
बारा जिल्ला अदालतको १ नम्बर इजलासका न्यायाधीश भोलानाथ ढकालमाथि गम्भीर आरोप लगाउँदै बार एसोसिएसनले बेञ्च बहिष्कार गर्ने निर्णय गरेको छ ।
१८ करोड रूपैयाँ बिगोसहितका सम्पत्ति शुद्धीकरण र राजस्व चुहावटसम्बन्धी कुल तीन थान मुद्दामा फरार रहेका भारतीय प्रतिवादीलाई धरौटीमा छाड्ने आदेश गरेका न्यायाधीश ढकालमाथि छानबिन गर्न माग गर्दै बारले न्याय परिषदलाई पत्राचार समेत गरेको छ ।
जिल्ला अदालत बार एसोसिएसन कलैयाका अध्यक्ष उमेशप्रसाद जयसवालद्वारा जारी विज्ञप्तिमा न्यायपरिषदबाट ठोस निर्णय नआएसम्म न्यायाधीश ढकालको बेञ्च बहिष्कार गर्ने निर्णय भएको उल्लेख छ ।
ढकालले असोज ५ गतेका दिन तीन थान मुद्दाका फरार प्रतिवादी भारतीय नागरिक अशोककुमार सिन्हालाई कानूनविपरीत धरौटीमा छाडेको आरोप बारले लगाएको छ ।
उक्त आदेश बिचौलियाको सेटिङमा रकम लेनदेन गरी भएको आरोप समेत बारको विज्ञप्तिमा लगाइएको छ ।
न्यायाधीश ढकालका घरबेटीको सेटिङ तथा चाँजोपाँजोमा कानूनविपरीत आदेश भएको जिकिर बारले गरेको छ ।
उक्त कार्यले न्यायपालिकाप्रतिको जनआस्था, जनविश्वास, कानूनी शासनमा प्रत्यक्ष रूपमा असर परेको भन्दै सूक्ष्म अनुसन्धान हुनुपर्ने माग बारले गरेको छ ।
त्यस विषयमा न्यायाधीश, कर्मचारी तथा बिचौलिया समेतलाई कानूनबमोजिम कारबाही गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने बारको विज्ञप्तिमा उल्लेख छ ।

बारका अध्यक्ष जयसवालका अनुसार कानूनविपरीत आर्थिक लेनदेन गरी भारतीय प्रतिवादी अशोककुमार सिन्हालाई धरौटीमा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको हो ।
‘एक त दशैं बिदा हुनुभन्दा ठीक एकदिन अघि असोज ५ गते फरार प्रतिवादी भारतीय नागरिक र उनकी छोरी (नेपाली नागरिक) अदालतमा हाजिर हुन्छन्,’ बार अध्यक्ष जयसवालले लोकान्तरसँग भने, ‘१ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा विदेशी नागरिकलाई थुनछेक प्रयोजनमा थुनामा राख्नुपर्ने कानूनी प्रावधान छ । यस मुद्दामा २ देखि १० वर्ष सम्म कैद सजाय माग दाबी गरिएको भए पनि न्यायाधीश ढकालको इजलासले कानूनविपरीत धरौटीमा छाडेको हुनाले बारले त्यसको छानबिन हुनुपर्छ भनेको हो ।'
न्यायाधीश ढकालले आदेश गर्नुभन्दा एक दिन अघि शनिबार फाँटबाट फाइल झिकाएर हेरेको पनि उनले बताए ।
‘हामीले पाएको सूचनाअनुसार उहाँले एक दिन पहिले नै शनिबार बिदाको दिन फाँटबाट मिसिल झिकाएर हेर्नुभएको थियो,’ अध्यक्ष जयसवालले लोकान्तरसँग भने, ‘पहिलो त फरार प्रतिवादी अदालतमा भोलि उपस्थित हुन्छ भन्ने कुरा उहाँलाई अगाडिदेखि नै थाहा भएको हुनाले १ दिनअघि नै त्यो फाइल झिकाएर हेर्नुभएको रहेछ । फेरि दशैं बिदा हुनुभन्दा एक दिनअघि मात्र ती प्रतिवादी उपस्थित हुनुले पनि सेटिङ भएको देखिन्छ ।’
धरौटीमा छाडिएका भारतीय नागरिक अशोककुमार सिन्हा भारतको रक्सौल निवासी हुन् । उनी बिहार विधान सभामा विधायकका लागि उम्मेदवार समेत भइसकेको व्यक्ति रहेको जानकारी आफूले पाएको जयसवालले बताए ।
असोज ५ गते साढे ४ बजेतिर सेटिङमा वास्तविक प्रतिवादीको ठाउँमा डमी प्रतिवादी हाजिर भएको र भारतीय नागरिकलाई धरौटीमा छाड्ने आदेश भएको हल्ला चलेपछि जिल्ला प्रहरी कार्यालय बाराले त्यसको खोजतलास पनि गरेको जयसवाल बताउँछन् ।
‘डेढ/दुई करोड रूपैयाँको चलखेलमा वास्तविक व्यक्ति उपस्थित नभएर डमी व्यक्ति उपस्थित भएको र धरौटीमा छाड्ने आदेश भएको हल्ला चलेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षकको निर्देशनमा १ नम्बर न्यायाधीश ढकालको घरमा समेत ती व्यक्तिको खोजी गरिएको थियो,’ बार अध्यक्ष जयसवालले लोकान्तरसँग भने, ‘अदालतदेखि न्यायाधीश बस्ने घरसम्ममा खोजतलास गर्दा पनि ती व्यक्ति फेला परेनन् ।’
के हो विषय ?
