
तराईंको मध्यम परिवारमा जन्मे/हुर्केका राजीवकुमार शाहले पहाडमा प्राध्यापन, पर्यटन र ‘रिसर्च’ क्षेत्रलाई आफ्नो कर्मथलो बनाएका छन् । ३४ वर्षअघि अध्ययनको सिलसिलामा जनकपुरबाट पाल्पा छिरेका शाहले पाल्पालाई नै आफ्नो कार्यक्षेत्र बनाए ।
जीवनमा विभिन्न कठिनाइ र संघर्ष छिचोल्दै अघि बढेका उनले अहिले तानसेनमा बसेर उद्यमसँगै युवालाई स्वदेशमा अवसर खोज्न प्रेरित गरिरहेका छन् । बहुआयामिक नेतृत्व क्षमता भएका शाहले अध्ययन सकेपछि पाल्पामा प्राध्यापनबाट शुरू गरेको यात्राले आफू मात्र सफल भएका छैनन्, धेरैलाई व्यवसायमा जोडेर उज्यालो भविष्य बनाउन भूमिका निभाएका छन् ।
पहाडको हावापानी, रहनसहन र संस्कृतिमा घुलमिलसँगै सन्तुष्ट उनी सधैं नवीन सृजनाको खोजीमा घोत्लिने गर्छन् । विज्ञान संकाय (साइन्स)का प्राध्यापक राजीव शिक्षण, पर्यटन, रिसर्च र युवाका रोजाइका पात्र समेत बनेका छन् । उनले जिल्लामा दर्जन संघ/संस्थामा आबद्ध भएर नेतृत्वसमेत गर्दै आएका छन् ।
धनुषाको बटेश्वर गाउँपालिका–७ स्थायी घर भएका शाहले प्रारम्भिक शिक्षा र बाल्यकाल सिन्धुलीमा बिताए । बाबा सूर्यदेव र आमा गीता शाह दुवै शिक्षक भएकाले उनले सिन्धुलीको प्रतिष्ठित कमला माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरे । एसएलसीपछि उनले जनकपुरको रामसागर रामस्वरूप बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह (आइएस्सी) पास गरे । त्यो समयमा बीएस्सी पढाइ हुने क्याम्पस धेरै थिएनन् ।
उनले पाल्पाको तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पसमा साइन्स पढाइ हुने थाहा पाए । वि.स. २०४८ साबिक पश्चिमाञ्चल क्षेत्रको अब्बल सरकारी शैक्षिक संस्थामा पढ्नको लागि पहिलोपटक पाल्पा आइपुगे । उनका बाबाका साथी पनि त्रिभुवन बहुमुखी क्याम्पसमा पढाउँथे । पाल्पाको रमाइलो वातावरण, ऐतिहासिक सांस्कृतिक महत्वबाट उनी धेरै प्रभावित पनि भए । उनलाई पाल्पावासी र जिल्लाको संस्कारले कहिल्यै ‘फरक’ देखेन । उनले पनि आफूजस्तै भिन्न भाषा, संस्कारले सज्जित पाल्पालीको सभ्यतालाई बिस्तारै प्रेम गर्न थाले ।
आफ्नो ‘लोकालिटी’बाट अलि टाढा रहेपछि पढाइलाई ‘फोकस’ गर्न सकिन्छ भनेर आफूले पाल्पा रोजेको शाह बताउँछन् । तानसेनको नौलो परिवेश, फरक रहनसहन र हावापानीमा बसेर पढेका उनी स्नातक तह (बीएएस्सी) राम्रो अंक ल्याएर उत्तीर्ण भए । बीएस्सी गरेपछि बाराको ज्योति स्पेनिङ मिल्समा साइन्स ब्याकग्राण्डको भ्याकेन्सी मागेको थाहा पाएपछि प्रतिस्पर्धाबाट नाम निकालेर ‘प्रोडक्सन अफिसर’को रुपमा जागिर जागिर शुरू गरे ।
साढे दुई वर्ष त्यहाँ काम गरेपछि उनको काठमाडौं सरुवा भयो । काठमाडौं गएपछि त्रिभुवन विश्वविद्यालयबाट ‘म्याथम्याटिक्स’ मा एमएसी पूरा गरे ।

