२६ जेठ २०८३, मंगलबार
राजनीतिक दलमा शुद्धीकरण बहस

देउवाको ‘फोर्स एक्जिट’ले खोल्नेछ सम्भावनाको नयाँ ढोका

देउवा समस्या थिएनन्, तर समस्याको विम्ब बन्न पुगे
असोज १५, २०८२
काठमाडौं
देउवाको ‘फोर्स एक्जिट’ले खोल्नेछ सम्भावनाको नयाँ ढोका

आरम्भमै प्रस्टीकरणबाट शुरू गरौं– पंक्तिकार जेनजी समूहको समर्थक, जेनजीको नाममा भएको उपद्रोबाट हौसिएको या कुनै राजनीतिक दलप्रति आस्था राख्ने व्यक्ति होइन । तर, आजको दिनमा राजनीतिक सुधारको शुरूआत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट हुनुपर्छ ।

नजरअन्दाज गर्न नमिल्ने भदौ २३ र २४ को आन्दोलनको महिना दिन पुग्नै लाग्दा समेत त्यसको राप सेलाएको छैन । त्यही आन्दोलन/विध्वंशको त्रासका कारण नेपालीहरूको प्रमुख चाड दशैं पनि यसपटक धेरैका लागि खल्लो बनेको छ ।

दलका शीर्ष नेताहरू जसको घरमा टीका लगाउन कार्यकर्ता जान्थे, उनीहरू कोठा खोजिरहेका छन् या आफन्तकोमा आश्रय लिइरहेका छन् । काम गरेर खाने मजदुर या उद्योगी–व्यवसायी कसैको मुहारमा उत्साह छैन । मानिसहरूले आशा र विश्वास देख्न सकेका छैनन् ।

राजनीतिक दलका नेताहरूले अहिलेसम्म जनतालाई भरोसा र राजनीतिक निकासको उपयुक्त विकल्प दिन सकेका छैनन् ।

स्थापित मूलधारका राजनीतिक दल किंकर्तव्यविमूढ जस्तै बनेका छन् । चरम संकटको भुमरीमा फसिरहेका दलका नेता, यति चोट सहेर पनि सहज ढंगले निकास दिन तयार देखिँदैनन् ।

देशको अग्रगामी लोकतान्त्रिक दलका सभापति देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेजस्तो मैले छाड्दा सबै भताभुंग हुन्छ भन्ने भ्रम नपालुन् । गिरिजाप्रसाद कोइराला जस्तो टावरिङ पर्सनालिटीको रिक्तता पूर्ति गरेको पार्टी हो कांग्रेस ।

देशलाई लोकतान्त्रिक मूलधारमा फर्काउने मुख्य जिम्मेवारी नेपाली कांग्रेसको हुनेछ, तर शेरबहादुर देउवा नेतृत्वको कांग्रेसबाट त्यो सम्भव छैन ।

देशको अग्रगामी लोकतान्त्रिक दलका सभापति देउवाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेजस्तो मैले छाड्दा सबै भताभुंग हुन्छ भन्ने भ्रम नपालुन् । गिरिजाप्रसाद कोइराला जस्तो टावरिङ पर्सनालिटीको रिक्तता पूर्ति गरेको पार्टी हो कांग्रेस । गिरिजाको अभावमा सुशील र सुशीलपछि देउवाले गरेका हुन् । प्रचण्डले छाड्दा देश सही ढंगले अगाडि बढ्छ, उनले त देश बंगलादेश बन्छ भनेर हुंकार गरेका हुन् । प्रचण्डको उपादेयता धेरैपटक सकिइसकेको छ, तर उनलाई भ्रम छ ।

उनको कर्मबाट आमजनता सन्तुष्ट नभएपनि देउवाले खराब गर्छु भन्ने मनसाय पक्कै राखेनन् । जस्तो कि, काठमाडौं महानगरका मेयर बालेन साहले सिंहदरबार जलाउँछु भनेर दिएको अभिव्यक्तिपछि तत्कालीन प्रधानमन्त्री प्रचण्डले बालेनमाथि एक्सन लिने प्रस्ताव गर्दा देउवाले रोकेका थिए । अभिव्यक्ति स्वतन्त्रतालाई लिएर प्रतिशोध लिनुहुँदैन भनेको विषय बाहिरिएको थियो ।

देउवालाई बदनामीको शिखरमा पुर्‍याउने कामचाहिँ पत्नी आरजूले गरिन भन्ने बाह्य भाष्य छ । पछिल्लोपटक चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणदेखि देशमा भएका कयौं भ्रष्टाचार काण्डमा आरजुको नाम मुछिएको छ ।

पढ्नुहोस्, यो पनि :

आरजु म्याम, तपाईंबारे नेपाली समाजमा किन यति धेरै प्रश्न उठ्यो ?

