२८ असार २०८३, आइतबार

१६ वर्षीय बालकको हत्या अनुसन्धानका लागि ८ जना प्रहरी नियन्त्रणमा

असोज ७, २०८२
सिरहा
१६ वर्षीय बालकको हत्या अनुसन्धानका लागि ८ जना प्रहरी नियन्त्रणमा

सिरहाको गोलबजार नगरपालिका–१३ का १६ वर्षीय अभिषेक महतोको अपहरणपछि हत्या गरिएको घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या गरिएका व्यक्तिका आफन्त र छिमेकसहित ८ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । बालकको शव गाउँ नजिकै फेला परेकाले परिवार वा छिमेकी नै संलग्न हुनसक्ने आशंका गरिएको छ । 

‘हाल अनुसन्धान जारी रहेकाले नियन्त्रणमा लिइएका व्यक्तिहरूको नाम सार्वजनिक गरिएको छैन’, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक अनन्तराम शर्माले भने, ‘दोषीलाई चाँडै कानूनी दायरामा ल्याइनेछ । घटनाको थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट तालिम प्राप्त कुकुरसमेत मगाइएको छ ।’

उनका अनुसार सोमबार बिहान अभिषेक महतोको शव हातखुट्टा बाँधिएको अवस्थामा घरदेखि करिब एक सय मिटरपूर्व आँपको बगैँचामा फेला परेको थियो । 

परिवारका अनुसार अभिषेक आइतबार राति करिब ८ बजेबाट बेपत्ता भएका थिए । रातभरि खोजतलास गर्दा पनि फेला नपरेपछि सोमबार बिहान अभिषेकको मोबाइलबाट आमाको मोबाइलमा फिरौती मागिएको म्यासेज आएको थियो । त्यसपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो ।

शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।     
 

salt training

कमेन्ट गर्नुहोस्