
नेपाली राष्ट्रिय पुरुष फूटबल टोलीले बिहीबार भियनतामसँग उसैको घरेलु मैदानमा पहिलो खेल खेल्दैछ । खेल सन् २०२७ मा आयोजना हुने एएफसी एसियन कपको तेस्रो चरणको छनोटअन्तर्गत खेल्न लागिएको हो ।
नेपाल र भियतनामबीचको खेल नेपाली समय अनुसार, साँझ १८:१५ बजे शुरू हुनेछ । त्यसलगत्तै भियतनामसँगै नेपालले दोस्रो खेल खेल्नेछ । नेपाल र भियतनामबीचको दोस्रो खेल असोज २८ गते खेलिने छ ।
नेपाली टोली छनोट प्रतियोगिताको समूह ‘एफ’ मा रहेको छ । उक्त समूहमा मलेसिया र लाओस पनि रहेका छन् । प्रत्येक समूहमा रहेका टोलीहरूले ‘होम एन्ड अवे’ का आधारमा एक–अर्कासँग दुई–दुई खेल खेल्नुपर्ने हुन्छ ।
एसियन कप छनोटमा नेपाली टोलीको अवस्था सन्तोषजनक छैन । समूहका चारवटै टोलीले दुई–दुई खेल खेलिसक्दा नेपालले अंकको खातासम्म खोल्न सकेको छैन । आफ्नो दुवै खेलमा पराजित भएको नेपाली टोली तालिकामा सबैभन्दा तल छ ।
गत चैत १२ गते खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली मलेसियासँग ०–२ गोलले पराजित भएको थियो । उक्त खेल मलेसियाको घरेलु मैदानमा खेलिएको थियो ।
यसैगरी, गत जेठ २७ गते खेलिएको आफ्नो दोस्रो खेलमा पनि नेपाली टोली तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी लाओससँग १–२ गोलले पराजित भएको थियो । त्यो खेल पनि लाओसको घरेलु मैदानमा खेलिएको थियो । उक्त खेलमा नेपालका लागि एक मात्र गोल मनिष डाँगीले गरेका थिए ।
विश्व फूटबल महासंघ (फिफा)द्वारा घोषित पछिल्लो वरीयतामा नेपाली टोली लाओसभन्दा अगाडि छ । वरीयतामा नेपाल १७६औं र लाओस १८५औं स्थानमा छन् । मलेसिया र भियतनाम फिफा वरीयतामा नेपालभन्दा अगाडि छन् । पछिल्लो वरीयतामा भियतनाम ११४औं र मलेसिया १२३औं स्थानमा छन् ।
एसियन कप छनोटको समूह ‘एफ’ तालिकामा ६ अंकसहित मलेसिया पहिलो स्थानमा छ । मलेसियाले भियतनामलाई पनि ४–० गोलले हराएको थियो । दुई खेलबाट तीन अंक बटुलेको भियतनाम तालिकाको दोस्रो स्थानमा छ ।
तालिकाको तेस्रो स्थानमा आसीन लाओसले पनि दुई खेलबाट तीन अंक जोडेको छ । लाओसको टोली आफ्नो पहिलो खेलमा भियतनामसँग ५–० गोलले विजयी भएको थियो । तालिकामा सबैभन्दा तल रहेको नेपालले भने हालसम्म अंक बटुल्न सकेको छैन ।
छनोट प्रतियोगिताको समापनपछि प्रत्येक समूहको पहिलो स्थानमा रहने एक–एक टोलीले सन् २०२७ मा साउदी अरेबियामा आयोजना हुने एसियन कपको १९औं संस्करणमा स्थान सुरक्षित गर्नेछन् ।
त्यसैले भियतनामविरुद्धको खेल नेपाली टोलीका लागि निकै महत्त्वपूर्ण छ । भियतनाम भ्रमण पनि निराशाजनक भए नेपाली टोलीको एसियन कप खेल्ने सपना चकनाचुर हुनेछ । नेपाली टोलीले अब भियतनामविरुद्धको दुई खेलसँगै मलेसिया र लाओससँग पनि एक–एक खेल खेल्न बाँकी छ ।
भियतनामविरुद्ध खेल्ने नेपाली टोलीमा अभिषेक लिम्बू, अनन्त तमाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार (गोलरक्षक), दीप कार्की (गोलरक्षक), दिनेश हेन्जन, जिलेस्पीजङ कार्की, किरणकुमार लिम्बू (गोलरक्षक), कृतिशरत्न छुन्जु, कुशल देउवा, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहन कार्की, सनिश श्रेष्ठ, सुवाष ठकुरी बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र योगेश गुरुङ रहेका छन् ।
यसपटक पनि एन्फाले ‘जम्बो’ टोली भियतनाम पठाएको छ । यसअघि, अन्तर्राष्ट्रिय प्रतियोगितामा पटक–पटक अनावश्यक व्यक्तिलाई पठाएको भन्दै एन्फालाई स्पष्टीकरण सोध्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ आफैंले यसपटक भियतनाम जाने टोलीलाई बिदाइ गरेका हुन् ।

