
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटनालाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी तामेलीमा परेको छ। हामी नेपालका संयोजक सुदन गुरुङको नेतृत्वमा भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा दिइएको जाहेरी तामेलीमा परेको हो।
प्रहरी उच्च स्रोतका अनुसार प्राप्त प्रमाण र आधारबिना ओली र लेखकविरुद्ध परेको जाहेरीका सम्बन्धमा अनुसन्धान अगाडि बढ्ने नदेखिएपछि तामेलीमा राखिएको हो।
प्रहरी र सरकारी वकिल कार्यालय काठमाडौँको संयुक्त छलफलपछि जाहेरी तामिलमा राखिने निर्णय भएको स्रोतले बतायो। स्रोतले भन्यो, 'भदौ २३ र २४ गतेको घटनालाई लिएर छानबिन एवं अनुसन्धान गर्न बनेको पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रतिवेदन नबुझाउँदै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकविरुद्ध जाहेरी अगाडि बढ्ने नदेखिएपछि तामेलीमा राख्ने निर्णय गरेको हो।'
उच्च प्रहरी स्रोतका अनुसार आयोगको प्रतिवेदन आएपछि मात्रै ओली र लेखकविरुद्ध कारबाही अगाडि बढ्ने छ। गृहमन्त्री ओम प्रकाश अर्यालले भनेजस्तो तत्काल ओली र लेखक विरुद्ध एक्सनमा जाने प्रमाण छैन।
'गृहमन्त्रीका हैसियतले अर्यालले ओली र लेखकलाई कारबाही गर्छु भन्नु सामान्य हो,' प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले लोकान्तरसँग भने, 'तर दुई दिनको घटनामा ओली र लेखकको निर्देशन र संलग्नता दुवै नखुल्ने देखिएपछि जाहेरी तामेलीमा राखिएको हो।'
स्रोतका अनुसार गुरुङले दिएको जाहेरी सँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह, सुदन गुरुङ, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्याल विरुद्धको जाहेरी पनि तामेलीमा राखिएको छ। यी दुई जाहेरी तामेलीमा राखेसँगै गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन आएपछि मात्रै प्रहरी र सरकारी वकिल कार्यालय अघि बढ्ने तयारीमा छन्।