२०७८ सालमा भारतीय नागरिक सिन्हाकी छोरी निवेदिका सिन्हा(नेपाली नागरिक)को फ्ल्याटबाट २५ किलो ३८३ ग्राम अवैध सुन बरामद भएको थियो ।
सोही विषयमा राजस्व अनुसन्धान कार्यालय पथलैयाले बुवा र छोरीविरुद्ध १८ करोड रूपैयाँ बिगोसहित राजस्व चुहावट र सम्पत्ति शुद्धीकरण गरेको भन्दै थप २/२ थान समेत कुल ३/३ थान मुद्दा सरकारी वकिल कार्यालयमार्फत बारा जिल्ला अदालतमा दायर गरेको थियो ।
सोही मुद्दामा प्रतिवादी बुवा-छोरी दुवै जना फरार थिए । तर, असोज ५ गते ती दुवैजना अदालतमा उपस्थित भएपछि न्यायाधीश ढकालले दुवै जनालाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।
बारा जिल्ला अदालतका स्रेस्तेदार राजकुमार दाहाल भने डमी व्यक्ति नभएर सक्कली व्यक्ति नै हाजिर भएको दाबी गर्छन् ।
‘नक्कली व्यक्तिलाई हाजिर गरायो भन्ने कुरा बाहिर हल्ला चलेपछि हामीले पुनः हेर्यौं । भारतीय नागरिक अशोककुमार सिन्हाको आधार कार्ड, नेपाली नागरिक निवेदिका सिन्हाको नेपाली नागरिकता र बैंकमा खाता खोल्नका लागि गरिएको हस्ताक्षर तथा हाजिर हुँदा गरेको हस्ताक्षर समेत म्याच भएको हुनाले नक्कली व्यक्ति नभएर सक्कली व्यक्ति नै हाजिर भएको पुष्टि हुन्छ,’ स्रेस्तेदार दाहालले लोकान्तरसँग भने, ‘अदालतमा बयान भई सुनुवाइ हुँदा बुबा र छोरी दुवै जनालाई धरौटीमा छाड्ने आदेश भएको हो ।’
बुवालाई ३० लाख ३ हजार र छोरीलाई २५ लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश भएबमोजिम उनीहरूले नगद धरौटी बुझाएको दाहालले बताए ।
यता १ नम्बर इजलासका न्यायाधीश भोलानाथ ढकाल भने कानूनबमोजिम विवेक पुर्याएर नै आदेश गरेको बताउँछन् ।
‘बुवा-छोरी आफैं उपस्थित भएका छन् । बुवा भारतीय नागरिक भए पनि ज्येष्ठ नागरिक रहेको, मुटुको बिरामी भई उपचार गराइरहेको अवस्था हुनाले धरौटीमा छाडेको हो,’ न्यायाधीश ढकालले लोकान्तरसँग भने, ‘कुनै चलखेल गरेको छैन । कानूनबमोजिम विवेक पुर्याएर नै आदेश गरेको हो । फेरि प्रहरीले नसमाती आफैं आएको हुनाले भागिहाल्छन् भन्ने अनुमान पनि गर्न भएन ।’
न्यायाधीश ढकालले दिएको प्रतिक्रिया जस्ताको तस्तै:
६० वर्षभन्दा बढी उमेर भएको बिरामी मान्छे आएको छ । हामीले हेरेर ५५ लाख धरौटी लिएर छोडेको विषय हो । यसमा यही गर्नुपर्छ भन्ने हार्ड एन्ड फास्ट रुल छैन । सक्नेछ भन्ने कुरा हो ।
