
ओमानमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया–प्रशान्त क्षेत्रीय छनोटअन्तर्गत सोमबार जारी ‘सुपर–६’ चरणको खेलमा नेपालले कतारलाई जितका लागि एक सय ४८ रनको मध्यम लक्ष्य दिएको छ ।
टस हारी पहिले नेपालको निम्तो पाएको नेपाली टोलीले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ४७ रन बनाएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले उत्कृष्ट अर्धशतकीय पाली खेले ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका रोहितले ५८ रन बनाए । टोली अप्ठ्यारो स्थितिमा रहँदा कप्तान रोहितले ४१ बलको सामना गरी एक छक्का र सात चौका पनि हिर्काए ।
२३ वर्षीय रोहितले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो आठौँ अर्धशतक हो । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार ६ सय रन पनि पूरा गरेका छन् ।
नेपाली टोलीले दुबै ओपनर ब्याट्सम्यानलाई सस्तैमा गुमाएको थियो । टोलीको कुल स्कोर २५ रन रहँदा नै नेपालले दुई महत्वपूर्ण विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल आठ बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै पेभेलियन फर्किए ।
अर्का ओपनर आसिफ शेख पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् । उनले १२ बलको सामना गरी एक चौका हिर्काए । चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्ल पनि १० बलमा एक छक्काको मद्दतले आठ रन बनाउँदै तेस्रो विकेटका रुपमा पेभेलियन फर्किएका थिए ।
कुशल मल्ल आउट हुँदा नेपालको स्कोर केवल ४८ रन थियो । त्यसपछि कप्तान रोहित र पाँचौँ नम्बरका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले नेपालको पाली सम्हालेका थिए । रोहित र दीपेन्द्रले टोलीको स्कोरलाई एक सय १० रनको सम्मानजनक स्थितिसम्म डोर्याएका थिए ।
१५औँ ओभरको अन्तिम बलमा दीपेन्द्र २६ रन बनाउँदै आउट भएपछि यी अनुभवी खेलाडीबीचको साझेदारी तोडिएको थियो । दीपेन्द्रले २२ बलमा एक चौका पनि प्रहार गरे ।
दीपेन्द्र आउट भएपछि क्रिज समाल्न आएका आदिल आलम भने ६ बलमा केवल दुई रन बनाउँदै आउट भए । आदिल आउट हुँदा नेपालको कुल स्कोर एक सय १४ रन थियो ।
आदिल आउट भएलगत्तै १७औँ ओभरको चौथो बलमा कप्तान रोहित पनि पेभेलियन फर्किए । सातौँ नम्बरमा ब्याटिङ गर्न आएका गुलसन झाले टोलीको खातामा १६ रन थपे । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका गुलसनले केवल आठ बलमा दुई छक्का प्रहार गरे ।
रोहितको स्थान लिन आएका सन्दीप जोरा दुई बलमा एक रन बनाउँदै मैदानबाट बाहिरिए । सोमपाल कामीले नौ बलमा एक छक्काको मद्दतले १४ रन बनाए । उनी अन्तिम ओभरको अन्तिम बलमा रन आउट भए ।
नन्दन यादव एक रनमा अविजित रहे । नेपालले अतिरिक्त रुपमा चार रन पायो । कतारका बलर ड्यानियल लुइसले तीन विकेट लिए । मिर्जा बेगले पनि तीन विकेट हात पारे ।
एसिया–प्रशान्त क्षेत्रको यो अन्तिम चरणको छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट तीनवटा टोली आगामी टी–२० विश्वकपमा छनोट हुने प्रावधान रहेको छ ।
सोमबारको खेलमा विजयी भए नेपाली टोलीको तेस्रो पटक टी–२० विश्वकप खेल्ने सम्भावना निकै बलियो बन्नेछ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ मा टी–२० विश्वकप खेलिसकेको छ ।
जारी प्रतियोगिताको ‘सुपर–६’ चरणमा चार अंकसहित नेपाल दोस्रो स्थानमा छ । नेपालभन्दा एक खेल बढी खेलेको आयोजक ओमान ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ ।
ओमानले सोमबार नै खेलिएको खेलमा बलियो प्रतिद्वन्द्वी यूएईलाई पाँच विकेटले हराउँदै आफ्नो अंक ६ पुर्याएको हो । यूएई दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।
दुई अंक जोडेको जापान चौथो स्थानमा छ । ‘सुपर–६’ चरणमा पाँचौँ स्थानमा आसिन सामोआ र छैटौँ स्थानमा आसिन कतारले भने हालसम्म अंक बटुल्न सकेका छैनन् ।