०१ साउन २०८३, शुक्रबार
ट्रम्पको युटर्न

युक्रेनको पक्षमा ढल्किए ट्रम्प, रुसका विमान खसाल्नुपर्ने चेतावनी

असोज ८, २०८२
काठमाडौं
युक्रेनको पक्षमा ढल्किए ट्रम्प, रुसका विमान खसाल्नुपर्ने चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले रुससँगको युद्धमा गुमाएको भूभाग फिर्ता लिन सक्ने विश्वास व्यक्त गरेका छन् । साथै, उनले नाटो सदस्य मुलुकहरूले आफ्नो आकाशसीमा उल्लंघन गर्ने रुसका विमान खसाल्नुपर्ने चेतावनी दिएका छन् ।

रुस-युक्रेन युद्धमा उनी पछिल्लो समय युक्रेनको पक्षमा ढल्किएका हुन् । संयुक्त राष्ट्रसंघ महासभाको छेउछाउमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले यस्तो धारणा राखेका हुन् । 

उनको भनाइ अनुसार, युरोपेली संघ र नाटोको सहयोगमा युक्रेनले २०१४ पछि रुसले कब्जा गरेका भूभागसहित सम्पूर्ण भूभाग पुनः फिर्ता लिन सक्नेछ ।

यसअघि उनले शान्ति सम्झौता गर्न युक्रेनले केही भूभाग त्याग्नुपर्ने संकेत दिएका थिए । तर, पछिल्लो धारणा भने उनको रूसप्रति दृष्टिकोणमा ठूलो परिवर्तन भएको देखिएको छ ।

‘हो, म समर्थन गर्छु’, ट्रम्पले नाटोले रुसका विमान खसाल्न सक्नेबारेको प्रश्नमा भनेका थिए । ट्रुथ सोसलमा लेख्दै उनले थपे, ‘युरोपेली सहयोग र नाटोको वित्तीय समर्थनसहित समय र धैर्य देखाउन सके युक्रेनले आफ्नो मूल स्वरूपमा देश पुनः प्राप्त गर्नेछ, सायद त्योभन्दा बढी पनि ।’

जेलेन्स्कीले ट्रम्पको भनाइलाई ‘ठूलो मोड’ भन्दै स्वागत गरेका छन् । उनले पत्रकारलाई भने, ‘राष्ट्रपति ट्रम्पसँग मैले युद्धमैदानको वास्तविक अवस्थाबारे जानकारी गराएँ । उनले मसँग सहमति जनाए । यसलाई म ठूलो परिवर्तनको रूपमा लिन्छु ।’

तर, अमेरिकी परराष्ट्रमन्त्री मार्को रुबियो भने भिन्न धारणा राख्छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद्‌मा बोल्दै उनले भने, ‘यो युद्ध सैन्य रूपमा अन्त्य हुँदैन, अन्ततः वार्ताको टेबलमै टुंगिनेछ ।’

रुबियोले नाटोले रुसका विमान खसाल्ने सम्भावनाप्रति सतर्कता देखाउँदै भने, ‘रुसका विमान वा ड्रोन आकाशसीमा प्रवेश गर्दा तिनीहरूलाई अवरोध गर्ने हो, खसाल्ने होइन, जबसम्म प्रत्यक्ष आक्रमण हुँदैन ।’

पछिल्ला दिनमा पोल्यान्ड, एस्टोनिया र अन्य युरोपेली देशको आकाशसीमा रुसका विमान प्रवेश गरेपछि नाटो सदस्यहरूले प्रत्यक्ष रूपमा मास्कोसँग टकरावको जोखिम खेपिरहेका छन् । गत हप्तामात्रै तीनवटा रुसको एमआईजी-३१ लडाकु विमान एस्टोनियाको आकाशसीमा प्रवेश गरेका थिए भने पोल्यान्डमा पनि ड्रोन र विमान घुसपैठ भएको थियो । यसैबीच नर्वे र डेनमार्कका दुई व्यस्त विमानस्थल ड्रोन देखिएपछि केही घण्टा बन्द गर्नुपरेको थियो ।

नाटो महासचिव मार्क रुट्टेले रुसका विमान खसाल्ने निर्णय तत्काल नलिइने स्पष्ट पारेका छन् । 

यता, ट्रम्प भने कम सतर्क देखिए । उनले समय, परिस्थिति अनुसार विमान खसाल्न सकिने उल्लेख गर्दै भने, ‘हामी नाटोप्रति निकै दृढ छौं ।’ तर, अमेरिकाले प्रत्यक्ष रूपमा विमान खसाल्ने प्रक्रियामा सहभागी हुनेबारे उनले स्पष्ट जवाफ दिएनन् ।

युरोपेली नेताहरूले संयुक्त राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठकमा रुसप्रति कडा चेतावनी दिँदै आकाशसीमा उल्लंघन भए विमान वा ड्रोन खसाल्ने बताएका छन् ।

विश्लेषकहरूले ट्रम्पको पछिल्लो धारणा अमेरिकाको परराष्ट्र नीतिमा बदलिँदो प्राथमिकताको संकेत भएको बताएका छन् । यसले युक्रेनलाई थप मनोबल दिएको छ भने रुसमाथि कूटनीतिक दबाब पनि बढाएको छ । 

तर, रुबियोजस्ता वरिष्ठ नेताले भने वार्ताबाटै युद्ध अन्त्य हुने दाबी गर्दा ट्रम्पको कठोर धारणा अमेरिकी नीतिमा कति समय टिक्छ भन्ने प्रश्न उठेको छ ।

युद्ध दीर्घकालीन हुँदै गएर मानवीय संकट थप गहिरिँदै गर्दा ट्रम्पको बदलिँदो स्वर युरोपेली सुरक्षा र नाटोको भूमिकासम्म जोडिएको संवेदनशील विषय बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्