डेनमार्कले आगामी युरोपेली सङ्घ (इयु) शिखर सम्मेलनका क्रममा सुरक्षा सुनिश्चित गर्न सोमबारदेखि शुक्रबारसम्म देशभरि सबै नागरिक ड्रोन उडानहरूमा प्रतिबन्ध लगाउने भएको छ । यातायात मन्त्रालयले आइतबार यसबारे जानकारी दिएको छ ।
गत सेप्टेम्बर २२ यता डेनमार्कभरि रहस्यमय ड्रोनहरू देखिएका कारण धेरै विमानस्थलहरू बन्द गर्नुपरेको थियो । डेनमार्कले यसमा सम्भावित रूसी संलग्नताको सङ्केत गरेको भए पनि मस्कोले आरोप अस्वीकार गरेको छ ।
कोपनहेगनमा बुधबार र बिहीबार हुने इयु शिखर सम्मेलनमा विभिन्न सदस्य मुलुकका सरकारी प्रमुखहरू सहभागी हुनेछन् । यसलाई लक्षित गर्दै थप सुरक्षा व्यवस्था मिलाइएको हो ।
यातायातमन्त्री थोमस डेनियलसेनले विज्ञप्तिमार्फत भने, “डेनमार्कले युरोपेली सङ्घका नेताहरूलाई आतिथ्य गर्नेछ, जहाँ हामीले सुरक्षामा अतिरिक्त ध्यान दिनेछौँ । त्यसैले सोमबारदेखि शुक्रबारसम्म नागरिक ड्रोन उडानका लागि डेनमार्कको आकाश पूर्ण रूपमा बन्द हुनेछ ।”
उनका अनुसार यस कदमले शत्रु ड्रोनहरू कानूनी ड्रोनसँग भ्रमित हुने जोखिम हटाउनेछ ।
मन्त्रालयले प्रतिबन्धको उल्लङ्घन गरे जरिवाना वा दुई वर्षसम्मको जेल सजाय हुन सक्ने चेतावनी दिएको छ ।