एन्फा स्रोतका अनुसार, यसपटक ४० सदस्यीय नेपाली टोली भियतनाम पुगेको छ । नेपाली टोलीमा खेलाडी, प्रशिक्षण समूह, व्यवस्थापक, चिकित्सक, मिडिया अफिसरका अतिरिक्त ठूलो संख्यामा अन्य व्यक्तिलाई पनि समावेश गरिएको छ ।
नेपाली टोलीले हालसम्म एएफसी एसियन कप खेल्न सकेको छैन । सन् १९५६ देखि शुरू भएको एएफसी एसियन कप प्रत्येक चार वर्षमा आयोजना हुँदै आएको छ । शुरूआति संस्करणमा चारवटा टोलीले मात्र सहभागिता जनाएको एसियन कपमा पछिल्लो समय टोलीको संख्या बढाएर २४ पुर्याइसकिएको छ ।
००००
दशरथ रंगशालाको निलम्बन र उदासीन खेल पदाधिकारी
एसियन कपको छनोट प्रतियोगितामा नेपाली टोलीले भियतनाम, मलेसिया र लाओससँग एक–एक खेल आफ्नो घरेलु मैदानमा खेल्नु पर्ने हो । तर, नेपाली टोलीले घरेलु मैदानमा खेल्नु पर्ने भियतनामविरुद्धको दोस्रो खेल पनि असोज २८ गते विपक्षीकै मैदानमा खेल्ने तय भइसकेको छ ।
यसैगरी, नेपाली टोलीले घरेलु मैदानमा आगामी मंसिर २ गते खेल्नु पर्ने मलेसियाविरुद्धको खेल पनि विपक्षीकै मैदानमा खेल्नेछ । यसका अतिरिक्त, नेपाली टोलीले आगामी चैत १७ गते लाओसविरुद्धको खेल पनि घरेलु मैदानमा खेल्न पाउने सम्भावना देखिँदैन ।
यसको प्रमुख कारण हो, एसियाली फूटबल महासंघ (एएफसी) ले नेपालको एक मात्र अन्तर्राष्ट्रिय फूटबल स्टेडियम ‘दशरथ रंगशाला’ लाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य घोषित गर्नु ।

एएफसीले पटक–पटक दशरथ रंगशालालाई ‘अयोग्य’ को सूचीमा राख्दै आएको छ । पछिल्लो पटक दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि ‘अयोग्य’ को सूचीमा राखिएको एक वर्षभन्दा पनि लामो समय बितिसकेको छ ।
समग्र नेपाली खेलकुदका लागि यो निराशाजनक पक्ष हो । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फूटबल संघ (एन्फा) ले रंगशालाको स्तरोन्नतितर्फ खासै ध्यान पुर्याएको देखिँदैन । यो झनै दु:खद् पक्ष हो ।
निलम्बनकै कारण लामो समयदेखि नेपाली पुरुष राष्ट्रिय टोलीले घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन । २०८१ साउन २९ गते दशरथ रंगशालामा एएफसी च्यालेन्ज लिग फूटबल प्रतियोगिता खेलाइएको थियो ।
त्यतिबेला सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लबले भुटानको पहिलो श्रेणीको लिग विजेता पारो फूटबल क्लबसँग भिडन्त गरेको थियो । उक्त खेलमा भुटानी क्लब पारोले नेपालको चर्च ब्वाइजलाई २–१ गोलले हराएको थियो ।
त्यो खेल हुनुअघि पनि दशरथ रंगशाला एएफसीको निलम्बनमा थियो । त्यतिबेला क्लबस्तरीय नै भए पनि नेपाली फूटबल पारखीले करिब आठ महिनापछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्ने अवसर पाएका थिए ।
त्योभन्दा करिब आठ महिनाअघि २०८० मंसिरमा दशरथ रंगशालामा अन्तिम प्रतियोगिताका रूपमा विश्वकप छनोटअन्तर्गत नेपाल र यमनबीचको खेल खेलिएको थियो । त्यसपछि नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग दशरथ रंगशालामै विश्वकप छनोट खेल खेल्नुपर्ने थियो ।

त्यसका लागि दशरथ रंगशालाको निरीक्षण गर्न २०८१ वैशाखमा एएफसीको प्राविधिक टोली नेपाल भ्रमणमा आएको थियो । प्राविधिकहरूले आफ्नो प्रतिवेदन एएफसीमा बुझाएका थिए ।
