०२ साउन २०८३, शनिबार
बढ्दै तेल निर्यात

भटमासकै तेलले धानेको नेपालको निर्यात, अर्थतन्त्रमा कति फाइदा ?

असोज १०, २०८२
काठमाडौं
भटमासकै तेलले धानेको नेपालको निर्यात, अर्थतन्त्रमा कति फाइदा ?

करिब ८ वर्षअघि नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुको सूचीमा भटमास तेल ७८ औं स्थानमा थियो । नेपालबाट भटमासको तेलले कूल निर्यातको ०.१९ प्रतिशत हिस्सा ओगटेको थियो । तर, पछिल्लो समय नेपालबाट सबैभन्दा बढी निर्यात हुनेमा भटमास तेल पहिलो स्थानमा आएको छ । यसका साथै नेपालको कूल निर्यातको झन्डै ४० प्रतिशतभन्दा बढी हिस्सा केबल भटमास तेलकै पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले कूल ४७ अर्ब ३१ करोड ७६ लाख ६३ हजार रूपैयाँको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । साउन र भदौ महिनामा नेपालबाट भएको निर्यातमा २० अर्ब ४२ करोड २ लाख २८ हजार रूपैयाँको केवल भटमास तेल मात्रै निर्यात भएको देखिन्छ । अर्थात् कूल निर्यातमा भटमास तेलको हिस्सा मात्रै ४३.१५ प्रतिशत रहेको छ ।

आजभन्दा करिब ८ वर्षअघि आर्थिक वर्ष २०७४/७५ सम्म अवस्था निकै फरक थियो । यतिबेला नेपालको कूल निर्यातमा भटमास तेलको हिस्सा केबल ०.१९ प्रतिशत थियो । यस वर्ष नेपालले कूल ८१ अर्ब ३० करोड ६५ लाख ५३ हजार रूपैयाँको वस्तु निर्यात गर्दा केवल १६ करोड २० लाख ५२ हजार रूपैयाँको भटमास तेल निर्यात गरेको थियो । यसका साथै नेपालबाट निर्यात हुने वस्तुको लिस्टमा भटमास तेल ७८ औं नम्बरमा रहेको थियो ।

नेपालले आर्थिक वर्ष २०८१/८२ मा हालसम्मकै सबैभन्दा बढी अर्थात् कूल २ खर्ब ७७ अर्ब ३ करोड रूपैयाँ बराबरको वस्तु निर्यात गरी नयाँ कीर्तिमान कायम गर्‍यो । जसमा सबैभन्दा ठूलो भूमिका भटमास तेलले नै खेलेको देखिन्छ । एक वर्षमै नेपालबाट १ खर्ब ६ अर्ब ७९ करोड ८ लाख १९ हजार रूपैयाँ बराबरको भटमास तेल मात्रै निर्यात गरेको थियो । 

यसका साथै नेपालबाट एक वर्षमा १२ अर्ब ३२ करोड ६५ लाख ४४ हजार रूपैयाँ बराबरको सूर्यमुखी र ८२ करोड १८ लाख ३५ हजार रूपैयाँ बराबरको रिफाइन्ड पाम तेल पनि निर्यात गरेको देखिन्छ ।

यसरी हेर्दा नेपालको निर्यात बढ्नु निकै हाम्रो हो तर नेपालले सबैभन्दा बढी निर्यात गरेको आफ्नै मौलिक वस्तु होइन । यो केवल प्रशोधित तेलको हिस्सा मात्रै बढेको हो । अर्थात् कच्चा तेल आयात गरेर नेपालमा प्रशोधन गरेर पुन: भारतमा निर्यात मात्रै भइरहेको छ ।

नेपालले गरिरहेको तेलको निर्यात केवल तथ्यांक देखाएर रमाउने  बाहेक अर्थतन्त्रमा कुनै टेवा नपुर्‍याउने अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी बताउँछन् । बाहिरबाटै कच्चा तेल आयात गरेर पुन: बाहिरै पठाउने प्रवृत्तिले देशको अर्थतन्त्रमा कुनै फाइदा नपुर्‍याउने उनको भनाइ छ ।

‘न हाम्रो उत्पादन हो, न त हाम्रो सीप लागेको छ, न त्यसले रोजगारी सृजना गरेको छ । यसले हामीलाई कहीँ पुर्‍याउँदैन’, डा. अधिकारी भन्छन्, ‘हाम्रै स्रोतमा आधारित भएपछि मात्रै त्यो दीर्घकालीन हुन्छ । पछिल्लो समय देखिएको केवल तथ्यांकमा रमाउने जस्तै हो । त्यसले फाइदा कसैलाई हुँदैन ।’

नेपालकै मौलिक वस्तुमा नेपालकै स्रोत, साधन र सीपको प्रयोग गरी रोजगारी सृजना गरेमा मात्रै दीर्घकालीन हुने उनको भनाइ छ । भारतको एउटा नीतिले ठूलो हिस्सा ओगटिरहेको तेलको निर्यातलाई एकै पटकमा शून्यमा झार्नसक्ने उनको आकलन छ ।