एमएस्सी पूरा गरेपछि काठमाडौं र जनकपुरमध्ये एउटा उनको प्राथमिकतामा थियो । तर, संयोगले उनीलाई रूपन्देहीको मंगलापुरस्थित कृष्टल नलेज एकेडेमीमा शिक्षणको अवसर आयो । रूपन्देही आएर दुई वर्ष कृष्टलमा पढाए । त्यसपछि लुम्बिनी इन्जिनियरिङ कलेज, भलबारीमा पढाउन थाले । लगतै पाल्पाका स्थानीयसँग उनको पढ्ने बेलादेखिको सम्पर्क थियो । उनलाई पाल्पा आउने वातावरण साथीहरूले मिलाएपछि श्रीनगर कलेजमा पढाउन आए । त्यहाँ उनले झण्डै १२ वर्ष पढाए । त्यहाँ पढाउँदा-पढाउँदै आंगिक त्रिभुवन बहुमुखी क्याम्पसमा प्राध्यापनको विज्ञापन आह्वान भयो । उनले वि.स.२०५९ देखि त्रिभुवन बहुमुखी क्याम्पसमा गणित विषय पढाउन थाले । अहिले पनि निरन्तर क्याम्पस पढाउँदै आएका छन् ।
प्राध्यापनसँगै उनी विभिन्न सामाजिक क्षेत्रमा पनि जोडिँदै अघि बढे । सन् २००३ मा पाल्पा जेसिजमा आवद्ध भए । छोटो समयमा पाल्पा जेसिजको नेतृत्व गरे । ‘तरार्इंबासी म, तानसेन बजारको ‘टिपिकल’ नेवारहरूको ‘कम्युनिटी’ मा सबैको आत्मियताको साथ सहयोगले त्यो अवसर पाए’ राजीव अहिले पनि सम्झिन्छन्, त्यो एक वर्षको जेसिजको नेतृत्वमा आफ्नो सोच, व्यवहार र चेतनाको विकाससँगै सोसाइटीमा आफ्नो बलियो उपस्थिति देखाउन सफल भएजस्तो लाग्छ । काम गर्ने ‘स्कुलिङ’ सिक्दै सिकाउँदै पनि गरें ।’
त्यहीँ जेसिजबाट व्यवसायिक क्षेत्र र अनुसन्धान केन्द्रमा केही गर्ने सोच उनलाई आयो । उनी जेसिजको अनुभव र सिकाइलाई आधार मानेर सानो–सानो टीम बनाएर यस्तो ठाउँमा साथीहरूलाई गोलबन्द गरेर व्यवसायिक क्षेत्र लाग्न प्रेरित गर्दै अघि बढे । पाल्पामा प्राध्यापकहरू पढाउनेबाहेक अन्यत्र संलग्न भएको नदेखिएपछि प्राध्यापकहरूलाई समेटेर उनीहरूको क्षेत्र के हो ? प्राज्ञिक भएकाले अनुसन्धानतर्फ पनि लाग्नुपर्छ । समाजमा यस्ता विषयहरू के हुन सक्छन् ? के योगदान दिन सकिन्छ भन्ने अवधारणासहित सञ्जीवनी अनुसन्धान केन्द्रमा आफू संस्थापक अध्यक्ष बनेर प्राज्ञिक क्षेत्रलाई राजीवले जोडे । अहिले पनि यो संस्था निरन्तर क्रियाशील छ । सञ्जीवनीले कन्सलटेन्सीको रूपमा कामसँगै स्थानीय सरकार र संघ संस्थाका इस्यूहरूमा अनुसन्धान गर्नपर्ने काम पनि गर्दै आइरहेको छ ।
पाल्पा नेपालकै प्रमुखमध्येको पर्यटकीय गन्तव्य पनि मानिन्छ । नेपालको एक मात्रै प्रेमको प्रतिक रानीमहल उत्तरबाहिनी कालीगण्डकी नदीको समिपमा अवस्थित छ । ऐतिहासिक र धार्मिकले दृष्टिकोणले महत्वपूर्ण भैरवस्थित मन्दिर, अमरनारायण मन्दिर पाल्पामा रहेकोले पर्यटन क्षेत्रमा एकदमै ‘ब्रुमअप’ हुने ठाउँ भएकाले राजीवले टीम बनाएर एक दशकभन्दा अघिदेखि पाल्पाली टुर्स एण्ड ट्राभन्स सञ्चालनमा ल्याए । लगतै शाहले आफ्नै अग्रसरतामा शैक्षिक क्षेत्र होप एण्ड ड्रिम मन्टेश्वरी स्कूलको अवधारणासहित सञ्चालनमा आयो । स्कूलसँगै फेरि क्षेत्रमा अन्य कामहरू अगाडि बढाउँदै काठमाडौं बाहिर पाल्पामा इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गरे । तर, त्यो विविध कारणले दीर्घकालीन बन्न सकेन ।
