
जेनजी आन्दोलनमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका सवारीसाधनको कर्जा अनुपात ८० प्रतिशत कायम हुने भएको छ ।
शुक्रबार बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै ६० प्रतिशतसम्मको कर्जा अनुपातलाई ८० प्रतिशत पुर्याइएको हो ।
जेनजी आन्दोलनबाट प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा व्यावसायिक रूपमा प्रयोग भइरहेका सवारी तथा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्न कर्जा प्रदान गर्दा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिने राष्ट्र बैंकले जनाएको हो ।
यसका साथै प्रभावित उद्योगी व्यवसायीले २०८२ पुस मसान्तभित्र कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने भएका छन् ।
आन्दोलनका क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रत्यक्षरूपमा प्रभावित उद्योग, व्यापार, व्यवसाय, प्रतिष्ठान तथा अन्य ऋणीलाई प्रवाहित कर्जा ऋणीको अनुरोधमा प्रभावको एकिन कर्जाको पुनर्तालिकीकरण पुनर्संरचना गर्न सक्ने व्यवस्था गरिएको हो ।
कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गरिएका कर्जा २०८२ असार मसान्तमा जुन वर्गमा रहेको छ, सोही वर्गमा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने संशोधित निर्देशनमा उल्लेख छ । यस्तो कर्जामा बक्यौता ब्याज असुल नगरी पुनर्तालिकीकरण र पुनर्संरचना गर्न सक्ने निर्देशनमा भनिएको छ ।
राष्ट्र बैंकका अनुसार आन्दोलनबाट प्रत्यक्ष प्रभावित ऋणी संस्थासँग ‘फवार्ड र ब्याकवार्ड लिङकेज’ भएका ऋणीलाई प्रवाहित कर्जा सम्बन्धित बैंकले प्रभावको एकिन गरी ऋणीले बुझाउनुपर्ने ब्याजको न्यूनतम् ५ प्रतिशत रकम असुल उपर गरी पुनर्तालिकीकरण/पुनर्संरचना गर्न सक्नेछन् ।