नेपाल र यूएईबीचको खेलको मिति नजिकिँदै गर्दा एका–एक एएफसीले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फूटबल खेल्न रोक लगाएको समाचार बाहिरिएको थियो । त्यो समाचारले हजारौँ घरेलु फूटबल समर्थकलाई मर्माहत बनाउनु स्वभाविक थियो ।
त्यतिबेला अझ रमाइलो पक्ष त के भने, एएफसीले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फूटबल खेलाउन रोक लगाएको समाचार यस्तो बेला बाहिरिएको थियो, जतिबेला युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सम्बन्ध एन्फासँग चिसिएको थियो ।
त्यतिबेला विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन खेल टोली पठाउँदा ठुलो संख्यामा अनावश्यक व्यक्तिलाई पठाएको भन्दै मन्त्रालयले राखेपमार्फत एन्फासँग पटक–पटक स्पष्टीकरण सोधिरहेको थियो । अर्कोतिर, राखेपले एन्फालाई दशरथ रंगशालाको रेखदेख पनि आफैँले गर्न परिपत्रसमेत जारी गरेको थियो ।
यसरी घरेलु खेलकुदमा प्रमुख खेल निकायहरूबीचको सम्बन्ध चिसिएका बेला एकाएक एएफसीले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन रोक लगाएको थियो । त्यसपछि नेपालले घरेलु मैदानमा खेल्नुपर्ने यूएईविरुद्धको विश्वकप छनोट खेल पनि साउदी अरेबियामा खेल्नुपरेको थियो ।
त्यतिबेला एएफसीले दशरथ रंगशालाको विषयमा खासगरी तीनवटा प्रश्न उठाएको थियो । पहिलो, दशरथ रंगशालाको खेल मैदान, दोस्रो रंगशालाको सुरक्षा अवस्था र तेस्रो फ्लड लाइट (रंगशालामा प्रयोग गरिने कृतिम प्रकाश) ।
२०८१ साउन २९ गते दशरथ रंगशालामा एएफसी च्यालेन्ज लिग फूटबल प्रतियोगिता दशरथ रंगशालामा खेलाउन पनि एएफसीले सशर्त निलम्बन फुकुवा गरेको त्यतिबेला एन्फा अधिकारीहरूले जानकारी गराएका थिए ।
त्यतिबेला एएफसी च्यालेन्ज कपमा चर्च ब्वाइज र भुटानको पारोबीचको खेल पनि निकै दयनीय अवस्थामा खेलाइएको थियो । उक्त खेल हुनुभन्दा एक दिनअघि जापानका चर्चित खेलाडी केइसुके होन्डाले दशरथ रंगशालाको विषयमा गम्भीर टिप्पणी गरेका थिए ।
तीनपटक विश्वकप फूटबल खेलिसकेका होण्डाले दशरथ रंगशालाको अवस्था निराशाजनक रहेको बताएका थिए । उनी पारो फूटबल क्लबबाट खेल्न नेपाल आएका थिए । होण्डासँगै भुटानी क्लबका प्रशिक्षक पुष्पलाल शर्माले पनि रंगशालाको अवस्थाको बारेमा प्रश्न उठाएका थिए ।

दूर्भाग्य, होण्डा र भुटानी क्लबका प्रशिक्षक शर्माले रंगशालाको विषयमा टिप्पणी गरेको भोलिपल्ट खेल शुरू हुनुभन्दा केही घण्टाअघि काठमाडौँमा भारी वर्षा भयो । त्यसैले वर्षाको पानीले थिलथिलो बनाएको रंगशालामा उक्त खेल खेल्नु परेको थियो ।
अवस्था कतिसम्म निरीह थियो भने, खेलका क्रममा दशरथ रंगशालाको खेल मैदान धान रोप्न तयार पारिएको खेतजस्तो बन्न पुगेको थियो । खेल सकेर मैदानबाट बाहिरिँदै गरेका अधिकांश खेलाडी हिलोमा लत्पत्तिएर चिन्न सकिने अवस्थामा थिएनन् ।
त्यसपछि पाहुना टोलीका खेलाडी र प्रशिक्षकले लगाएको आरोपलाई थप बल पुगेको थियो । त्यो खेलमा पाहुना टोली विजयी भएकाले उनीहरूले खेलपछि यसलाई ठूलो गुनासोको विषय बनाएनन् । त्यसलगत्तै दशरथ रंगशाला फेरि एएफसीको निलम्बनमा परेको थियो ।
लामो समयदेखि दशरथ रंगशाला एएफसीको निलम्बनमा रहे पनि यही रंगशालामा एन्फाले यसबीचमा अन्तर्राष्ट्रिय महिला फूटबल प्रतियोगिता भने आयोजना गरिसकेको छ । पुरुष अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नमिल्ने तर, महिलाको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न मिल्ने एएफसीको यो निलम्बन पनि आफैंमा अनौठो देखिन्छ ।
००००
के भन्छन् सम्बद्ध खेल अधिकारी ?
