१७ असार २०८३, बुधबार
समृद्धिको यात्रामा मौलिक अभियान

बाँसको कुर्सीमा बसेर आत्मनिर्भरताको सपना देखिरहेका मेयर​

असोज १६, २०८२
विराटनगर
बाँसको कुर्सीमा बसेर आत्मनिर्भरताको सपना देखिरहेका मेयर​

अहिले देशमा मात्रै नभएर विदेशमा पनि दशैंको रमझम छ । शहर बजारदेखि गाउँघरसम्म दशैंलगायतका चाडबाडमा किनमेल गर्ने चलन छ । फर्निचरका सामान किन्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिन स्थानीय तहहरूले नै सुझाइरहेका छन् ।

स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकतामा राख्दै खोटाङको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई आत्मनिर्भरता र प्रकृतिको मौलिक अभियानमा व्यस्त छन् । उनको अभियान न कुनै राजनीतिक नारासँग जोडिएको छ, न कुनै ठूला पूर्वाधारको महत्त्वाकांक्षासँग । उनको अभियान त स्थानीयता, प्रकृति र आत्मनिर्भरताको प्रतीक ‘बाँस’सँग जोडिएको छ ।

मेयर भट्टराईको कार्यकक्षमा पुग्दा महँगो र आयातित फर्निचरले स्वागत गर्दैन । त्यहाँ, उनी एउटा सामान्य तर आकर्षक बाँसको कुर्सीमा बसेर नगरवासीका कुरा सुनिरहेका भेटिन्छन् । उनको कार्यकक्षका टेबुल, आगन्तुक बस्ने कुर्सीदेखि अधिकांश सामग्री बाँसबाटै बनेका छन् । 

एक नगर प्रमुख आखिर किन बाँसलाई प्रवर्द्धन गर्न कम्मर कसेर लागेका छन् ?  यो प्रश्नको जवाफमा मेयर भट्टराईले आर्थिक, वातावरणीय र सांस्कृतिक कारणहरूको लामो सूची प्रस्तुत गरे । ‘हाम्रो नगरपालिकाभित्र मात्रै १६ प्रजातिका बाँस पाइन्छन्,’ काठमाडौं विश्वविद्यालयको एक अध्ययनलाई उद्धृत गर्दै उनले भने, ‘यो हाम्रो लागि प्रकृतिको अनुपम उपहार हो, तर यसको सही सदुपयोग गर्न नसकेर हामीले यसको अपार सम्भावनालाई खेर फालिरहेका थियौं ।’ 

null

उनको अभियान यही खेर गइरहेको सम्भावनालाई अवसरमा बदल्ने हो । आर्थिक दृष्टिकोणले बाँस अत्यधिक मितव्ययी पनि रहेको उनी बताउँछन् । ‘मेरो र उपप्रमुखको कार्यकक्षका लागि आवश्यक सबै फर्निचर बाँसबाट बनाउँदा जम्मा १ लाख १७ हजार रुपैयाँ खर्च भएको छ । तर त्यही सामान बाहिरबाट आयात गर्दा १० लाखभन्दा बढी पर्ने रहेछ । यो साधारण हिसाबले पनि देखाउँछ कि स्थानीय स्रोतको प्रयोगले नगरको ठूलो रकम बाहिरिनबाट जोगिन्छ,’ उनले भने । 

स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने  र आयात प्रतिस्थापन गर्दै नगरको पैसा नगरमै राख्न मद्दत गर्ने उनको तर्क छ । यसको वातावरणीय पक्ष झनै महत्त्वपूर्ण छ । ‘अन्य बोटबिरुवाले भन्दा बाँसले ३५ प्रतिशत बढी कार्बन सोस्छ,’ उनी भन्छन्, ‘यसले भू-क्षय रोक्न र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।’

एउटा सल्लोको रूख प्रयोगयोग्य हुन ३५/४० वर्ष लाग्छ, त्यहीँ बाँस ३ देखि ५ वर्षमै प्रयोगका लागि तयार हुन्छ । वासको  उचित प्रशोधन (ट्रिटमेन्ट) गर्ने हो भने यसको आयु फलामको जस्तै ५० वर्षसम्म हुने उनको दाबी छ । प्रशोधनविना चाँडै कीरा लाग्ने र नष्ट हुने बाँसलाई प्रविधिको साथ दिगो र बलियो बनाउन सकिने कुराले यसप्रतिको परम्परागत दृष्टिकोणलाई नै बदलिदिएको छ ।

null

बाँसको सांस्कृतिक महत्त्व पनि उत्तिकै गहिरो छ । विशेषगरी किरात सभ्यतामा बाँसको भूमिका अभिन्न रहेको मेयर भट्टराई बताउँछन् ।  ‘बाँसविनाको किराती संस्कृति र पहाडी जीवनशैली कल्पना पनि गर्न सकिँदैन,’ उनी भन्छन्, ‘जन्मदेखि मृत्युसम्मका संस्कार यसैसँग जोडिएका छन् । बार बार्नदेखि घरको कामसम्म, हरेक पाइलामा बाँस चाहिन्छ ।’

यो केवल एउटा वनस्पति मात्र नभई पहाडको जीवन पद्धति र पहिचानको अंग हो । आफ्नो अभियानमार्फत उनले यही सांस्कृतिक धरोहरलाई आधुनिक अर्थतन्त्रसँग जोड्न खोजिरहेका छन् ।

बाँसप्रतिको यो अभियान मेयर भट्टराईको व्यक्तिगत सोख मात्र होइन, यसले नगरपालिकाको नीतिगत निर्णयको रूप पनि लिइसकेको छ । नगरपालिकाले पनि नयाँ फर्निचर खरिद गर्दा प्लास्टिकजन्य वा आयातित सामग्री नभई स्थानीय स्तरमा उत्पादित बाँसकै सामग्री किन्ने निर्णय गरेको छ । पुराना फर्निचरलाई खेर नफाली, नयाँ आवश्यकता पर्दा मात्रै बाँसका सामग्री किन्ने व्यावहारिक नीति अपनाइएको छ । वडा कार्यालयहरूदेखि स्तनपान कक्ष र डस्टबिनसम्म बाँसकै सामग्री प्रयोग हुन थालेका छन् । 

null

केही समयअघि नगरपालिकाले आयोजना गरेको ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन’मा प्रमुख अतिथिदेखि ७०० भन्दा बढी सहभागीलाई बाँसकै कुर्सीमा बसाइएको थियो । त्यो सम्मेलनले बाँसको महत्त्वलाई राष्ट्रिय स्तरमा पुर्‍याउन कोशेढुंगाको काम गरेको मेयर भट्टराई बताउँछन् ।

आफ्नो अभियानलाई स्थानीय स्तरमा मात्र सीमित नराखी उनले यसलाई राष्ट्रिय मुद्दा बनाउन काठमाडौंसम्मको यात्रा तय गरेका छन् । केही समयअघि उनी बाँसलाई राष्ट्रिय प्राथमिकतामा राख्न, यसको प्रवर्द्धनका लागि विशेष नीति बनाउन र किसानलाई प्रोत्साहन गर्न माग गर्दै काठमाडौंमा आमरण अनसन बसेका थिए । उनको सत्याग्रहपछि सरकारसँग १६–बुँदे समझदारीसमेत भएको थियो । जसको पूर्ण कार्यान्वयनका लागि उनी अझै प्रयासरत छन् ।

विकास भनेको अग्ला भवन र चिल्ला सडक मात्र होइन, विकास भनेको स्थानीय स्रोत, सीप र संस्कृतिलाई सम्मान गर्दै आत्मनिर्भरताको बाटोमा हिँड्नु पनि हो भन्ने उनले प्रेरणा दिने प्रयास गरिरहेका छन् ।

इच्छाशक्ति हुने हो भने एउटा सानो बाँसको कोपिलाले पनि समृद्धिको जग हाल्न सक्छ भन्ने उनले उदाहरण दिने प्रयास गरिरहेका छन् ।  ‘कुर्सी केवल बस्ने आसन होइन, यो एउटा विचार हो, एउटा दर्शन हो र आत्मनिर्भर भविष्यतर्फको एउटा दृढ पाइला पनि हो,’ उनले भने ।

null

salt training

कमेन्ट गर्नुहोस्