टुर एण्ड ट्राभलका माध्यबाट पाल्पामा पर्यटनका गतिविधि बढाउने योजनासहित पाँच वर्षमा आमूल परिवर्तन गर्न सकिन्छ भन्ने अठोट लिएर उनी अघि बढिरहेका छन् । पाल्पाको प्रचार–प्रसार गरी आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि भइरहेको छ । पर्यटकको स्तरीय बसाइका लागि उनले रानीमहलको समिपमा वगनासकाली गाउँपालिका–६ मा हेरिटेज फरेष्ट रिसोर्ट सञ्चालनमा ल्याएका छन् । जुन रानीमहल पुग्नुभन्दा ३ किलोमिटर अघि बाटोमा अवस्थित छ । हरियाली ठाउँमा तराईंदेखि भारतबाट आउने पर्यटकलाई प्राकृतिक शौन्दर्यतामा रमाउन अवसर दिन सकिन्छ भन्ने उद्देश्यसहित रिर्सोट सञ्चालनमा ल्याएको शाह बताउँछन् ।
शाहले पहलमा ट्राभल टुर व्यवसायीहरूको छाता संस्था नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) पाल्पा गठनको भूमिका खेले । अहिले शाह नाटा पाल्पाको अध्यक्ष छन् । ‘नाटामार्फत् पर्यटकीय गतिविधि, ‘हिडन टेर्डस’हरूलाई विकास गर्न सकिन्छ भन्ने सोच आयो, रानीमहललाई कसरी ब्रान्डिङ गर्न सकिन्छ । पाल्पालाई कसरी एक्स्पोलर गर्न सकिन्छ भन्ने सधैं चिन्तन मनन रह्यो,’ उनी भन्छन् । पर्यटनको क्षेत्रमा ‘बीटूबी’ कार्यक्रम भए । नयाँ–नयाँ गन्तव्य के कस्ता छन् भन्ने खोजीको सोच पनि भइरहेको छ । राजीव भिजन लुम्बिनीजस्तो संस्थामा पहिलो बोर्डको डाइरेन्टर भएर पनि काम गरे । जुन १ हजार बढी पब्लिकहरूको लिमिटेड कम्पनी हो ।
‘मैले प्राध्यापन पेशाबाट शुरूआत गरे पनि मलाई समाजले सामाजिक व्यक्तिको रूपमा चिन्छ,’ उनी भन्छन्, ‘विभिन्न संस्था पाल्पा जेसिज, लायन्स क्लब, नाटा, अनुसन्धान केन्द्र, दलान अनुसन्धान केन्द्रमा नेतृत्व गर्ने अवसर पनि पाएँ । अहिले बहुआयामिक व्यक्तित्वका रूपमा मलाई पाल्पालीले लिन्छन्,’ उनी भन्छन् ।
छिटै रानीमहललाई ‘ब्रान्डिङ’ गर्न उनले तानसेनदेखि रानीमहल १३ किलोमिटर म्याराथुन दौड राख्ने सोच बनाएका छन् । आफ्नो जीवनको कर्म गर्ने महत्वपूर्ण समय पाल्पामा बिताएका शाहले पाल्पालाई धेरै कुरा दिएभन्दा पनि पाएको बताउँछन् । ‘मैले पाल्पालाई दिन सय भागमा एक भाग पनि सके होला । तर, मैले पाएको कुरा धेरै लिएको छु । सामाजिक प्रतिष्ठा, उन्नति प्रगति पाल्पाले दिएको हो । पाल्पाबाट म टाढा हुन सक्दिनँ,’ उनी भन्छन् ।
उनी आफनो जन्मेको थातथलो छाडेर यतै बस्न थालेको ३४ वर्ष पुग्यो । गाउँको सम्झनाले समय–समयमा हिरिक्न बनाउने गर्छ । तर, ज्यान र कर्म पाल्पा उनी जान सक्दैनन् । समय परिवेश र पारिवारिक अवस्थाले जहाँ पुर्याए पनि अझै १२/१५ वर्ष पाल्पामा निरन्तर रहेर विभिन्न क्षेत्रमा काम गर्ने शाहले स्पष्ट पारे । समग्र पाल्पाको पर्यटन विकासको लागि मुख्य बजारीकरण नै हो ।
बजारको पहिचान गरी पाल्पामा रहेका पर्यटनसँग सम्बन्धित धार्मिक क्षेत्रको विकास र प्रचार होस् वा ऐतिहासिक/सांस्कृतिक कुरा होस् । तिनीहरूको बजारीकरण आवश्यक रहेको शाह बताउँछन् । प्याराग्लाइडिङदेखि र्याफटिङसम्म, हाइकिङदेखि जीपलाइनसम्म पाल्पामा पर्यटनको सम्भावना बलियो छ । त्यसको लागि राज्यका निकाय एकताबद्ध रूपमा अघि बढ्नुपर्ने उनको सुझाव छ ।