त्यसमा यही हुन्छ भन्दा पनि सक्नेछ भन्ने कुरा छ । अनि बिरामी मान्छे,उपचार गर्नुपर्ने मान्छे,औषधि खाएको रिपोर्ट छ । हर्टको प्यासेन्ट हो ।
एक दिनअघि शनिबार बिदाको दिन मिसिल झिकाएर हेरेको पनि होइन । आयो भनेपछि बयान गराएर आदेश गरेको हो । पहिल्यै नै हेरेको होइन । घरबेटीसँगको मिलेमतोमा डेढ/दुई करोड चलखेलको आरोप गलत हो ।
म आएकै त दुई/तीन साता भएको छ । घरबेटीसँग खासै चिनजान पनि छैन । भदौ १६/१७ गतेतिर आएको हो । पहिलेदेखि नै न्यायाधीश त्यही घरमा बसेको अवस्था हो । अर्को श्रीमान् हटेपछि म पनि त्यहाँ बसेको हो । सामानहरू छन् भनेर अर्को डेरा खोज्नुभन्दा त्यहीँ बस्ने कुरा भयो ।
यो सबै ड्यामेज गर्नका लागि हल्ला चलाइएको हो । मैले कि थुनामा पठाउने,कि धरौटीमा छाड्ने,कि साधारण तारेखमा छाड्ने हो । ऊ आफैं आएको हो । तुरुन्तै भाग्ने भए किन आउँथ्यो?अनि मैले धरौटी लिएर छाडेको विषय हो । बिरामी भएर उपचार गराइरहेको,६२/६३ वर्षको ज्येष्ठ नागरिक भएको हुनाले धरौटीमा छाडेको हो ।
फेरि यो राजस्व अनुसन्धानको विषय हो । भारतीय मान्छेकै पनि ५ करोड बिगो भएकोमा उच्च अदालतले राजस्व चुहावट कसुरमा २/३ लाख धरौटी लिएर छाडेका उदाहरण छन् । मैले त ५५ लाख धरौटी लिएको हो ।
यसलाई त्यति उचाल्नुपर्ने स्थिति पनि थिएन । यसो गर्यो,उसो गर्यो भनेर आरोप लगाउँदा पनि हामीलाई क्षति त हुने नै भयो नि! पहिले त मान्छे नै नआएको भने । तर,त्यो त झुटो ठहरियो नि । मान्छे आएको छ । ल्याप्चे लगाएको छ । भिडियो नै छ । अब अभियोग आउँदैमा थुन्नैपर्छ भन्ने कुरा फेयर ट्रायलका लागि त्यति राम्रो विषय पनि होइन ।
फेरि उनीहरूले त्यो सुन हाम्रो हो भनेर स्वीकार पनि गरेका छैनन् । डेढ दुई वर्षदेखि त्यस फ्ल्याटमा आफूहरू नबसी बाहिर बस्ने गरेको,फ्ल्याट लक्ड भएको अवस्थामा आफन्तहरू आउने/जाने गरेको भनेर बयान दिएका छन् ।
बरामद भएको सुन नेपाल राष्ट्र बैंकमा पठाइएको छ । खातामा भएको ३/४ करोड रुपैयाँ पनि रोक्का छ । अनि त्यसमा मैले ५५ लाख रुपैयाँ धरौटी पनि मागेको छु । कानूनमा नै पनि न्यायाधीशले विवेक पुर्याएर गर्ने विषय हो । मैले कुनै बदमासी गरेको छैन ।
अहिलेको मात्र कुरा होइन नि!बिगो ठूलो भएकोमा थुन्नै पर्ने भन्ने कुरा पनि ठीक होइन । आफै सरेन्डर गरेर आएको मान्छे अहिल्यै भाग्छ भनेर अनुमान पनि गर्नु भएन । प्रहरीले समातेर ल्याएको होइन । बारले त्यसरी उचाल्नुपर्ने विषय नै थिएन । मैले कानूनबमोजिम नै गरेको हो ।