
आरम्भमै प्रस्टीकरणबाट शुरू गरौं– पंक्तिकार जेनजी समूहको समर्थक, जेनजीको नाममा भएको उपद्रोबाट हौसिएको या कुनै राजनीतिक दलप्रति आस्था राख्ने व्यक्ति होइन । तर, आजको दिनमा राजनीतिक सुधारको शुरूआत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट हुनुपर्छ ।
नजरअन्दाज गर्न नमिल्ने भदौ २३ र २४ को आन्दोलनको महिना दिन पुग्नै लाग्दा समेत त्यसको राप सेलाएको छैन । त्यही आन्दोलन/विध्वंशको त्रासका कारण नेपालीहरूको प्रमुख चाड दशैं पनि यसपटक धेरैका लागि खल्लो बनेको छ ।
दलका शीर्ष नेताहरू जसको घरमा टीका लगाउन कार्यकर्ता जान्थे, उनीहरू कोठा खोजिरहेका छन् या आफन्तकोमा आश्रय लिइरहेका छन् । काम गरेर खाने मजदुर या उद्योगी–व्यवसायी कसैको मुहारमा उत्साह छैन । मानिसहरूले आशा र विश्वास देख्न सकेका छैनन् ।
राजनीतिक दलका नेताहरूले अहिलेसम्म जनतालाई भरोसा र राजनीतिक निकासको उपयुक्त विकल्प दिन सकेका छैनन् ।
स्थापित मूलधारका राजनीतिक दल किंकर्तव्यविमूढ जस्तै बनेका छन् । चरम संकटको भुमरीमा फसिरहेका दलका नेता, यति चोट सहेर पनि सहज ढंगले निकास दिन तयार देखिँदैनन् ।
देशलाई लोकतान्त्रिक मूलधारमा फर्काउने मुख्य जिम्मेवारी नेपाली कांग्रेसको हुनेछ, तर शेरबहादुर देउवा नेतृत्वको कांग्रेसबाट त्यो सम्भव छैन ।
देशको अग्रगामी लोकतान्त्रिक दलका सभापति देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेजस्तो मैले छाड्दा सबै भताभुंग हुन्छ भन्ने भ्रम नपालुन् । गिरिजाप्रसाद कोइराला जस्तो टावरिङ पर्सनालिटीको रिक्तता पूर्ति गरेको पार्टी हो कांग्रेस । गिरिजाको अभावमा सुशील र सुशीलपछि देउवाले गरेका हुन् । प्रचण्डले छाड्दा देश सही ढंगले अगाडि बढ्छ, उनले त देश बंगलादेश बन्छ भनेर हुंकार गरेका हुन् । प्रचण्डको उपादेयता धेरैपटक सकिइसकेको छ, तर उनलाई भ्रम छ ।
उनको कर्मबाट आमजनता सन्तुष्ट नभएपनि देउवाले खराब गर्छु भन्ने मनसाय पक्कै राखेनन् । जस्तो कि, काठमाडौं महानगरका मेयर बालेन साहले सिंहदरबार जलाउँछु भनेर दिएको अभिव्यक्तिपछि तत्कालीन प्रधानमन्त्री प्रचण्डले बालेनमाथि एक्सन लिने प्रस्ताव गर्दा देउवाले रोकेका थिए । अभिव्यक्ति स्वतन्त्रतालाई लिएर प्रतिशोध लिनुहुँदैन भनेको विषय बाहिरिएको थियो ।
देउवालाई बदनामीको शिखरमा पुर्याउने कामचाहिँ पत्नी आरजूले गरिन भन्ने बाह्य भाष्य छ । पछिल्लोपटक चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणदेखि देशमा भएका कयौं भ्रष्टाचार काण्डमा आरजुको नाम मुछिएको छ ।
पढ्नुहोस्, यो पनि :
आरजु म्याम, तपाईंबारे नेपाली समाजमा किन यति धेरै प्रश्न उठ्यो ?