एन्फाका प्रवक्ता सुरेश साहका अनुसार, एएफसीले पछिल्लोपटक दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य घोषित गर्दा पनि फ्लड लाइट, मैदानको अवस्था, दर्शकको सुरक्षा, ड्रेनेज सिस्टम (वर्षाको पानी निकासको अवस्था) जस्ता कुरालाई नै मुख्य आधार बनाएको छ ।
प्रवक्ता साह एएफसीले उठाएको विषयलाई अल्पकालीन र दीर्घकालीन गरी दुई भागमा विभाजन गरेर क्रमश: सुधार गर्दै लैजानु पर्ने बताउँछन् ।
‘दशरथ रंगशाला राष्ट्रिय खेलकुद परिषद्को स्वामित्वमा छ । त्यसैले एन्फाले चाहेर पनि सबै काम आफैँले गर्न सक्दैन । हामीले एएफसीले देखाएको चासोको बारेमा राखेपलाई जानकारी गराउँदै आएका छौं,’ उनी भन्छन् ।
फ्लड लाइटलगायतका सामान्य विषयहरू तत्कालै समाधान गर्न सकिने भए पनि अन्य विषयमा राखेपले नै सक्रियता देखाउनु पर्ने उनी बताउँछन् ।
‘अल्पकालीन रूपमा हुने केही समस्यालाई एन्फा आफैंले समाधान गर्न सक्छ । तर, भीआईपी प्यारापिटमा जाने बाटो, ड्रेनेज सिस्टमजस्ता विषयहरू एन्फाले चाहेर पनि तत्काल समाधान हुन सक्दैन । यसका लागि राखेपको सक्रियता चाहिन्छ र केही समय पनि लाग्छ,’ साह भन्छन् ।
राखेपका एक अधिकारी भने दशरथ रंगशाला मर्मतका लागि चालू आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरिएको बताउँछन् । ‘रंगशाला मर्मतका लागि बजेट विनियोजन भएको छ । तर, देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि धेरै शीर्षकको बजेट अहिले रोक्का राखिएको छ । त्यसैले अहिले नै केही भन्न सकिने अवस्था छैन,’ उनले लोकान्तरसँगको कुराकानीमा भने ।
००००
यस्तो छ रंगशालाको अवस्था
दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) को आठौं संस्करण सन् १९९९ मा नेपालमा आयोजना भएको थियो । त्यसअघि लामो समयदेखि दशरथ रंगशालाको खेल मैदान पुन:निर्माण गरिएको थिएन । आठौँ साफका क्रममै दशरथ रंगशालाको खेल मैदान पनि पुन:निर्माण गरिएको थियो ।
तर, पछिल्लो २६ वर्षयता यो रंगशालाको खेल मैदान पुन:निर्माण गरिएको छैन । दशरथ रंगशालामा वर्षाको पानी निकासका लागि ‘ड्रेनेज’ को प्रविधिमा पनि सुधारको खाँचो देखिएको छ ।
‘रंगशालाको खेल मैदान लामो समयदेखि पुन:निर्माण हुन सकेको छैन । पानी निकासका लागि ड्रेनेजमा पनि सुधारको खाँचो छ,’ राखेपअन्तर्गतको पूर्वाधार तथा मर्मत शाखाका एक अधिकारी भन्छन् । केही समयअघि राखेपले रंगशालाको खेल मैदानमा केही सुधारको काम गरेको थियो । तर, रंगशाला सुधारका लागि त्यो काम पर्याप्त भने थिएन ।
यसैगरी, आठौं साफकै क्रममा चीन सरकारको सहयोगमा दशरथ रंगशालामा सेन्थेटिक एथलेटिक्स ट्र्याक, फ्लड लाइट र डिजिटल स्कोर बोर्ड जडान गरिएको थियो । त्यतिबेला दशरथ रंगशालामा पूर्वाधार तयार पार्दा नै फ्लड लाइटमा समस्या आएको विज्ञहरू बताउँछन् ।