आरजूले विवादमा तानेपनि, नेपालको लोकतान्त्रिक आन्दोलनमा देउवाको भूमिकालाई इतिहासले मूल्याङ्कन गर्ने नै छ, तर उनको आगामी कदमले राजनीतिक कद निर्धारण गर्नेछ ।

पदका लागि आशक्ति गर्ने भन्दा त्याग गर्नेहरूको नाम नेपालको राजनीतिमा अग्रपंक्तिमा लेखिएको छ । किसुनजी र गणेशमान सबैका लागि सर्वस्वीकार्य त्यागका कारण भएका थिए । बूढानीलकण्ठमा बंगला नभएपनि आम नेपालीको मन मष्तिष्कमा मनमोहन अधिकारी अटेका छन् ।

अहिलेको संकटमा देउवाले सुझबुझपूर्ण ढंगले नै नेतृत्व हस्तान्तरण गरेर निकास दिन्छन् भन्ने अपेक्षा राख्न सकिन्छ । असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमार्फत उनले निकास खोलिदिए भने उनको कद बढ्ने छ ।

कथं पद छाड्दिनँ भनेर ढिपी गरे पनि उनलाई नेता मानेर कांग्रेसको रथ अगाडि बढ्ने देखिँदैन । प्रकाशशरण महत लगायत केही स्वार्थ जोडिएका नेताले ग्लोरिफाई गर्न खोजे पनि देउवालाई अहिले कसैले पत्याउने अवस्था छैन । अन्यत्रको कुरा छाडौं, डडेल्धुरामा पनि उनको स्वीकार्यता हुने छैन ।

एकजना व्यक्ति ५ पटक प्रधानमन्त्री र दुई कार्यकाल (फुटाएर बनाएको प्रजातान्त्रिक कांग्रेसको गणना नगर्दा) पार्टी सभापति भइसक्दा पनि उनमा पदीय आशक्ति र शक्तिको तृष्णा बाँकी रहन्छ भने त्यो व्यक्ति कहिल्यै सुखी हुन सक्दैन । देउवाले पद प्रतिष्ठा सबै कमाएकै छन्, केवल उनले गर्नुपर्ने एउटै काम निकास दिने हो ।

भदौ २४ गते बूढानीलकण्ठमा भएको त्यो त्रासदीपूर्ण घटनाबाट शायद देउवा अझै सामान्य अवस्थामा आउन सकेका छैनन् होला । आफ्नै अगाडि घाइते र रक्ताम्मे पत्नीको त्यो हाल देखेका देउवाले फेरि पनि लोभ देखाएर भदौ २४ को घटनालाई निम्तो दिने काम पक्कै गर्ने छैनन् । प्रजातन्त्रका लागि दशकौं योगदान गरेका नेतामाथि भदौ २४ मा त्यो अपमान किन भयो भनेर देउवाले सोचे होलान्, सोच्नु पर्छ ।

यहाँनेर, भदौ २४ को परिस्थिति आउनुमा देउवा मुख्य कारक होइनन्, तर पूरक कारण अवश्य हुन् । कांग्र्रेस–एमालेको सरकार स्वेच्छाचारी बनिरहेको भन्दै पार्टी भित्रबाट आवाज उठ्दा देउवा मौन बसे । मौन बसेको मात्र होइन, विरोध गर्नेलाई हप्काए । उनको अर्जुनदृष्टि केवल प्रधानमन्त्री बन्नु थियो ।

भदौ २३ गते आकस्मिक रूपमा बसेको बैठकमा पार्टीका जिम्मेवार नेताहरूले सरकारबारे पुनर्विचार गर्नुपर्छ भन्दा देउवा जंगिए– मेरो प्रधानमन्त्री बन्ने पालो आइरहेको छ, गठबन्धन किन छाड्ने ?

जेनजी पुस्ताका तन्नेरीले सत्ता ढाल्ने दिन आइसक्दा पनि ०८४ पूजाको नजिक पुगेका देउवा र कांग्रेसका कतिपय नेतामा उही ‘ब्ल्याक एन्ड ह्वाइट’ जमानामै छन् ।

त्यही बदनाम संसदीय खेलबाट उनीहरू माथि उठ्न सकेका छैनन्, एउटा अग्रणी लोकतान्त्रिक दलका लागि यो दुर्भाग्य हो । सोही कारण देश सफर गर्दैछ ।

देउवाले छाड्दा यसरी खुल्छ सम्भावनाको ढोका

अकस्मात् सत्ताबाट बाहिरिएर अहिले रक्षात्मक स्थितिमा रहे पनि मुलुकको संकट पार लगाउने जिम्मा मूलधारका राजनीतिक दलको नै हो । केही अल्लारे युवाहरूले दावी गरेजस्तो कांग्रेस–एमालेमुक्त देश बनाउन सम्भव हुने छैन । उनीहरूलाई बाहिर राखेर गरिने चुनावले वैधता पाउने छैन ।

चुनावमा जनताले तिरस्कार गरे भने बेग्लै हो, अन्यथा कांग्रेस–एमालेको अस्तित्व समाप्त गर्ने कुरा कोरा कल्पना मात्र हो । कयौं कमजोरी छन्, नेताहरू भ्रष्टाचारमा लिप्त छन्, एउटा पंक्ति नै सडिसकेको छ, परन्तु कांग्रेस नेपाली लोकतन्त्रको एउटा धमनी हो ।

