
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका –४ माङ्तेवामा एक शिक्षकमाथि खुकुरी प्रहार भएको छ ।
सिलिचोङ–४ माङ्तेवामा बिहीबार राति जीवनज्योति माध्यमिक विद्यालयका शिक्षक राजेन्द्र राईमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।
उनका अनुसार मादकपदार्थ सेवन व्यक्तिहरूले शिक्षक राईमाथि खुकुरी प्रहार गरेका हुन् ।
खुकुरी प्रहारबाट शिक्षक राईको टाउको, हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
मादकपदार्थ सेवन गरेका राजेन्द्रकै फुपूका छोरा सुरेन्द्र राई र एक नाबालकले उनलाई खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका प्रहरी निरीक्षक लामिछानेले बताए ।
प्रहरी निरीक्षक लामिछानेका अनुसार गम्भीर घाइते शिक्षक राईको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार हुन नसकेपछि थप उपचारका लागि आज बिहान विराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ ।
घटनालगत्तै प्रहरी चौकी माङ्तेवाबाट प्रहरी सहायक निरीक्षक क्रान्तिराज पौडेलको कमान्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो ।
खुकुरी प्रहार गर्ने सुरेन्द्र र नाबालकलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दुरीमा पर्दछ ।