०१ साउन २०८३, शुक्रबार

ट्रम्पसँग वार्ता गर्ने मदुरोको प्रस्ताव ह्वाइट हाउसद्वारा अस्वीकार

असोज ७, २०८२
काठमाडौं
ट्रम्पसँग वार्ता गर्ने मदुरोको प्रस्ताव ह्वाइट हाउसद्वारा अस्वीकार

भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न गरेको अनुरोध ह्वाइट हाउसले अस्वीकार गरेको छ । मदुरोले दुई कट्टर शत्रुबीच तनाव कम गर्न संवाद प्रस्ताव गरेका थिए । 

भेनेजुएलाका दुई प्रमुख विपक्षी नेताहरूले अमेरिकाको नौसैनिक तैनाथीलाई समर्थन गर्दै यसलाई लोकतन्त्र पुनःस्थापनाका लागि महत्त्वपूर्ण भनेका छन् । 

ट्रम्पले दक्षिणी क्यारिबियनमा लागुऔषध विरोधी कारबाहीका लागि आठ युद्धपोत र एउटा पनडुब्बी पठाएका छन् । भेनेजुएलाले यसलाई सम्भावित आक्रमणको सङ्केतका रूपमा लिएको छ ।

अमेरिकी सेनाले हालै तीनवटा सन्दिग्ध लागुऔषध डुङ्गा नष्ट गरेको छ, जसमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । 

भेनेजुएला सरकारले आइतबार मदुरोले ट्रम्पलाई पठाएको पत्र सार्वजनिक गरेको थियो । पत्रमा मदुरोले लागुऔषध कार्टेलसँग संलग्न भएको अमेरिकी आरोपलाई ‘पूर्णतया झुटो’ भन्दै अस्वीकार गरेका थिए र ट्रम्पलाई ‘शान्ति कायम राख्न’ आग्रह गरेका थिए ।

तर ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रमा ‘धेरै झुटहरू’ भएको बताइन् । उनले अमेरिकाको नीति परिवर्तन नभएको र मदुरो शासनलाई अझै ‘अवैध’ मानिएको स्पष्ट पारिन् । 

भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले अमेरिकामाथि ‘अघोषित युद्ध’ चलाएको आरोप लगाउँदै लागुऔषध डुङ्गामा सवारहरूलाई ‘रक्षाको अधिकार बिना मृत्युदण्ड दिइएको’ दाबी गरे । नगद सङ्कटमा परेको भेनेजुएलामा हजारौँ नागरिक मिलिसियामा सामेल भइरहेका छन् ।

केही भेनेजुएलालीहरूले भने अमेरिकी कदमको स्वागत गर्दै मदुरोको पतन छिटो हुने अपेक्षा राखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्