
काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्दा दर्जनौं आधार लिएको छ ।
संगठित अपराध र भन्सार ऐन बमोजिमको कसुरअन्तर्गत उनीविरुद्ध दायर भएको पूरक अभियोगसहितको मुद्दामा बुधबार अदालतले थुनामा पठाउने आदेश गर्दा यस्ता आधार लिएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको बुधबारको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।
‘प्रतिवादी कृष्णबहादुर महराले त्रिवि भन्सार कार्यालयका प्रमुख प्रशासक अरुण पोखरेललाई फोन सम्पर्क गरेको व्यहोरा मौकामा अनुसन्धान अधिकारीसमक्ष तथा अदालतमा उपस्थित भइ गरेको बयान, यी प्रतिवादी कृष्णबहादुर महराका छोराले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान, घटना विवरण कागज गर्ने अरुण पोखरेल समेतले गरिदिएको घटना विवरण कागज समेतका तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादी अहिले नै आरोपित कसूरमा निर्दोष रहे भएको अवस्थाको विद्यमानता नदेखिई कसूरदार देखिने आधार भएको र निजलाई लागेको अभियोग समेतबाट थप प्रमाणहरू बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाल निज प्रतिवादी कृष्णबहादुर महरालाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राखी मुद्दा पुर्पक्ष गर्न ऐ, दफा ८० बमोजिम थुनुवा पुर्जी दिई थुनामा राख्नु भनी स्थानीय कारागार कार्यालयमा पठाइदिने गरी यो थुनछेक आदेश गरिदिएको छ,’ अदालतको आदेशमा भनिएको छ ।
महरा र दावजिङ वाङसँगको सम्पर्क र सम्बन्ध निरन्तर र पारिवारिक भइ व्यावसायिक सम्बन्ध सरह देखिई उनीहरूको मिलेमतो र सरसल्लाहमा संगठित रूपमा ई-सिगरेटमार्फत् सुनको भन्सार चोरी पैठारीमा संलग्न रहेको भन्ने आधार देखिएको भन्दै उनलाई थुनामा पठाउने आदेश भएको हो ।
दावाजिङ वाङको मोबाइल नम्बर ९८०१०***९८ र राहुल भन्ने रेशम महराको मोबाइल नम्बर ९८५११***८८, राहुलको श्रीमती विमला महराको मोबाइल नम्बर ९८४९***२२, महराले प्रयोग गर्ने मोबाइल नम्बर ९८५११***८८ बाट पटक पटक दावाजिङ वाङसँग कुराकानी भएको देखिएको आदेशमा उल्लेख छ ।
२०७९ फागुन २१ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुखको संयोजकत्वमा भएको मूल्यांकन समितिले ई-सिगरेट ७३० थानको जम्मा न्यूनतम मूल्य ५ लाख ११ हजार रूपैयाँ कायम गरेको थियो ।
अवैध माध्यमबाट आएको भनी उक्त ई-सिगरेट जफत गर्ने भनी भन्सार कार्यालयले गरेको निर्णयविरुद्ध भन्सार प्रमुख अरुण पोखरेललाई प्रतिवादी महरा आफैंले फोन गर्ने गरेको देखिएको आदेशमा उल्लेख छ ।
‘साथै उनको छोरा राहुल भन्ने रेशम महरा समेतले फोन गर्ने, कार्यालयमै गई भन्सार कार्यालय प्रमुखलाई समेत भनसुन समेत गरेको विवेचित तत्काल प्राप्त प्रमाणबाट समेत देखिएको छ । यसबाट अत्याधिक र अस्वाभाविक चासो रहेकोले आरोपित कसुरमा संलग्न देखिएको भन्ने व्यहोरालाई समर्थन नै गरेको अवस्था रहेको छ,’ आदेशमा उल्लेख छ ।
प्रतिवादी महराउपर परेको प्रहरी प्रतिवेदन, मुद्दाका सम्बन्धमा नेपाल सरकारबाट गठित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले तयार गरेको प्रतिवेदन, प्रतिवादी कृष्णबहादुर महरा र दावाजिङ वाङ तथा अन्य प्रतिवादी र शंकाको घेराभित्र रहेका व्यक्तिसँग भएको भन्ने मिसिल संलग्न रहेको फोन सम्पर्कको कलडिटेल लिंक चार्टलाई पनि थुनामा पठाउने आधारको रूपमा लिइएको छ ।
साथै, २०७९ पुस १० गते फ्लाई दुबईको फ्लाइटबाट नेपाल आएका चिनियाँ यात्रु लि ह्यानसङले लिई आएको २ बटा सुटकेसभित्र ठूलो परिमाणमा नियन्त्रणमा लिइएको इलेक्ट्रिक सिगरेट (भेप) र त्यसमा देखिएको अन्दाजी ९ किलो ग्राम र ११.५२४ ग्रामले हुन आउने ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बराबरको सुन आयात गरिएको भन्ने दिनेश बस्नेतको मौकाको बयानलाई पनि अदालतले आधारमा रूपमा लिएको छ ।
उनले ई-सिगरेटको सुन झिकी ६ करोडमा वेदप्रकाश अग्रवाललाई बेचेको भन्ने मौकाको बयान, प्रतिवादी रेवन्त खड्का, अग्रवाल समेतको मौकाको बयान समेतका तत्काल प्राप्त प्रमाणबाट महरा कसुरदार होइनन् भन्न सकिने अवस्था नरहेको भन्दै महरालाई थुनामा पठाउने आदेश गरेको अदालतले जनाएको छ ।
महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले गत आइतबार महरालाई उनकै निवास खुमलटारबाट पक्राउ गरेको थियो ।
महराको बयान मंगलबार भएको थियो भने बुधबार थुनछेक बहस भएको थियो । अदालतको आदेशपछि महरालाई केन्द्रीय कारागार जगन्नाथ देवल चलान गरिएको छ ।