
बिहार विधानसभाको आगामी चुनाव नजिकिँदै गर्दा जनता दल युनाइटेड (जेडीयू) भित्रको विद्रोहका बीच पार्टीले कडा कारबाही गरेको छ।
मुख्यमन्त्री नीतीश कुमार नेतृत्वको जेडीयूले एकजना वर्तमान सांसद, दुईजना पूर्व मन्त्रीसहित १६ जना नेताहरूलाई पार्टीबाट निष्कासन गरेको हो।
शनिबार ११ जना र आइतबार थप ५ जना नेताहरूलाई निष्कासित गरिएको पार्टीले जनाएको छ।
यीमध्ये अधिकांश नेताहरूले एनडीए (राष्ट्रीय लोकतान्त्रिक गठबन्धन) का आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए।
पार्टीले निष्कासित नेताहरूलाई पार्टीविरुद्ध गतिविधि सञ्चालन गरेको र जेडीयूको विचारधाराको उल्लंघन गरेको आरोप लगाएको छ।
निष्कासनमा परेकामध्ये भागलपुर जिल्लाको गोपालपुर निर्वाचन क्षेत्रका वर्तमान विधायक नरेन्द्र नीरज उर्फ गोपाल मण्डल पनि छन्, जो पहिले पनि विभिन्न विवादका कारण चर्चामा आएका थिए।
जेडीयूले भनेको छ, “पार्टीको अनुशासन भंग गर्ने र आधिकारिक उम्मेदवारविरुद्ध काम गर्ने कुनै नेतालाई पनि माफी दिइने छैन।”