
बेलायतको उत्तरपश्चिमी शहर म्यानचेस्टरस्थित एक यहुदी आरधनास्थल (सिनागग) बाहिर जथाभावी कार चलाउँदै मानिसहरूलाई छुरा प्रहार गरिएको छ । यस घटनामा ४ जना घाइते भएका छन् । घटनामा संलग्न शंकास्पद व्यक्तिलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको जनाएको छ ।
ग्रेटर म्यानचेस्टर प्रहरीले जनाएअनुसार बिहीबार बिहान ९:३१ बजे एक व्यक्तिले कार मानिसतर्फ धकेलेको र एकजनालाई छुरा हानेका थिए। त्यसपछि पठाइएका सशस्त्र प्रहरीले ९:३८ बजे शंकास्पद आक्रमणकारीलाई गोली हानेका थिए ।
प्रहरीका अनुसार आक्रमणकारीले सिनागगभित्र प्रवेश गर्न भने सकेनन् । तर आक्रमणको क्रममा गाडी र छुरा प्रहारबाट चार सर्वसाधारण घाइते भएका छन् । घाइतेहरूलाई तत्काल उपचारका लागि लगिएको छ । आक्रमणकारीसँग बम रहेको भन्ने हल्ला चले पनि यसबारे आधिकारिक पुष्टि भएको छैन ।
घटनाको प्रत्यक्षदर्शीले खिचेको भिडियोमा दुई सशस्त्र प्रहरी अधिकारीले सिनागग बाहिर जमिनमा लडिरहेको शंकास्पद आक्रमणकारीमाथि बन्दुक सोझ्याइरहेको देखिन्छ । नजिकै एकजना गम्भीर घाइते व्यक्ति लडिरहेको देखिन्छ । भिडियोमा एक प्रहरी अधिकारीले ‘उससँग बम छ, टाढा जाऊ’ भन्दै मानिसलाई पछाडि हट्न आग्रह गरिरहेको सुन्न सकिन्छ । केही क्षणमै आक्रमणकारी उठ्ने प्रयास गर्दा प्रहरीले गोली चलाएको र उनी फेरि जमिनमा ढलेको देखिन्छ ।
घटना यहुदी समुदायको पवित्रतम पर्व ‘योम किप्पुर’को दिन भएको हो । बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले यस आक्रमणप्रति आक्रोश व्यक्त गर्दै भने, ‘यहुदी पात्रोको सबैभन्दा पवित्र दिनमा यस्तो आक्रमण हुनु झनै भयावह भएको छ ।’
म्यानचेस्टरका मेयर एन्डी बर्नह्यामले यस घटनाले स्थानीय यहुदी समुदायलाई ठूलो मानसिक आघात पुर्याएको बताएका छन् । उनले भने, ‘हालसालै यहुदी समुदायविरुद्ध यहुदीविरोधी गतिविधिहरू बढिरहेका छन् । यसले उनीहरूलाई अझ ठूलो भय र असुरक्षाको अवस्थाबाट गुजारिरहेको छ ।’