
जेनजी आन्दोलनपश्चातको वर्तमान सन्दर्भलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेवा प्रवाहलाई सहज, सरल र प्रविधिमैत्री बनाउन ‘तत्काल सुधार कार्ययोजना २०८२’ कार्यान्वयनमा ल्याएको छ।
मन्त्रालयका अनुसार उक्त कार्ययोजना मन्त्रिस्तरीय बैठकको असोज २९ गतेको निर्णयबाट स्वीकृत भई लागू गरिएको हो।
सुधार योजनामा उद्योग क्षेत्रसँग सम्बन्धित २० वटा, वाणिज्य क्षेत्रसँग सम्बन्धित ८ वटा र आपूर्ति क्षेत्रसँग सम्बन्धित ११ वटा गरी जम्मा ३९ सुधारका क्षेत्र समेटिएका छन्। यी सुधार कार्यहरू सम्बन्धित निकायहरूको वार्षिक बजेट तथा कार्यक्रमको सीमाभित्र रहेर निर्धारित माइलस्टोन र लक्ष्यअनुसार कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता तथा सहसचिव जितेन्द्र बस्नेतका अनुसार सो सुधार योजनाबाट पारदर्शिता प्रवर्द्धन, जवाफदेहिता अभिवृद्धि र सहज औद्योगिक तथा व्यवसायिक वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ।
उनका अनुसार, “कार्ययोजनाको कार्यान्वयनले आम नागरिकलाई परिवर्तनको प्रत्यक्ष अनुभूति दिलाउनेछ। लगानीमैत्री वातावरण निर्माण, व्यावसायिक सुरक्षाको प्रत्याभूति, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन र सहज आपूर्ति व्यवस्थापनमा यसले योगदान पुर्याउनेछ।”
मन्त्रालयले योजनाको सफल कार्यान्वयनका लागि मातहतका निकाय, निजी क्षेत्रका छाता संगठन, वस्तुगत संघ–संगठन, उद्योगी–व्यवसायी, आम नागरिक र सरोकारवाला सबै पक्षसँग सक्रिय सहकार्यको आग्रह गरेको छ।