०९ साउन २०८३, शनिबार

युरोपबाट आगामी विश्वकपमा छनोट हुने पहिलो राष्ट्र बन्यो इङ्ल्यान्ड

असोज २९, २०८२
काठमाडौं
युरोपबाट आगामी विश्वकपमा छनोट हुने पहिलो राष्ट्र बन्यो इङ्ल्यान्ड

युरोपेली क्षेत्रबाट छनोट चरण पार गर्दै इङ्ल्यान्ड आगामी फिफा पुरुष विश्वकप फुटबल प्रतियोगितामा स्थान सुरक्षित गर्ने पहिलो राष्ट्र बनेको छ । इङ्ल्यान्डको टोली युरोपेली क्षेत्रको समूह ‘के’ बाट विश्वकपमा छनोट भएको हो ।

इङ्ल्यान्डले आफ्नो पछिल्लो खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी लात्भियामाथि ५–० गोलको सजिलो जित हासिल गर्‍यो । उक्त खेलमा इङ्ल्यान्डको जितमा ह्यारी केनले दुई गोलको योगदान गरे । एन्थोनी गोर्डन र अब्रेची एजेले पनि एक–एक गोल गरे ।

अर्को एक गोल भने लात्भियाका खेलाडीबाट आत्मघाती रूपमा भएको थियो । समूह ‘के’ को छनोटमा हालसम्म ६ खेल खेलेको इङ्ल्यान्डले १८ अंक बटुलिसकेको छ । इङ्ल्यान्डले सबै खेलमा जीत हात पारेको छ ।

इङ्ल्यान्डले विपक्षीको पोष्टमा १८ गोल गसिकेको छ भने आफूले एक गोल पनि खाएको छैन । तालिकाको दोस्रो स्थानमा आसिन अल्बानियाले ६ खेलबाट ११ अंकमात्र बटुल्न सकेको छ । छनोट प्रतियोगिताको प्रत्येक समूहबाट एक–एक टोली सिधै विश्वकपमा छनोट हुने प्रावधान छ ।

इङ्ल्यान्ड विश्वकपको पूर्वविजेता पनि हो । इङ्ल्यान्डले सन् १९६६ मा विश्वकपको उपाधि उचालेको थियो । त्यसयता भने इङ्ल्यान्डले विश्वकपको उपाधि जित्न सकेको छैन ।

विश्वकप फुटबलको २३औँ संस्करण सन् २०२६ को जुन ११ देखि जुलाई १९ तारिखसम्म आयोजना हुँदैछ । आगामी विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रुपमा आयोजना हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्