
भारत र श्रीलंकामा जारी आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटमा तीनवटा टोली सेमिफाइनलमा पुगिसकेका छन् ।
अब सेमिफाइनलमा स्थान बनाउने एउटा टोलीको मात्र टुङ्गो लाग्न बाँकी छ । आयोजक भारत र श्रीलंकासँगै न्युजिल्यान्डको आँखा त्यो एक स्थानमा केन्द्रित छ ।
यस्तै कठिन परिस्थितिबीच बिहीबार भारत र न्युजिल्यान्ड आपसमा भिड्दैछन् । न्युजिल्यान्ड र भारतबीचको खेल दिउँसो १५:१५ बजे शुरू हुनेछ ।
यो खेलमा विजयी हुने टोलीको सेमिफाइनल पुग्ने सम्भावना बलियो हुनेछ भने पराजित टोलीले अप्ठ्यारो स्थितिको सामना गर्नु पर्नेछ ।
जारी विश्वकपमा भारत र न्युजिल्यान्डले अब दुई/दुई खेल खेल्न बाँकी छ । अन्य टोलीले भने एक/एक खेलमात्र खेल्न बाँकी छ ।
६ खेलबाट ११ अंक बटुलेको अस्ट्रेलिया तालिकाको पहिलो स्थानमा आसीन छ । अस्ट्रेलिया जारी प्रतियोगितामा आफूले खेलेको सबै खेल जित्ने एकमात्र टोली पनि हो ।
यसैगरी, ६ खेलबाट १० अंक बटुलेको दक्षिण अफ्रिका तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट नौ अंक जोडेको इङ्ल्यान्ड तेस्रो स्थानमा छ । अस्ट्रेलिया, दक्षिण अफ्रिका र इङ्ल्यान्ड यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।
पाँच खेलबाट चार अंक जोडेको भारत चौथो, समान खेलबाट समान अंक हात पारेको न्युजिल्यान्ड पाँचौं र ६ खेलबाट चार अंक बटुलेको श्रीलंका छैटौं स्थानमा छन् । अब यी तीनमध्ये एक जारी विश्वकपको सेमिफाइनलमा पुग्ने चौथो टोली बन्नेछ ।
त्यसैले यी तीनवटै टोली अबको खेलमा ‘गर या मर’को स्थितिमा रहने छन् । ६ खेलबाट दुई अंक जोडेको बंगलादेश तालिकाको सातौं र समान खेलबाट समान अंक हात पारेको पाकिस्तान आठौं स्थानमा छन् । बंगलादेश र पाकिस्तान भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् ।
प्रतियोगिताको पछिल्लो खेलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ६ विकेटले हराएको थियो । जारी विश्वकपमा इङ्ल्यान्डले भोगेको यो पहिलो हार हो । उक्त खेलमा पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ४४ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले भने ४०.३ ओभरमै केवल चार विकेट गुमाएर दुई सय ४८ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो ।