०७ साउन २०८३, बिहीबार

भियतनाममा खेलिएको ‘होम गेम’मा पनि हार्‍यो नेपाल, आत्मघाती गोल नै निर्णायक

असोज २८, २०८२
काठमाडौं
भियतनाममा खेलिएको ‘होम गेम’मा पनि हार्‍यो नेपाल, आत्मघाती गोल नै निर्णायक

खेलको प्रारम्भमै भएको आत्मघाती गोलका कारण नेपाली टोली एएफसी एसियन कपको तेस्रो चरणको छनोट अन्तर्गत मंगलबार खेलिएको खेलमा भियतनामसँग पराजित भएको छ ।

नेपाली टोली आयोजक राष्ट्र भियतनामसँग ०-१ गोलले पराजित भएको हो । नेपाली टोलीको एएफसी एसियन कपमा छनोट हुने सम्भावना पनि समाप्त भइसकेको छ ।

खेलको प्रारम्भमै नेपाली टोलीबाट आत्मघाती गोल भएको थियो । खेल शुरू भएको पाँचौं मिनेटमै नेपाली टोलीका खेलाडी सुमन श्रेष्ठबाट आत्मघाती गोल भएको थियो । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन ।

नेपाली टोलीले भियतनामको घरेलु मैदानमा आफ्नो ‘होम गेम’ खेलेको हो । सन् २०२७ मा आयोजना हुने एएफसी एसियन कपको तेस्रो चरणको छनोटअन्तर्गत यो खेल खेलिएको हो ।

यसअघि, असोज २३ गते नेपाली टोलीले भियतनामकै हो ची मिन्ह सिटीस्थित घरेलु मैदानमा ‘अवे खेल’ खेलेको थियो । उक्त खेलमा पनि भियतनामले नेपाललाई ३–१ गोलले हराएको थियो ।

मंगलबारको खेल नेपालले घरेलु मैदानमा खेल्नुपर्ने थियो । तर, नेपालको एक मात्र अन्तर्राष्ट्रिय फुटबल स्टेडियम ‘दशरथ रंगशाला’ एसियाली फुटबल महासंघ (एएफसी)को निलम्बनमा परेकाले नेपालले दोस्रो लेग खेल पनि भियतनामको घरेलु मैदानमा खेल्नु परेको हो ।

एसियन कपको जारी छनोट प्रतियोगितामा नेपालले हालसम्म एक खेल पनि जित्न सकेको छैन । प्रतियोगितामा नेपाली टोलीले भोगेको यो चौथो हार हो ।

नेपाल समूह ‘एफ’ तालिकाको सबैभन्दा तल (चौथो स्थानमा) छ । नेपाली टोली गत चैत १२ गते खेलिएको आफ्नो पहिलो खेलमा मलेसियासँग ०-२ गोलले पराजित भएको थियो ।

यसैगरी, गत जेठ २७ गते खेलिएको आफ्नो दोस्रो खेलमा पनि नेपाली टोली तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी लाओससँग १-२ गोलले पराजित भएको थियो ।

यसैगरी, असोज २३ गते खेलिएको तेस्रो खेलमा नेपाली टोली भियतनामसँग १–३ गोलले पराजित भएको थियो ।

अब नेपाली टोलीले मलेसिया र लाओससँग एक–एक खेल खेल्नु पर्नेछ । नेपाल र मलेसियाबीचको खेल आगामी मंसिर २ गते तथा नेपाल र लाओसबीचको खेल आगामी चैत १७ गते खेलिने छ ।

salt training

कमेन्ट गर्नुहोस्