आरजूले विवादमा तानेपनि, नेपालको लोकतान्त्रिक आन्दोलनमा देउवाको भूमिकालाई इतिहासले मूल्याङ्कन गर्ने नै छ, तर उनको आगामी कदमले राजनीतिक कद निर्धारण गर्नेछ ।
पदका लागि आशक्ति गर्ने भन्दा त्याग गर्नेहरूको नाम नेपालको राजनीतिमा अग्रपंक्तिमा लेखिएको छ । किसुनजी र गणेशमान सबैका लागि सर्वस्वीकार्य त्यागका कारण भएका थिए । बूढानीलकण्ठमा बंगला नभएपनि आम नेपालीको मन मष्तिष्कमा मनमोहन अधिकारी अटेका छन् ।
अहिलेको संकटमा देउवाले सुझबुझपूर्ण ढंगले नै नेतृत्व हस्तान्तरण गरेर निकास दिन्छन् भन्ने अपेक्षा राख्न सकिन्छ । असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमार्फत उनले निकास खोलिदिए भने उनको कद बढ्ने छ ।

कथं पद छाड्दिनँ भनेर ढिपी गरे पनि उनलाई नेता मानेर कांग्रेसको रथ अगाडि बढ्ने देखिँदैन । प्रकाशशरण महत लगायत केही स्वार्थ जोडिएका नेताले ग्लोरिफाई गर्न खोजे पनि देउवालाई अहिले कसैले पत्याउने अवस्था छैन । अन्यत्रको कुरा छाडौं, डडेल्धुरामा पनि उनको स्वीकार्यता हुने छैन ।
एकजना व्यक्ति ५ पटक प्रधानमन्त्री र दुई कार्यकाल (फुटाएर बनाएको प्रजातान्त्रिक कांग्रेसको गणना नगर्दा) पार्टी सभापति भइसक्दा पनि उनमा पदीय आशक्ति र शक्तिको तृष्णा बाँकी रहन्छ भने त्यो व्यक्ति कहिल्यै सुखी हुन सक्दैन । देउवाले पद प्रतिष्ठा सबै कमाएकै छन्, केवल उनले गर्नुपर्ने एउटै काम निकास दिने हो ।
भदौ २४ गते बूढानीलकण्ठमा भएको त्यो त्रासदीपूर्ण घटनाबाट शायद देउवा अझै सामान्य अवस्थामा आउन सकेका छैनन् होला । आफ्नै अगाडि घाइते र रक्ताम्मे पत्नीको त्यो हाल देखेका देउवाले फेरि पनि लोभ देखाएर भदौ २४ को घटनालाई निम्तो दिने काम पक्कै गर्ने छैनन् । प्रजातन्त्रका लागि दशकौं योगदान गरेका नेतामाथि भदौ २४ मा त्यो अपमान किन भयो भनेर देउवाले सोचे होलान्, सोच्नु पर्छ ।
यहाँनेर, भदौ २४ को परिस्थिति आउनुमा देउवा मुख्य कारक होइनन्, तर पूरक कारण अवश्य हुन् । कांग्र्रेस–एमालेको सरकार स्वेच्छाचारी बनिरहेको भन्दै पार्टी भित्रबाट आवाज उठ्दा देउवा मौन बसे । मौन बसेको मात्र होइन, विरोध गर्नेलाई हप्काए । उनको अर्जुनदृष्टि केवल प्रधानमन्त्री बन्नु थियो ।
भदौ २३ गते आकस्मिक रूपमा बसेको बैठकमा पार्टीका जिम्मेवार नेताहरूले सरकारबारे पुनर्विचार गर्नुपर्छ भन्दा देउवा जंगिए– मेरो प्रधानमन्त्री बन्ने पालो आइरहेको छ, गठबन्धन किन छाड्ने ?
जेनजी पुस्ताका तन्नेरीले सत्ता ढाल्ने दिन आइसक्दा पनि ०८४ पूजाको नजिक पुगेका देउवा र कांग्रेसका कतिपय नेतामा उही ‘ब्ल्याक एन्ड ह्वाइट’ जमानामै छन् ।
त्यही बदनाम संसदीय खेलबाट उनीहरू माथि उठ्न सकेका छैनन्, एउटा अग्रणी लोकतान्त्रिक दलका लागि यो दुर्भाग्य हो । सोही कारण देश सफर गर्दैछ ।
देउवाले छाड्दा यसरी खुल्छ सम्भावनाको ढोका
अकस्मात् सत्ताबाट बाहिरिएर अहिले रक्षात्मक स्थितिमा रहे पनि मुलुकको संकट पार लगाउने जिम्मा मूलधारका राजनीतिक दलको नै हो । केही अल्लारे युवाहरूले दावी गरेजस्तो कांग्रेस–एमालेमुक्त देश बनाउन सम्भव हुने छैन । उनीहरूलाई बाहिर राखेर गरिने चुनावले वैधता पाउने छैन ।
चुनावमा जनताले तिरस्कार गरे भने बेग्लै हो, अन्यथा कांग्रेस–एमालेको अस्तित्व समाप्त गर्ने कुरा कोरा कल्पना मात्र हो । कयौं कमजोरी छन्, नेताहरू भ्रष्टाचारमा लिप्त छन्, एउटा पंक्ति नै सडिसकेको छ, परन्तु कांग्रेस नेपाली लोकतन्त्रको एउटा धमनी हो ।
कांग्रेस पार्टी न कोइराला परिवार, न त शेरबहादुर–आरजूको प्रालि हो । ००७ सालदेखि नै नेपालमा भएका ठूला राजनीतिक परिवर्तनको अगुवाइ कांग्रेसले गरेको छ ।
अहिले उत्पन्न विषम परिस्थितिमा पनि कांग्रेसले निकासको बाटो देखाउनु पर्छ, निकासका लागि पहलकदमी लिनुपर्छ । त्यो भनेको देउवाको विकल्पबाट प्रारम्भ हुन्छ । शरद नलाग्दै यदि कांग्रेसको बुढो रूखमा नयाँ पालुवा पलायो भने त्यसले देशमा वसन्तको सन्देश दिनेछ ।
आजको दिनमा एमाले या माओवादीमा नेतृत्वलाई खुला चुनौती दिन सक्ने नेता छैनन्, उनीहरूभित्रको लोकतन्त्र केवल देखावटी हो । देउवामा त्यही एउटा विशेषता छ कि उनी आफ्नो राजीनामा माग्ने नेतालाई प्रतिशोध लिँदैनन् । देउवा भएकै कारण हिम्मतसाथ यति लेख्न दकस मान्नु पर्दैन ।
कांग्रेसमा नेतृत्व परिवर्तन भयो भने त्यसको हावा एमाले, माओवादीलगायत मूलधारका दलमा लाग्नेछ । एमाले, माओवादीमा दबाब बढ्ला, पुराना राजनीतिक दलले काँचुली फेरेर नयाँ बन्ने आधार बन्नेछ ।
प्रतिनिधि सभा विघटन गरेर ०५८ सालमा प्रजातन्त्र दरबारमा बुझायो भनेर लागेको आरोप देउवाले २०७४ पछि २ वटा आमनिर्वाचन गराएर मेटाएका थिए ।
अहिले उनले सहज ढंगले निकास दिए भने थपिएका दाग मेटिने छन् । पदका लागि मरिहत्ते गरे भने देउवाले कांग्रेस मात्र होइन, लोकतन्त्र पनि मास्ने छन् ।
केन्द्रीय समितिमा उनको भारी बहुमत होला, तर त्यो बासी बहुमतको अब कुनै अर्थ छैन । यदि अर्थ हुन्थ्यो भने बूढानीलकण्ठमा युद्धमा हारेको घाइते जस्तै रगताम्मे भएर जीवनको भीख माग्नु पर्ने थिएन । भोलिको दिनमा पार्टीभित्र त्यस्तै गलहत्याउने दिन आउन सक्छ ।
कांग्रेसका हुतिहारा नेताले सभापति फेर्न सकेनन् भने पनि देउवाको त्यो हैकम अब चल्ने छैन, समाजले उनलाई भदौ २३ गते अगाडिको जस्तो मान दिने छैन ।
फेरि हठ गरे भने उनका दरसन्तानले नेपालमा राजनीति गर्ने सम्भावना समाप्त हुनेछ, तथापि राजनीतिमा नलागेका र खास रूचि नभएका जयवीरलाई देउवाले डडेल्धुराबाटै क्रियाशील सदस्य बनाइदिएका छन् ।
अन्तिममा प्रदीप गिरी जोडिएको त्यही किस्सा– केही समय पहिले स्व. प्रदीप गिरी देउवाकोमा गएका रहेछन् । कांग्रेसले अनिर्णित भएको देखेर गिरीले ‘देउवा तिमीले केही बुझ्दैनौ’ भनेछन् । जवाफमा देउवाले भनेका थिए रे– ‘केही नबुझ्ने भएर म ४ पटक प्रधानमन्त्री भइसकें, त कतिपटक भइस् ?’
जान्ने त देउवा नै हुन्, नबोली–नबोली राजनीतिमा सिकार गरेका । तर, अब उनको युग सकियो । ज्योतिषीले जुन राजयोग देखाए पनि देउवा अब राजनीतिको किङमेकर बन्ने दिन दूर भइसकेका छन् ।
देउवा आफैं समस्या होइनन्, थिएनन् । तर, देउवा (ओली, प्रचण्डकै हिस्सामा) समस्या हुन् भन्ने भाष्य व्याप्त भइसकेको छ ।
नवदुर्गाले देउवालाई सद्बुद्धि दिऊन् ।
पढ्नुहोस् यो पनि :