आठौँ साफका लागि फ्लड लाइट र एथ्लेटिक्सको सेन्थेटिक ट्र्याक चीन सरकारले बनाएको भए पनि फूटबल मैदान चीन सरकारको सहयोगमा बनेको होइन । त्यसैले त्यतिबेला चीनका प्राविधिकहरूले फ्लड लाइटलाई आफूहरूले नबनाएको फूटबल मैदानभन्दा पनि आफूहरूले बनाएको एथलेटिक्स ट्र्याकमा बढी फोकस गरिदिएका थिए । फ्लड लाइटमा देखिएको समस्या त्यही हो ।
यसैगरी, एएफसीले दशरथ रंगशाला पुरानो भएकाले खेलका क्रममा कुनै दुर्घटना हुनसक्ने आशंकाबीच दर्शक, खेलाडी र खेल पदाधिकारीहरूको सुरक्षाको प्रत्याभूति पनि खोजेको छ । ६५ वर्षभन्दा लामो इतिहास बोकेको दशरथ रंगशालाको अवस्था बुझ्न राखेपले २०७२ सालको भूकम्पअघि प्राविधिकहरू खटाएर परीक्षण गरेको थियो ।
त्यतिबेला ह्यामर टेस्ट, गन टेस्टजस्ता विभिन्न विधिमार्फत दशरथ स्टेडियमको साधारण र भीआईभी प्यारापिटको अवस्था परीक्षण गरेको थियो । त्यतिबेला प्राविधिकहरूको सुझावमा केही सुधारको काम पनि गरिएको थियो ।

यसैगरी, २०७२ सालको भूकम्पअघि राखेपले दशरथ रंगशालाको साधारण प्यारापिटतर्फ ‘रेट्रोफिटिङ’ को काम पनि गरेको थियो । रेट्रोफिटिङको काम सकिएलगत्तै देशमा विनाशकारी भूकम्प गयो । राखेप स्रोतका अनुसार, त्यतिबेला भूकम्पले ‘रेट्रोफिटिङ’ गरिएको साधारण प्यारापिटतर्फ कुनै असर नगरे पनि भीआईपी प्यारापिटतर्फ भने केही स्थानमा क्षति पुर्याएको थियो ।
यसैगरी, सन् २०१९ मा दक्षिण एसियाली खेलकुदको १३औं संस्करण नेपालमा आयोजना भएको थियो । त्यसलाई ध्यानमा राखी राखेपले दशरथ रंगशालाको भौतिक संरचना र पूर्वाधारमा केही परिवर्तन पनि गरेको थियो । त्यस क्रममा साधारण प्यारापिटतर्फ छानो हाल्ने काम भएको थियो ।
त्यसअघि भीआईपी प्यारापिटतर्फ ढलान गरिएको छत थियो । सन् २०१९ को साग खेलकुदअघि भीआईपी प्यारापिटतर्फ पनि पुरानो छतलाई हटाएर हल्का छत हाल्ने काम भयो । तर, एएफसीले पटक–पटक सुरक्षाको विषयमा प्रश्न उठाउँदै आएको छ ।
खासगरी दशरथ रंगशालामा ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा कुनै दुर्घटना भए तत्काल खेलाडी, दर्शकलगायतलाई कसरी बाहिर निकाल्ने भन्ने विषयमा एएफसीले गम्भीर चासो व्यक्त गर्दै आएको छ ।
यसअघि, पनि दशरथ रंगशालामा यस्तो त्रासदीपूर्ण घटना भइसकेको छ । २०४४ साल फागुन २९ गते त्रिभुवन च्यालेन्ज शिल्डअन्तर्गत जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धाबीच खेल भएको थियो । सोही खेलका क्रममा अचानक आँधिबेहरी र असिनासहितको वर्षा भएपछि आत्तिएका दर्शकहरू रंगशालाबाट बाहिरिने क्रममा भागदौड हुँदा दर्जनौं व्यक्तिको निधन भएको थियो ।