
जेनजी आन्दोलनका क्रममा जलेको भैँसेपाटी प्रभाग पुनर्निर्माणपछि आज प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
गत भदौ २४ गतेको प्रदर्शनमा आन्दोलनकारीले प्रभाग र सवारीसाधनमा आगजनी गरेका थिए ।
जलेको भवन पुनः मर्मत गरी प्रयोगमा ल्याउनका लागि स्थानीय सुमन महतको संयोजकत्वमा ११ जनाको समिति गठन गरिएको थियो ।
समितिले स्थानीयस्तरबाट श्रमदान, चन्दा र विभिन्न संघसंस्थाबाट करिब ४५ लाख रुपैयाँ सहयोग जुटाएर प्रभागलाई पूर्ण सञ्चालनमा ल्याइएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं एसएसपी होबिन्द्र बोगटीका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं एआइजी दानबहादुर कार्कीलाई समितिले प्रभागको साँचो हस्तान्तरण गरेको हो । ‘स्थानीयको सहयोगमा समिति नै खडा गरेर ४५ लाख बढी चन्दा संकलन गरेर प्रभागको पुनर्निर्माण भएपछि आज उहाँहरूले हस्तान्तरण गर्नुभएको हो,’ उनले भने ।

ललितपुर महानगरपालिका– २५ का अध्यक्ष दौलतकुमार खत्री, वडा नम्बर २२ का सागर तुलाधर, वडा नम्बर २१ का रवीन्द्र महर्जन र वडा नम्बर १८ का दामोदर खड्काले २५/२५ हजार नगद सहयोग गरेका थिए ।
नख्खु कारागारका सबै कैदीबन्दी फरार भएसँगै स्थानीयस्तरमा सुरक्षा चुनौती थपिएको र प्रहरी चौकीलाई चाँडो स्थापना गर्न जरुरी रहेकाले प्रभाग छिटो सञ्चालनमा ल्याउन पुनर्निर्माणमा लागेको समितिका अध्यक्ष महतले जानकारी दिए ।
प्रभाग हस्तान्तरणपछि एआईजी कार्कीले स्थानीयको सहयोगविना प्रहरीले आफ्नो काम कारबाहीलाई अघि बढाउन नसक्ने बताएका थिए ।
प्रहरी र स्थानीय एक-आपसमा सहयोगी बनेर अपराध नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो ।