
सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले जेनजी प्रदर्शनका क्रममा शहीद भएका योगेन्द्र न्यौपाने 'रोशन'को सम्मानमा आयोजना गरेको अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि तीनपाटन गाउँपालिकाले प्राप्त गरेको छ ।
उक्त पालिकाको वडा नम्बर १ च्याकुटारबेँसी खेलमैदानमा आज भएको अन्तिम प्रतियोगितामा तीनपाटन गाउँपालिकाकै ‘ए’ टोली प्रथम र ‘बी’ टोली दोस्रो भएका वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिए ।
प्रतियोगितामा कमलामाई नगरपालिका तेस्रो र गोलोञ्जर गाउँपालिकाले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
प्रथम हुने टोलीले नगद ७५ हजार, दोस्रोले ५५ हजार, तेस्रोले ३५ हजार र सान्त्वना हुने टोलीले १५ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता टोलीलाई गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका हुन् ।
‘स्वास्थ्यका लागि खेलकुद : राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ यही कात्तिक २ गतेदेखि शुरू भएको प्रतियोगितामा १० वटा समूहबीच प्रतिस्पर्धा भएको थियो ।
देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध तथा सुशासन प्रवर्द्धनको आवाजका साथ जेनजी प्रदर्शनमा सहभागी भएका रोशनको गत भदौ २३ गते नयाँ बानेश्वरमा गोली लागेर घटनास्थलमा नै निधन भएको थियो । रोशन च्याकुटारबेँसीका बासिन्दा हुन् ।
प्रतियोगितामा कमलामाई र दूधौली नगरपालिकाका एक/एक तथा गोलञ्जोर, फिक्कल, तीनपाटन र सुनकोसी गाउँपालिकाका दुई/दुई गरी १० टोलीको सहभागिता रहेको थियो ।