कांग्रेस पार्टी न कोइराला परिवार, न त शेरबहादुर–आरजूको प्रालि हो । ००७ सालदेखि नै नेपालमा भएका ठूला राजनीतिक परिवर्तनको अगुवाइ कांग्रेसले गरेको छ ।

अहिले उत्पन्न विषम परिस्थितिमा पनि कांग्रेसले निकासको बाटो देखाउनु पर्छ, निकासका लागि पहलकदमी लिनुपर्छ । त्यो भनेको देउवाको विकल्पबाट प्रारम्भ हुन्छ । शरद नलाग्दै यदि कांग्रेसको बुढो रूखमा नयाँ पालुवा पलायो भने त्यसले देशमा वसन्तको सन्देश दिनेछ ।

आजको दिनमा एमाले या माओवादीमा नेतृत्वलाई खुला चुनौती दिन सक्ने नेता छैनन्, उनीहरूभित्रको लोकतन्त्र केवल देखावटी हो । देउवामा त्यही एउटा विशेषता छ कि उनी आफ्नो राजीनामा माग्ने नेतालाई प्रतिशोध लिँदैनन् । देउवा भएकै कारण हिम्मतसाथ यति लेख्न दकस मान्नु पर्दैन ।

कांग्रेसमा नेतृत्व परिवर्तन भयो भने त्यसको हावा एमाले, माओवादीलगायत मूलधारका दलमा लाग्नेछ । एमाले, माओवादीमा दबाब बढ्ला, पुराना राजनीतिक दलले काँचुली फेरेर नयाँ बन्ने आधार बन्नेछ ।

प्रतिनिधि सभा विघटन गरेर ०५८ सालमा प्रजातन्त्र दरबारमा बुझायो भनेर लागेको आरोप देउवाले २०७४ पछि २ वटा आमनिर्वाचन गराएर मेटाएका थिए ।

अहिले उनले सहज ढंगले निकास दिए भने थपिएका दाग मेटिने छन् । पदका लागि मरिहत्ते गरे भने देउवाले कांग्रेस मात्र होइन, लोकतन्त्र पनि मास्ने छन् ।

केन्द्रीय समितिमा उनको भारी बहुमत होला, तर त्यो बासी बहुमतको अब कुनै अर्थ छैन । यदि अर्थ हुन्थ्यो भने बूढानीलकण्ठमा युद्धमा हारेको घाइते जस्तै रगताम्मे भएर जीवनको भीख माग्नु पर्ने थिएन । भोलिको दिनमा पार्टीभित्र त्यस्तै गलहत्याउने दिन आउन सक्छ ।

कांग्रेसका हुतिहारा नेताले सभापति फेर्न सकेनन् भने पनि देउवाको त्यो हैकम अब चल्ने छैन, समाजले उनलाई भदौ २३ गते अगाडिको जस्तो मान दिने छैन ।

फेरि हठ गरे भने उनका दरसन्तानले नेपालमा राजनीति गर्ने सम्भावना समाप्त हुनेछ, तथापि राजनीतिमा नलागेका र खास रूचि नभएका जयवीरलाई देउवाले डडेल्धुराबाटै क्रियाशील सदस्य बनाइदिएका छन् ।

फेरि हठ गरे भने उनका दरसन्तानले नेपालमा राजनीति गर्ने सम्भावना समाप्त हुनेछ, तथापि राजनीतिमा नलागेका र खास रूचि नभएका जयवीरलाई देउवाले डडेल्धुराबाटै क्रियाशील सदस्य बनाइदिएका छन् ।

अन्तिममा प्रदीप गिरी जोडिएको त्यही किस्सा– केही समय पहिले स्व. प्रदीप गिरी देउवाकोमा गएका रहेछन् । कांग्रेसले अनिर्णित भएको देखेर गिरीले ‘देउवा तिमीले केही बुझ्दैनौ’ भनेछन् । जवाफमा देउवाले भनेका थिए रे– ‘केही नबुझ्ने भएर म ४ पटक प्रधानमन्त्री भइसकें, त कतिपटक भइस् ?’

जान्ने त देउवा नै हुन्, नबोली–नबोली राजनीतिमा सिकार गरेका । तर, अब उनको युग सकियो । ज्योतिषीले जुन राजयोग देखाए पनि देउवा अब राजनीतिको किङमेकर बन्ने दिन दूर भइसकेका छन् ।

देउवा आफैं समस्या होइनन्, थिएनन् । तर, देउवा (ओली, प्रचण्डकै हिस्सामा) समस्या हुन् भन्ने भाष्य व्याप्त भइसकेको छ ।

नवदुर्गाले देउवालाई सद्बुद्धि दिऊन् ।

पढ्नुहोस् यो पनि :

देउवाबाट यतिबेला देशले अपेक्षा गरेको अर्को सुझबुझपूर्ण कदम

salt training

कमेन्ट गर्नुहोस्