्शनकारीले तोडफोड र आगजनी गरे । त्यसपछि प्रदर्शनकारीले गृहमन्त्री बस्ने क्वार्टरमा तोडफोड गर्न थाले । भित्रबाट सामान निकालेपछि आगजनी गरौं भन्न थाले । त्यसपछि मन्त्रीका पीए र क्वार्टरमा काम गर्ने कर्मचारी तथा कामदारहरू त्यहाँबाट बाहिरिन थाले । हामीलाई पनि हान्न खोज्दै थिए, जसोतसो सुरक्षित ढंगले बाहिरियौं ।
सुरक्षा निकायले रोक्न खोजेको भए मन्त्री क्वार्टर जोगाउन सकिन्थ्यो । किनभने त्यहाँ प्रदर्शनकारी धेरै थिएनन्, हेर्दाहेर्दै मन्त्री क्वार्टरबाट धुवाँको मुस्लो निस्किन थाल्यो ।
(भदौ २४ गते मन्त्री क्वार्टरमा आक्रमण हुँदा प्रत्यक्ष देखेका एक अधिकारीसँगको कुराकानी)