
हरिकेन मेलिसा मंगलबार जमैकामा विनाशकारी पाँचौं श्रेणीको आँधीका रूपमा प्रवेश गर्न लागेको छ । यो उक्त देशमा १७४ वर्षयताकै शक्तिशाली आँधी हो ।
पूर्वानुमान अनुसार मेलिसा मंगलबार बिहान (स्थानीय समयअनुसार) दक्षिणी 'सेन्ट एलिजाबेथ परिष'बाट भू–भागमा प्रवेश गरी उत्तरतर्फ 'सेन्ट एन परिष' हुँदै पार गर्नेछ ।
आँधी शुरू हुनुअघि नै सरकारले देशले गर्न सक्ने सबै तयारी पूरा गरेको दाबी गरेको छ र नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रधानमन्त्री एन्ड्र्यु होलनेसले भने, 'जमैकाको पूर्वाधार पाँचौं श्रेणीको आँधी सामना गर्न तयार छैन । अब चुनौती पुनःस्थापनाको गतिमा हुनेछ ।'
आँधी नपुग्दै पहिरो, रुख ढल्ने र धेरै स्थानमा विद्युत् अवरुद्ध हुने रिपोर्ट आएका छन् । अधिकारीहरूले क्षतिको मूल्यांकन र सरसफाइका काममा समय लाग्ने बताएका छन् ।
दक्षिणी जमैकामा समुद्र सतहभन्दा करिब १३ फिट (४ मिटर) उचाइको ज्वारभाटा आउने अनुमान गरिएको छ, जसले तटीय अस्पतालहरूमा असर पुर्याउने सम्भावना छ । स्वास्थ्य मन्त्री क्रिस्टोफर टफटनले भने, 'केही बिरामीलाई ग्राउन्ड फ्लोरबाट माथिल्लो तल्लामा सारिएको छ । यसले सम्भावित ज्वारभाटाबाट जोगाउने आशा छ ।'
यसअघि मेलिसाका कारण क्यारेबियन क्षेत्रमा सात जनाको मृत्यु भइसकेको छ– तीमध्ये तीनजना जमैकामा, तीनजना हैटीमा र एकजना डोमिनिकन गणतन्त्रमा परेका हुन् । अझै एक व्यक्ति बेपत्ता छन् ।
जमैका उच्च सतर्कतामा
मेलिसा अहिले किङ्सटनबाट करिब १५० माइल (२४० किलोमिटर) दक्षिण–पश्चिम र क्युबाको ग्वान्तानामोबाट करिब ३३० माइल (५३० किलोमिटर) दक्षिण–पश्चिममा केन्द्रित छ । अमेरिकाको मियामीस्थित राष्ट्रिय हरिकेन केन्द्रका अनुसार यसको अधिकतम हावा गति १७५ माइल प्रति घण्टा (२८० किलोमिटर प्रति घण्टा) रहेको छ । आँधी उत्तर–पूर्वतर्फ प्रति घण्टा २ माइल (४ किलोमिटर) गतिमा सर्दैछ ।
'हामी सबै मिलेर यो संकट पार गर्नेछौं,' जमैकाको मौसम विभागका प्रमुख इभान थोमसनले भने ।
मर्सी कोर्प्सका सल्लाहकार कोलिन बोगलका अनुसार धेरै परिवारहरू सरकारको चेतावनी हुँदाहुँदै पनि आफ्नै घरमा बसेका छन् । 'धेरैले यति शक्तिशाली आँधी कहिल्यै अनुभव गरेका छैनन्,' उनले भने, 'घर, जीविकोपार्जन र जीवन गुमाउने डरले सबै त्रसित छन् ।'
पानी तथा वातावरण मन्त्री म्याथ्यु सामुदाले आपतकालीन प्रयोजनका लागि ५० भन्दा बढी जेनेरेटर तयारी अवस्थामा रहेको बताए । उनले नागरिकलाई सफा पानी संकलन गर्न र मितव्ययी रूपमा प्रयोग गर्न आग्रह गरे ।
'हरेक थोपा पानी महत्त्वपूर्ण हुनेछ,' उनले भने ।
क्युबातर्फ अघि बढ्दै मेलिसा
पूर्वानुमान अनुसार मेलिसा मंगलबार राति क्युबाको पूर्वी भागमा पनि शक्तिशाली रूपमा प्रवेश गर्नेछ ।
ग्रान्मा, सान्तियागो दे क्युबा, ग्वान्तानामो र होल्गुइन प्रान्तमा हरिकेन चेतावनी जारी गरिएको छ भने लास टुनासका लागि ट्रपिकल स्टर्म चेतावनी दिइएको छ । क्युबाका केही भागमा २० इन्च (५१ से.मि.) वर्षा र तटीय क्षेत्रमा ठूलो ज्वार आउने सम्भावना छ ।
क्युबाली अधिकारीहरूले सोमबारसम्म ६ लाखभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको जनाएका छन्, जसमा देशको दोस्रो ठूलो सहर सान्तियागो पनि पर्छ ।
मेलिसाले हैटी र डोमिनिकन गणतन्त्रका दक्षिणी क्षेत्रहरूमा समेत भारी वर्षा गराइरहेको छ र हैटीका लागि अझै ट्रपिकल स्टर्म चेतावनी जारी छ ।
क्युबाबाट पूर्वतिर मोडिएपछि यो आँधी बुधबार बेलुकीतिर बहामासको दक्षिणपूर्वी भागमा पुग्ने अनुमान छ ।
बहामासका दक्षिणपूर्वी र मध्य क्षेत्रहरूमा हरिकेन चेतावनी जारी गरिएको छ भने टर्क्स र काइकस टापुहरूका लागि ट्रपिकल स्टर्म चेतावनी जारी गरिएको छ ।
– एपीको सहयोगमा