
अरुणाचल प्रदेश–असम सीमामा फैलिएको भारतको सबैभन्दा ठूलो जलविद्युत परियोजना सुबानसिरीको आठ युनिटमध्ये एकको परीक्षण शुरू भएको छ । परीक्षण पछि चाँडै नै आयोजना सञ्चालनमा आउने संकेत मिलेको छ ।
सरकारी स्वामित्वको नेशनल हाइड्रोइलेक्टिक पावर कर्पोरेसन (एनएचपीसी)ले निर्माण गरिरहेको २ हजार मेगावाटको सुबानसिरी तल्लो जलविद्युत परियोजनाको पहिलो २५० मेगावाट युनिटको परीक्षण शुक्रवार गरिएको हो ।
अहिले गरिएको टर्बाइनको परीक्षणले बिजुली उत्पादन नगरी धेरै प्यारामिटरहरू जाँच गर्ने अधिकारीहरूले बताएका छन् । यो परीक्षण चार देखि पाँच दिन सम्म चल्नेछ ।
सुबानसिरी तल्लो परियोजनामा २५० मेगावाटका आठ युनिटहरू छन् । ‘यी मध्ये चार युनिट परीक्षण रनको लागि तयार छन् । अर्को चरणमा परियोजनाले बिजुली उत्पादन सुरु गर्न कम्तिमा दुई युनिटहरूको तयार गरेको छ’ एनएचपीसीका प्रवक्ताले भने ।
अन्तरराज्य सीमामा गेरुकामुखमा अवस्थित सुबानसिरी तल्लो परियोजनाको निर्माण कार्य जनवरी २००५ मा सुरु गरिएको थियो । असममा बाँध विरोधी अभियान्ताले विरोध र तल्लो तटीय वातावरणीय प्रभावहरूको चिन्ता पछि २०११ मा परियोजनाको काम स्थगित गरिएको थियो ।
प्रधानमन्त्री कार्यालयले यसको काम सम्पन्न गर्न जोड दिएपछि अक्टोबर २०१९ मा काम पुनः सुरु भएको थियो । जोखिम न्यूनीकरण र सुरक्षा उपायहरू अपनाएर काम शुरु गरिएको थियो ।
एनएचपीसीका अध्यक्ष तथा प्रबन्ध निर्देशक भूपेन्द्र गुप्ताले यो उपलव्धीलाई निगमको इन्जिनियरिङ उत्कृष्टताको ‘चम्किलो प्रमाण’ भएको बताए । ‘यो केवल एउटा कोशेढुंगा परियोजना मात्र होइन, यसले सफा, हरियाली र आत्मनिर्भर ऊर्जा भविष्यतर्फ भारतको स्थिर यात्रालाई प्रतिबिम्बित गर्दछ’ उनले भने । द हिन्दु बाट