०२ साउन २०८३, शनिबार
ट्यारिफ बढाउँदै ट्रम्प

क्यानडियन सामानमा थप शुल्क लगाउने ट्रम्पको घोषणा, कस्तो पर्छ असर ?

कात्तिक ९, २०८२
काठमाडौं
क्यानडियन सामानमा थप शुल्क लगाउने ट्रम्पको घोषणा, कस्तो पर्छ असर ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने सामानमा थप शुल्क लगाउने घोषणा गरेका छन् । 

ओन्टारियो प्रान्तले पूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन समावेश भएको ‘एन्टि–ट्यारिफ’ विज्ञापन प्रसारण गरेपछि यस्तो निर्णय गरिएको बताइएको छ ।

शनिबार सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले उक्त विज्ञापनलाई ‘धोका’ भन्ने उल्लेख गरेका छन् । उनले विश्व सिरिज बेसबल खेलअघि नै विज्ञापन नहटाएको भन्दै क्यानडियन अधिकारीमाथि आक्रोश पोखे । 

ट्रम्पले लेखेका छन्, ‘तथ्यको गम्भीर विकृति र विरोधी व्यवहारका कारण क्यानडाले अहिले भुक्तानी गरिरहेकाको तुलनामा १० प्रतिशत अतिरिक्त शुल्क बढाइनेछ ।’

ट्रम्पले बिहीबार क्यानडासँगको व्यापार वार्ता स्थगित गरेपछि ओन्टारियोका प्रिमियर डग फोर्डले विज्ञापन हटाइने बताएका थिए । उनले प्रधानमन्त्री मार्क कार्नीसँगको छलफलपछि वार्ता पुनः शुरू हुने वातावरण बनाउन विज्ञापन अभियान रोक्ने निर्णय गरिएको बताए ।

तर, उनले विज्ञापन विश्व सिरिज तथा अन्य कार्यक्रममा सप्ताहान्तभर चलिरहने पनि बताए । यसपटक विश्व सिरिजमा टोरोन्टो ब्लुजेज र लस एन्जलस डजर प्रतिस्पर्धामा छन् ।

क्यानडा जी सेभेन समूहको एकमात्र देश हो; जसले अझै अमेरिकासँग शुल्कसम्बन्धी नयाँ सहमति हासिल गर्न सकेको छैन । अमेरिका पहिले नै क्यानडियन सामानमा ३५ प्रतिशत शुल्क लगाइसकेको छ, यद्यपि विद्यमान खुला व्यापार सम्झौताअन्तर्गत धेरै वस्तु छुटमा छन् । साथै, धातुमा ५० प्रतिशत र गाडीमा २५ प्रतिशत विशेष शुल्क पनि तोकिएको छ ।

ट्रम्पले यसपछि थप १० प्रतिशत शुल्क बढाइने संकेत गरेका छन् । क्यानडाबाट निर्यात हुने तीन चौथाइ सामान अमेरिकाकै लागि हुने गर्छ । साथै क्यानडाको अधिकांश मोटरगाडी उद्योग ओन्टारियोमा केन्द्रित छ ।

रेगनको उक्त विज्ञापनमा उनले १९८७ मा दिएको सम्बोधनबाट अडियो–भिडिओ समावेश गरिएको छ, जसमा उनले ‘शुल्कले हरेक अमेरिकीलाई असर गर्छ’ भनेका थिए । विज्ञापन बिनाअनुमति बनाइएको भन्दै रेगन फाउन्डेशनले आपत्ति जनाएको छ ।

ट्रम्पले उक्त विज्ञापन तत्काल हटाइनुपर्ने बताएका छन् । ओन्टारियोले अमेरिकाका रिपब्लिकन बहुमत भएका क्षेत्रमा पनि सो विज्ञापन चलाउने घोषणा गरेको थियो ।

ट्रम्प र कार्नी दुवै यसै सात दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (असिन)को बैठकमा सहभागी हुन मलेसिया पुगेका छन् ।  तर, ट्रम्पले क्यानडियन समकक्षीसँग भेट्ने कुनै मनसाय नभएको बताएका छन् ।

ट्रम्पले क्यानडालाई अमेरिकी सर्वोच्च अदालतमा चल्ने मुद्दामा हस्तक्षेप गर्ने प्रयास गरिरहेको आरोप पनि लगाए । सो मुद्दाले ट्रम्पको सम्पूर्ण शुल्क नीति संविधानसम्मत छ कि छैन भन्ने निर्णय गर्नेछ । उनले यसलाई सबैभन्दा महत्त्वपूर्ण मुद्दा भनेका छन् ।

क्यानडाको व्यापार संगठन ‘क्यानडियन चेम्बर अफ कमर्स’ले शुल्क वृद्धिप्रति निराशा जनाउँदै कूटनीतिक माध्यमबाट समाधान खोजिने अपेक्षा व्यक्त गरेको छ । 

‘शुल्कले सबैभन्दा पहिले अमेरिकालाई नोक्सान गर्छ’, संगठनकी प्रमुख क्यान्डेस लाएङले भनेकी छन् । 

यसैबीच, विश्व सिरिजलाई लक्षित गर्दै ट्रम्पको शुल्क नीतिप्रति व्यंग्यात्मक प्रतिक्रिया पनि ओन्टारियोले दिएको छ । 

ओन्टारियोका प्रिमियर फोर्ड र क्यालिफोर्नियाका गभर्नर गाभिन न्युजोमले दुवैले आफ्नो–आफ्नो टिमका जितबारे हाँस्य शैलीमा बाजी राख्दै शुल्कबारे मजाक गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्