
भारतीय क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान रोहित शर्माले टेस्ट र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्न्यास लिइसकेका छन् ।
पछिल्लो समय उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि सन्न्यास लिने चर्चा चलिरहेको छ । यतिबेला भारतीय टोली एकदिवसीय र टी–२० शृंखला खेल्न अस्ट्रेलिया भ्रमणमा छ ।
एकदिवसीय शृंखला खेल्न रोहित शर्मा पनि अस्ट्रेलिया पुगेका छन् । तर, यसपटक उनी कप्तानको भूमिकामा छैनन् । उनलाई कप्तानबाट हटाएर उक्त जिम्मेबारी शुभमन गिललाई दिइएको छ ।
अस्ट्रेलियन भ्रमणलगत्तै रोहितले एकदिवसीय क्रिकेटबाट पनि सन्न्यास लिने अनुमान गरिएको थियो । तर, रोहितले आफू तत्काल एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने योजनामा नरहेको बताएका छन्।
उनले आफू सन् २००७ को एकदिवसीय विश्वकप खेल्न आतुर रहेको प्रतिक्रिया दिएका छन् । उनले एकदिवसीय विश्वकपको उपाधि जित्नु आफ्नो सपना रहेको बताएका छन् ।
भारत र अस्ट्रेलियाबीचको पहिलो एकदिवसीयअघि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । पहिलो एकदिवसीय आइतबार हुनेछ ।
रोहित शर्माकै कप्तानीमा भारतले घरेलु मैदानमा सन् २०२३ को एकदिवसीय विश्वकप खेलेको थियो । तर, उक्त विश्वकपको फाइनलमा भारतीय टोली अस्ट्रेलियासँग ६ विकेटले पराजित भएको थियो ।