‘अहिले भारतको नीतिले गर्दा नेपालबाट प्रशोधित तेल ठूलो मात्रामा निर्यात भइरहेको हो । कुनै दिन भारतको एउटा नीति मात्रै परिवर्तन भएपछि यो सबै बन्द हुन बेर लाग्दैन’, उनले भने, ‘श्रम बेचेर आर्जन गरेको पैसा वस्तु उत्पादनमा रूपान्तरण भएन । हामीले उत्पादनमा जोड दिनुपर्छ ।’

तथ्यांकले यस्तो देखाउँछ

नेपालले आर्थिक वर्ष २०८१/८२ मा कुल २ खर्ब ७७ अर्ब ३ करोड रूपैयाँ बराबरको वस्तु निर्यात गर्दा १ खर्ब ६ अर्ब ७९ करोड ८ लाख १९ हजार रूपैयाँ बराबरको भटमास तेल मात्रै निर्यात गरेको देखिन्छ । नेपालको कूल निर्यातमा भटमास तेलको हिस्सा मात्रै ३८.५४ प्रतिशत ओगटेको देख्न सकिन्छ ।

तर, आर्थिक वर्ष २०८०/८१ मा भटमास तेलको आयात निकै घटेको देखिन्छ । जहाँ नेपालले कूल ७ अर्ब ४० करोड २५ लाख रूपैयाँ बराबरको खाने तेल निर्यात गरेको थियो । जसमा ९० करोड १८ लाख ५ हजार रूपैयाँको भटमास तेलको हिस्सा देखिन्छ । नेपालको कूल निर्यात यस वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड रूपैयाँ बराबरको देखिन्छ ।

एक वर्ष अझै पछि जाँदा आर्थिक वर्ष २०७९/८० मा नेपालले खाने तेल निर्यात झनै बढी गरेको देखिन्छ । यस वर्षभरि नेपालले कूल १८ अर्ब ७० करोड ८० लाख  बराबरको तेल निर्यात गर्दा त्यसमा भटमास तेलको हिस्सा मात्रै ८ अर्ब ४७ करोड ५९ लाख ९२ हजार रूपैयाँको तेल निर्यात गरिएको थियो । जबकी नेपालले यस वर्ष कूल १ खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रूपैयाँको वस्तु निर्यात गरेको थियो । कूल निर्यातमा खाने तेलको हिस्सा ११.९० प्रतिशत देखिन्छ ।

त्यसअघि आव २०७८/७९ मा भने नेपालले २ खर्ब ३ करोड ९ लाख ६२ हजार रूपैयाँ बराबरको कूल वस्तु निर्यात गर्दा खाने तेल मात्रै ८९ अर्ब १८ करोड ५१ लाख ६० हजार रूपैयाँको गरेको थियो । नेपालबाट सबैभन्दा बढी भटमासको तेल मात्रै ४८ अर्ब १२ करोड ४ लाख ३१ हजार बराबरको निर्यात भएको थियो । कूल निर्यातमा भटमास तेलको हिस्सा मात्रै २४ प्रतिशत रहेको देखिन्छ ।

आर्थिक वर्ष २०७७/७८ मा नेपालले कूल १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रूपैयाँको वस्तु निर्यात गरेको थियो । उक्त निर्यातमा सबैभन्दा बढी भटमासको तेल मात्रै ५३ अर्ब ६५ करोड १५ लाख ९८ हजार बराबरका निर्यात गरेको देखिन्छ । जुन कूल निर्यातको ३८ प्रतिशतले हो । 

आर्थिक वर्ष २०७६/७७ सालमा नेपालले कूल ९७ अर्ब ७० करोड ९१ लाख ५ हजार रूपैयाँ बराबरको कूल निर्यात गर्दा ३१ अर्ब ९१ लाख बराबरको खाने तेल मात्रै निर्यात गरेको थियो । जसमा सबैभन्दा बढी पाम तेल १८ अर्ब ३१ करोड र भटमास तेल १२ अर्ब ६९ करोड ११ लाख बराबरको निर्यात भएको थियो । कूल निर्यातमा भटमास तेलको हिस्सा १२.९८ प्रतिशत थियो ।

आर्थिक वर्ष २०७५/७६ मा नेपालबाट २ अर्ब ३४ करोड ६३ लाख ७० हजार रूपैयाँ बराबरको भटमास तेल भारतमा निर्यात भएको थियो । जहाँ नेपालले कूल ९७ अर्ब १० करोड ९५ लाख २१ हजार रूपैयाँ बराबरको कूल वस्तु निर्यात गरेको थियो । यस वर्ष भटमास तेलको हिस्सा २.४१ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७४/७५ मा नेपालबाट कूल १६ करोड २० लाख ५२ हजार रूपैयाँ बराबरको भटमासको तेल निकासा भएको देखिन्छ । यस वर्ष नेपालले कूल ८१ अर्ब ३० करोड ६५ लाख ५३ हजार रूपैयाँको वस्तु निर्यात गरेको थियो । त्यतिबेला नेपालबाट निर्यात हुने वस्तुको लिस्टमा भटमास तेल ७८ औं नम्बरमा रहेको देखिन्छ । अर्थात् कूल निर्यातमा भटमास तेलको हिस्सा ०.१९ प्रतिशत मात्रै छ ।

salt training

कमेन्ट गर्नुहोस्