०६ साउन २०८३, बुधबार
ट्रम्पको नजर भेनेजुएलामा

भेनेजुएलालाई घेराबन्दी गर्दै अमेरिका- कोकिन तस्करी रोक्ने अभियान कि सत्ता परिवर्तनको संकेत ?

कात्तिक ८, २०८२
काठमाडौं
भेनेजुएलालाई घेराबन्दी गर्दै अमेरिका- कोकिन तस्करी रोक्ने अभियान कि सत्ता परिवर्तनको संकेत ?

अमेरिकी प्रशासनले भेनेजुएलाभित्रैका लागूऔषध तस्करी मार्ग र कोकिन उत्पादन संरचनालाई लक्ष्य बनाउने विविध सैन्य तथा गुप्त अपरेसनका विकल्प विचार गरिरहेको अवस्थामा क्षेत्रीय तनाव र कूटनीतिक विवाद तीव्र बनेको छ । यो योजना अझै पूर्ण रूपमा पारित भएको छैन भने त्यसलाई समर्थन र कानूनी चुनौती दुवैको सामना गर्नुपर्ने अवस्था छ ।

सीएनएनले उद्धृत गरेका तीन अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाभित्र लक्षित गतिविधि गर्ने योजना तालिकामा राख्न निर्देशन दिएका छन् तर अहिलेसम्म कुनै अन्तिम निर्णय नभएको बताइएको छ ।

त्यही क्रममा रक्षामन्त्री पिट हेगसेथले युरोपमा रहेको उच्च क्षमतावाला विमानवाहक पोत ‘यूएसएस जेराल्ड आर फोर्ड’ लाई क्यारिबियन क्षेत्रमा पठाउने आदेश दिएसँगै सैन्य गतिविधि तीव्र बनेको छ । ट्रम्पले भेनेजुएलामा गोप्य कारबाहीका लागि सीआईएको पनि अनुमति दिएका छन् ।

पेन्टागनका अधिकारीहरूले यो स्ट्राइक समूहलाई संयुक्त राज्यको दक्षिणी कमान्ड क्षेत्र (मध्य/दक्षिण अमेरिका र क्यारिबियन) मा परिचालित गरिने जानकारी दिएका छन् ।

अमेरिकाले पछिल्ला हप्ताहरूमा क्यारिबियन क्षेत्रमा तस्करहरूको नौकालाई लक्ष्य बनाएर १० पटक हवाई आक्रमण गरिसकेको छ।  ती आक्रमणमा हालसम्म कम्तीमा ४३ जनाको मृत्यु भएको रक्षामन्त्री हेगसेथले सार्वजनिक रूपमा बताइसकेका छन् । 

अमेरिकी पक्षले यी कारबाहीहरूलाई ‘ट्रान्सनेशनल क्रिमिनल अर्गनाइजेसनविरुद्ध’ र तस्करी नेटवर्क निस्क्रिय पार्नका लागि आवश्यक भएको औंल्याएको छ । 

अमेरिकी अधिकारीहरूका अनुसार, सरकारले भेनेजुएलासँगका कूटनीतिक कुराकानी केही हप्तादेखि रोकिएको भए पनि कूटनीतिक समाधानलाई अमेरिकी राष्ट्रपति पूर्णरूपमा अस्वीकार नगरेको उल्लेख गरिएको छ ।

संयुक्त राष्ट्र संघअन्तर्गतको लागूपदार्थ तथा अपराध कार्यालय यूएनओडीसीले भेनेजुएला कोकिन उत्पादन गर्ने देश नभएको जनाएको छ । कोका खेती मुख्यतः कोलम्बिया, पेरु र बोलिभियामा केंद्रित रहेको तथ्यांकमा उल्लेख छ । अमेरिकी ड्रग प्रवर्तन एजेन्सी (डीईए) ले पनि पछिल्लो प्रतिवेदनमा भेनेजुएलालाई प्रमुख स्रोतका रूपमा उल्लेख गरेको छैन ।

तर राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरूले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई लागूपदार्थ तस्करीमा संलग्न रहेको आरोप लगाउँदै आएका छन् । मदुरोलाई अमेरिकाले २०२० मा ‘नार्को–टेरोरिजम’ मुद्दामा अभियोग समेत लगाएको थियो।

तर, भेनेजुएलाका राष्ट्रपति मदुरो र उनका समर्थकहरूले यसलाई ‘युद्ध सिर्जना’ गर्ने तवरको कदम भन्दै कडा आलोचना गरेका छन् । मदुरोले अमेरिकालाई ‘नयाँ अनन्त युद्ध सिर्जना’ गर्न खोजेको आरोप लगाएका छन् । अमेरिकाले आफू नेतृत्वको सरकार ढाल्न खोजेको उनको टिप्पणी छ । 

आलोचक र केही अन्तर्राष्ट्रिय विश्लेषकहरू पनि अमेरिकी कदमलाई मदुरोको शासन परिवर्तनतर्फ संकेत गर्ने रणनीति हुन सक्ने विश्लेषण गर्छन् । च्याथम हाउसका वरिष्ठ विशिष्ट डा. क्रिस्टोफर सबातिनीले बीबीसीलाई दिएको अभिव्यक्तिमा सरकारले सैन्य तथा मनोवैज्ञानिक दबावमार्फत मदुरोको वरपरको सर्कलमा डर जगाउने पक्षलाई जोड दिएको धर्माएका छन् ।

अमेरिकी सैनिक परिचालन थप

‘यूएसएस जेराल्ड आर फोर्ड’सहितको स्ट्राइक समूह क्रोएसियामा रहेको बन्दरगाहबाट करिब ५ हजार माइल टाढाबाट क्यारिबियनतर्फ अघि बढिरहेको बताइएको छ । यो समूह तयारी अवस्थामा पुग्न केही दिन लाग्ने अमेरिकी अधिकारीहरूले बताएका छन् ।

यसअघि नै करिब ४ हजार ५०० मरीन तथा नौसेना सदस्यहरू, मिसाइलयुक्त विध्वंसक, पनडुब्बी, विशेष कारबाही जहाज, मिसाइल क्रूजर र निगरानी विमानहरू दक्षिणी कमाण्डमा तैनाथ गरिएका छन् ।

त्यसैगरी, अमेरिका १० वटा एफ-३५लडाकु विमान र कम्तीमा ३ वटा एमक्यू-९ ‘रीपर’ ड्रोन पनि प्वेर्टो रिकोमा परिचालन गरिसकेको छ । बन्द रहेको रोभेल्ट रोड्स नौसैनिक स्टेशनलाई पनि पुनः सञ्चालनमा ल्याइएको छ ।

भेनेजुएलाभित्रै प्रत्यक्ष कारबाही गर्न कंग्रेसको स्वीकृति आवश्यक हुनसक्ने अमेरिकी अधिकारीहरूले बताएका छन् । तर, राष्ट्रपति ट्रम्पले आवश्यक परे विना युद्ध घोषणा पनि कारबाही गर्न सकिने दाबी गर्दै आएका छन् ।

उनले भनेका छन्, ‘हामी हाम्रो देशमा लागूपदार्थ ल्याउनेहरूलाई रोक्छौं । उनीहरूलाई मारिन्छ । बस् यत्तिकै ।’

ट्रम्प प्रशासनले यसलाई लागूऔषध तस्करीविरुद्धको युद्ध बताइरहेको छ। तर विशेषज्ञ तथा अमेरिकी कांग्रेसका केही सदस्यहरूले यसलाई मदुरो सरकार अस्थिर पार्ने डरमात्र भएको आरोप लगाएका छन् ।

मदुरोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि लागूऔषध तस्करी गिरोहको नेतृत्व गरेको आरोप लगाउँदै आएका छन् छन् ।

salt training

कमेन्ट गर्नुहोस्