
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फूटबलमा सोमबार नेपाली टोलीले बलियो प्रतिद्वन्द्वी भारतसँग उसैको घरेलु मैदानमा भिडन्त गर्दैछ ।
नेपाल र भारतबीचको खेल मेघालयको सिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समयअनुसार साँझ ६:१५ बजे शुरू हुनेछ ।
त्रिदेशीय मैत्रीपूर्ण शृंखलाको उपाधि भने यसअघि नै इरानले जितिसकेको छ । इरानले आफ्नो पहिलो खेलमा नेपाललाई ३–० गोलले हराएको थियो । आफ्नो दोस्रो खेलमा इरानले आयोजक भारतलाई २–० गोलले पराजित गरेको थियो ।
त्यसैले नेपाल र भारतबीचको अन्तिम खेल उपाधिका लागि भन्दा पनि उत्कृष्टताको लडाइँका लागि हुनेछ । पछिल्लो फिफा वरीयतामा नेपालभन्दा भारत अगाडि रहेको छ । भारत पछिल्लो वरीयताको ६३औं र नेपाल ८९औं स्थानमा छन् ।
यसअघि, सन् २०१६ को दक्षिण एसियाली खेलकुदका क्रममा पनि नेपाली र भारतीय महिला फूटबल टोलीबीच सिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा भिडन्त भएको थियो । त्यतिबेला समूह चरणमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए ।
समूह चरणबाट नेपाल पहिलो र भारत दोस्रो हुँदै फाइनलमा पुगेका थिए । उपाधि भिडन्तमा भने नेपाली टोली भारतसँग ०–४ गोलले पराजित भएको थियो ।
नेपाल र भारतको महिला टोलीबीच हाल कुल १८ खेल खेलिएको छ । यो तथ्याङ्कले भने भारतीय टोलीलाई बलियो देखाउँछ । भारतले ११ खेलमा नेपाललाई हराएको छ । नेपालले भने दुई खेलमा भारतलाई हराउन सकेको छ । पाँच खेल बराबरीमा सकिएको छ ।
नेपाल, भारत र इरानबीचको त्रिदेशीय खेल फिफा विन्डोअन्तर्गत खेलिएको हो । त्यसपछि नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल पनि हुनेछ । उक्त खेल कार्तिक १३ गते खेलिने छ । यो खेल फिफा विन्डोअन्तर्गत पर्दैन । तर, यो खेलले पनि अन्तर्राष्ट्रिय मान्यता भने पाएको एन्फाले जनाएको छ ।
त्रिदेशीय खेलका लागि घोषित नेपाली टोलीमा सावित्रा भण्डारी (कप्तान), एञ्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, निशा थोकर, समीक्षा घिमिरे, पूजा राना, सजनी थोकर, मनमाया दमाईं र प्रतीक्षा चौधरी रहेका छन् ।
यसैगरी, टोलीमा हिराकुमारी भुजेल, विमला विक, रेनुका नगरकोटे, प्रीति राई, दीपा शाही, सरु लिम्बू, सरस्वती हमाल, अनिता बस्नेत, सविता रानामगर, मीना देउवा, रश्मिकुमारी घिसिङ, पूर्णिमा राई र रेखा पौडेल पनि रहेका छन् ।