२६ असार २०८३, शुक्रबार
वर्षा र बाढीको कहर

भारी वर्षाले देशभरको जनजीवन अस्तव्यस्त, कहाँ-कहाँ के भयो ?

असोज १८, २०८२
काठमाडौं
भारी वर्षाले देशभरको जनजीवन अस्तव्यस्त, कहाँ-कहाँ के भयो ?

भारी वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । वर्षात्‌का कारण देशभरका मुख्य राजमार्गमा सवारी आवागमन ठप्प बन्न पुगेको छ । जसका कारण दशैँ मनाएर काठमाडौं आउने यात्रुहरू बिचल्लीमा परेका छन्। 

यतिबेला काठमाडौंबाट बाहिरिने र भित्रिने राजमार्ग (पृथ्वी राजमार्ग, अरनिको राजमार्ग र बीपी राजमार्ग)बाट आवतजावत हुने सार्वजनिक यातायात पूर्ण रूपमा बन्द गरिएको छ । भारी वर्षा र त्यसपछिको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । 

जिल्ला प्रहरी कार्यालयका चितवनका प्रमुख गोविन्द पुरीका अनुसार तुइन खोलामा अहिले पनि पहिरो खस्ने क्रम जारी छ । उपत्यका बाहिरिने र भित्रिने यात्रुको चाप बढे पनि बाढी पहिरोका कारण अहिले सवारी आवागमनमा रोक लगाइएको छ ।

उनका अनुसार अत्यधिक वर्षाका कारण अहिले मुख्य राजमार्गबाट हुने सवारी आवागमनमा रोक लगाइएको हो । नारायणी नदीमा पानीको बहाव उच्च तहमा पुगेको छ । यो सँगै बाढी र पहिरो प्रभावित क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ ।

काठमाडौंका ८२ स्थानमा बाढी प्रभावित क्षेत्र तोकेर प्रहरीले सतर्कता अपनाउन सर्वसाधारणमा अपिल जारी गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले काठमाडौंका ८२ स्थानलाई बाढी प्रभावित क्षेत्र पहिचान गरेर आवश्यक प्रहरी परिचालन गरिएको जानकारी दिए । 

उनका अनुसार बल्खु, टेकु, बालाजु, साँखु, थापाथली लगायत क्षेत्रमा बाढीको उच्च जोखिम भएकाले सर्वसाधारणलाई सावधानी अपनाउन भनिएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार बल्खुबाट दुई जना, टेकुबाट ५० जना, थापाथलीबाट ४० जनालाई स्थानान्तरण गरिएको छ । 

उनका अनुसार हाल १० हजार प्रहरी परिचालित छन् । काठमाडौंमा मात्रै १३ सय ५० जना  परिचालित छन् । बल्खु, थापाथली, टेकु, स्वयम्भू, चोभार, ललितपुरको ठैव बाढीको उच्च प्रभावित क्षेत्र रहेको ठम्याउँदै उद्धारका लागि प्रहरीलाई तयारी अवस्थामा राखिएको छ । 

काठमाडौंमा हाल बाढीमा एक जना बेपत्ता बाहेक मृत्युको सूचना प्रहरीसमक्ष आइपुगेको छैन । 

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङका अनुसार मधेश प्रदेश र बागमती प्रदेश बाहेक अन्य प्रदेशमा बाढीको प्रभाव छैन । प्रहरीलाई उपलब्ध स्रोत साधन उपयोग गरेर प्रभावितलाई उद्धार गरिरहेको आईजी खापुङले बताए ।

यस्तै, पाँचथरको तमोर नदी नजिकै जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । 

जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोख्रेल लोकान्तरलाई जानकारी दिए । उनका अनुसार दुर्घटनामा थप ६ जना घाइते भएका छन् ।

प्रवक्ता पोख्रेलका अनुसार मे १ ज ३०५५ नम्बरको गाडी शनिबार दिउँसो करिब १:१० बजेतिर सडकबाट करिब ४०० मिटर तल तमोर नदी किनारमा खसेको हो । गाडीमा चालकसहित १२ जना सवार थिए ।

दुर्घटनामा ३ पुरुष र ३ महिलाको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्