
विश्व बजारमा सुनको मूल्यमा १२ वर्ष यताकै ठूलो अनुपातमा गिरावट आएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य करिब ६.३ प्रतिशतले घटेको ‘द फाइनान्सियल टाइम्स’ ले उल्लेख गरेको छ । यो एकै दिनमा भएको १२ वर्षयताकै ठूलो गिरावट हो ।
यस अघिसम्म निरन्तर एक माथि अर्को रेकर्ड तोड्दै तीव्र रूपमा बढिरहेको सुनको मूल्यमा मंगलबार ब्रेक लागेको हो ।
‘द फाइनान्सियल टाइम्स’ का अनुसार ४ हजार ३८१ अमेरिकी डलरसम्म पुगेको सुनको मूल्य मंगलबार ४ हजार ८२ डलरमा झरेको छ । अर्थात्, सोमबार प्रति औंस (करिब ३२ ग्राम) सुनको मूल्य ४ हजार ३८१ अमेरिकी डलरसम्ममा कारोबार भएको थियो, जुन करिब ६.३ प्रतिशतले घटेर मंगलबार ४ हजार ८२ डलरमा झरेको हो ।
यो सुनको मूल्यमा एकै दिनमा आएको सन् २०१३ पछिकै सबैभन्दा ठूलो गिरावट भएको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन् ।
धेरै देशहरूले डलरको विकल्पका रूपमा सुन किनेर भण्डारण गर्न थालेपछि सुनको मूल्यमा वृद्धि हुँदै आएको थियो ।
नेपालमा पछिल्लो दुई महिनामा सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको देखिन्छ । तर, अन्तर्राष्ट्रिय बजारमै गिरावट आएका कारण केही घट्ने सम्भावना छ ।
भदौ दोस्रो सातामा सुनको मूल्यले प्रतितोला २ लाख रुपैयाँको रेकर्डलाई तोडेको थियो । त्यसयता सुनको मूल्य बढेर असोज अन्तिसम्म प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्ममा कारोबार भएको थियो ।
तर, कात्तिक २ गते अर्थात् आइतबार एकै दिन सुनको मूल्यमा ४ हजार ८ सय रुपैयाँले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारम्मको मूल्य हेर्दा प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँ रहेको छ ।
विश्व अर्थतन्त्रमा शक्तिशाली राष्ट्रहरूको गतिविधि, मुद्रास्फीति र भू–राजनीतिक जोखिमले सुन र डलरको मूल्यलाई तलमाथि गरिरहेको विश्लेषण गरिएको छ ।
सुनको मूल्य घट्दा नेपालका सुनचाँदी व्यवसायीहरूलाई प्रभाव पर्न सक्ने अर्थशास्त्री डा. डिल्लीराज खनाल बताउँछन् । तर, अन्तर्राष्ट्रिय गतिविधिलाई हेर्दा सुनको मूल्य पुन: बढ्ने सम्भावना रहेको उनको भनाइ छ ।
‘अहिले अन्तर्राष्ट्रिय बजारमा जुन किसिमले सुनको मूल्यमा गिरावट आएको छ । त्यो एउटा समयको लागि मात्रै हो जस्तो देखिन्छ । यसको प्रभाव व्यवसायीहरूमा पर्छ । लगानीकर्ताहरूमा केही प्रभाव पर्छ, तर लगानीकर्ताहरू अर्को क्षेत्रमा शिफ्ट हुन्छन्’, डा. खनालले भने, ‘विभिन्न सिनारियोहरूलाई हेर्दा सुनको मूल्य पुन बढ्छ ।’
सुनको मूल्य घटबढले लगानीलाई एक क्षेत्रबाट अर्को क्षेत्रमा शिफ्ट मात्रै गर्ने उनी बताउँछन् । नेपालका अन्य क्षेत्रहरूमा लगानी हुने दृष्टिकोणबाट यो सकारात्मक रहने उनको तर्क छ ।
‘सुनको मूल्य घटेपछि यतातिरको लगानी अर्को क्षेत्रमा जान्छ । लगानीकर्ताले जहिल्यै पनि सुरक्षित लगानी गर्न खोज्छ’, उनले भने, ‘जुन एक किसिमले राम्रो पनि हो । तर, सबै कुरा हेर्दा सुनको मूल्य पुन: बढ्ने सम्भावना छ ।’